बिहे कहिले गर्ने ?

मोहन भट्ट, दार्चुला- अविवाहित युवा पुस्ताले सामना गर्ने मुख्य प्रश्न हो ‘बिहे कहिले गर्ने ?’ मुख्यतया लगनको महिना आउनै लाग्दा, साथीहरुको बिहेको कुरा चल्दा, गाउँ जाँदा वा अन्य कुनै कारणवश आफन्त इष्टमित्र भेट हुँदा बढी सुनिने प्रश्न हो यो । हुन त मानिसलाई प्रश्नले कहिल्यै छोड्दैन । मानिस जन्मिने बित्तिकै के भयो, छोरा या छोरी ? न्वारान, पास्नी, व्रतबन्ध, विवाह अनि विवाहपछि पनि बच्चा कहिले पाउने ? हुँदाहुँदै जीवनको अन्तिम घडीमा अन्तिम इच्छा के छ ? र मृत्युपर्यन्त पनि के भएर मरेको भनी परिवार, आफन्तलाई सोधिन्छ ।

maya metro hospital

यी सम्पूर्ण प्रश्नहरुका बिच अहिले युवापुस्ताको जमातले सामना गर्नुपर्ने महत्वपूर्ण प्रश्न हो विवाह कहिले गर्ने ? अविवाहित सामान्य युवायुवतीदेखि लिएर विभिन्न क्षेत्रमा चिरपरिचित अनुहारहरुको अन्तरवार्तामा यो प्रश्न राखिएन भने अन्तरवार्ता नै पूर्ण हुँदैन । रियलमा मात्र होइन रिलमा पनि प्रायजसो चलचित्रमा विवाह अनि प्रेमको विषयले नै मुख्य स्थान पाउने गर्दछ ।

citizen security services

यो प्रश्न नेपाली समाजको सदावहार प्रश्न हो । आमाबुवाले चाहिँ आफ्ना छोराछोरीको विवाह विधिपूर्वक सम्पन्न गरी आफ्नो कर्तव्य पालन गर्नका लागि यो प्रश्न गर्छन् अनि खोतल्न थाल्छन् । साथीभाइ आफन्त समाजले बिहे गरेमा जन्ति जान पाइन्छ रामाइलो गर्न पाइन्छ, भोज खान पाइन्छ भनेर हो या अन्य कुनै कारणले हो प्रश्न चै गरि नै रहन्छ्न्, कसैले संयोगवश त कसैले यत्तिकै ।

attariya hospital

विवाहलाई विभिन्न दार्शनिक, धर्मगुरु तथा धर्मग्रन्थ, वेद, पुराणमा एउटा बन्धनको रुपमा चित्रण गरिएको छ । महाभारत, भगवद् गीतामा विवाहलाई एक पवित्र कर्तव्य र सामाजिक उत्तरदायित्वको रूपमा वर्णन गरिएको छ । यसले केवल व्यक्तिगत सम्बन्धलाई मात्र होइन, पारिवारिक र सामाजिक सन्तुलनलाई पनि सम्बोधन गर्ने कुरा उल्लेख छ । त्यस्तै महात्मा गान्धीले विवाहलाई व्यक्तिगत, सामाजिक, र नैतिक दृष्टिले विश्लेषण गरेका छन् । उनले विवाहलाई केवल दुई व्यक्तिको सम्बन्धमात्र नभई, कर्तव्य, आत्मसंयम र समाजसेवाको माध्यमका रूपमा व्याख्या गरेका छ्न् ।

नेपालमा परम्परागत रुपमा विशेषगरी बाइसे चौबिसे राज्यहरुमा एक राज्यले अर्को राज्यसङ्ग सम्बन्ध प्रगाढ तुल्याउन परस्परमा राजकुमार र राजकुमारीबिच विवाह गराइदिने किम्व्दन्ति अनि इतिहास देखिन्छ । त्यति मात्र नभई विशेषगरी प्रजातान्त्रिक व्यवस्था, पञ्चायति व्यवस्थामा राजपरिवार र राजनीतिक दलका उच्चपदस्त व्यक्तिका परिवारबिच कुनै न कुनै वैवाहिक सम्बन्ध गाँसिएको देखिन्छ । यसले राजनीतिक सामाजिक परिवर्तनमा पनि मुख्य भूमिका खेलेको पाइन्छ ।

अब नेपालमा ढिला बिहे गर्ने अथवा बिहे नै नगर्ने युवाको संख्या बढ्दै जानु तथा विवाहको कुरा आयो कि नाक खुम्च्याउनुका पछाडि के कारणले मुख्य भूमिका खेलेका छन्, केलाउने प्रयास गरौँ ।
पहिलो हुन सक्छ जोडी नपाउनु । सुदूरपश्चिमतिर प्रचलित देउडा गीतको टुक्का छ:-
‘जोराइल राजाको शेरो जुम्लीले बाएइन
जसातसा मन मानेन मन पड्डा पाएइन’
संक्षिप्तमा यसमा जो पायो उहीलाई यो मनले मान्दैन, अनि मन मिल्ने भेटिँदैन भन्न खोजिएको हो । अहिले नेपाली समाजमा प्रेम विवाह बढ्दैछ । जसमा युवायुवतीले स्वविवेकले आफ्नो जीवनसङ्ग सम्बन्धित निर्णय गर्दछ्न् । अनि मागी विवाहमा पनि दुई परिवारबिच जे कुरा भएपनि केटा र केटीको निर्णय अन्तिम मानिने गरिएको छ । यो स्वभाविक र समयानुकुल पनि मानिन्छ । जोसुकैले पनि आफ्नो जीवन साथी रोज्दा आर्थिक, सामाजिक, साँस्कृतिक हिसाबले अनुकुल, शैक्षिक स्तर, कार्यक्षेत्र आदि कुरा मिल्दो खोज्ने हुँदा समय लाग्ने गर्दछ, मेरो बुझाइ ।

अर्को मनोवैज्ञानिक दवाव । अहिलेको युवापुस्ता स्वतन्त्र भएर बाँच्न चाहन्छ । विवाहपछि एक प्रकारको बन्धनमा बाँधिनुपर्ने, आफ्नो निर्णय स्वविवेकले लिन नपाइने, केटीहरुले त झन् अरुको परिवारमा समायोजन हुनुपर्ने, कतिपय इच्छाचाहनालाई नजरअन्दाज गर्नपर्ने आदि इत्यादि कारणले विवाहबाट पन्छिने गरेको पाइन्छ ।

शिक्षा र करियरमा ध्यान । धेरै युवाहरू उच्च शिक्षा र राम्रो करियर बनाउन प्राथमिकता दिन्छन् । करियर सेट गरेपछि मात्र उनीहरू बिहेको बारेमा सोच्न चाहन्छन् ।

अर्को आर्थिक स्थायित्व पनि हुन सक्ला । बिहेपछि परिवारको जिम्मेवारी बढ्ने भएकाले आर्थिक रूपमा स्थिर हुनु महत्त्वपूर्ण मानिन्छ । धेरैजसो युवाहरू पर्याप्त बचत र राम्रो रोजगारी भएपछि मात्र बिहे गर्न चाहन्छन् ।

परिवर्तनशील सोच र परिपक्वताले पनि हुन सक्ला । प्रेममा रहेका युवायुवतीहरु सम्बन्धमा परिपक्वता र दुवै जनाबीचमा सहमति हुने अवस्थापछि मात्र विवाह गर्नु राम्रो मान्ने गर्दछ्न् ।

सञ्जाल र सञ्चार प्रभावले पनि यसो हुन सक्छ । अहिलेको विश्व सामाजिक सञ्जाल र सञ्चारका अन्य साधनद्वार संगठित छ । सामाजिक सन्जालमा प्राय: श्रीमान श्रीमती बिचको असमानजस्यता अनि उनीहरु बिचको झगडा र त्यसले निम्त्याएको सामाजिक कलह, बढ्दो सम्बन्धविच्छेदका घटना आदि देखाइने गरिन्छ । सोही प्रभावले पनि अविवाहित युवामा बिहे भनेको झमेलामा फस्नु हो, बिहे पछिको जीवन स्वतन्त्र हुँदैन भन्ने भावना आउँछ ।

अनि समाजको बदलिँदो सोच । आधुनिक समाजले पनि अब ढिलो बिहेलाई स्वाभाविक रुपमा लिन थालेको छ । यो कुरा युवाहरूको सोचमा समेत प्रभाव पार्छ ।

अब हाम्रो शिर्षकलाई अझ गहनताले कोट्याउँदै ‘बिहे कहिले गर्ने ?’ भन्ने प्रश्नले के कस्तो प्रभाव पार्छ भन्ने तिर लागौँ ।
यो प्रश्न जो सुकैले पनि गर्दछ्न्, जति बेला नि गर्न सक्छ्न् । सबैको आ आफ्नै तात्पर्य हुन सक्छ । प्रश्न सामना गर्नेहरुमा पनि कोहीले सकारात्मक रुपमा लिन्छ्न् तर सबैले सकारात्मक नलिन पनि सक्छ्न् । झन मनोवैज्ञानिक दवाव सृजना भएको मान्न सक्छ्न् । शैक्षिक, आर्थिक, सामाजिक रुपमा सम्पन्न अनि कुनै पेसा व्यवसायमा स्थायित्व बनाइसकेका युवायुवतीले यो प्रश्न सकारात्मक रुपमा ग्रहण गर्लान् र उत्तर पनि सहज रुपमा देलान्, हाँस्दै मुस्कुराउँदै ।

तर, लोकसेवा परीक्षा तयारी गर्ने संकल्प लिई गाउँबाट सहर छिरेर भाडाको एउटा बन्द कोठामा दिनरात मेहनत गरिरहेका र उमेर बढ्दै जाँदा भनेजस्तो प्रतिफल हाँसिल गर्न नसकेकाहरुलाई यो प्रश्नले झन् मानसिक तनाव सृजना गर्न सक्दछ । यति मात्र होइन जागिर खाइरहेकाहरु पनि म यो पदमा पुगेपछि बिहे गर्छु भन्ने सोचाइ बनाएका हुन सक्छ्न् ।

कोही अरुले देख्दा मात्र जागिरे तर त्यो जागिर वा पेसामा आफूले भनेअनुरुप प्रतिफल नपाइरहेको र लुप्त बेरोजगार भएर बस्नुपरेको ठानिरहेका हुन सक्छ्न् भने कोही विदेश जाने तयारीमा रहेका र सोहीअनुरुप जीवन साथी खोजिरहेका हुन्छ्न् । यी र यस्तै पात्रहरुलाइ पक्कै पनि यो प्रश्नले पिरोल्न सक्छ र मनोवैज्ञानिक दवाव सृजना गर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.