अत्तरिया – कैलालीको अत्तरिया बजार फराकिलो सडक र खुला बजार क्षेत्रका रूपमा चिनिन्छ । अत्तरिया चोक वरिपरि करिब २ दशक अघि नै चौडा सडकको किनारामा सर्भिस लेन, फुटपाथ निर्माण गरिएको थियो । जसले अत्तरिया बजार नजिकैको धनगढी भन्दा पनि सुन्दर देखिन्थ्यो । तर, अहिले त्यो कुरा इतिहास जस्तै बनेको छ । नजिकैको धनगढी बजारमा सडकमा संरचना भत्काएर भए पनि फुटपाथ बनाइँदा अत्तरियामा भने भएको फुटपाथमा पनि कतै झाडी उम्रिएको छ भने कतै व्यापारीहरूले आफ्ना सामान राखेर बन्द गरेका छन् ।
अत्तरियामा भएकै संरचनाको पनि संरक्षण नगरिँदा बजार क्षेत्र कुरूप बनेको स्थानीय दीपक जोशीले बताए । उनले फुटपाथ हिँड्नको लागि निर्माण गरिएको भए पनि त्यसको सरसफाइ र व्यवस्थापनमा ध्यान नदिइएको बताए । ‘धेरै नभए पनि अत्तरियामा चोक वरपर फराकिलो सडक, सर्भिस लेन सडक, फुटपाथ छ’ उनले भने ‘तर यहाँ भएका संरचनाको उचित प्रयोग नै भएको छैन । सबै संरचना लथालिङ्ग छन् ।’
अत्तरियामा फुटपाथ मात्रै नभएर हाल सर्भिस लेन, सडक नाला पनि लथालिङ्ग अवस्थामा रहेका छन् । बजार क्षेत्रका अधिकांश सर्भिस लेन सडक भत्किसकेका छन् भने नाला पनि भताभुङ्ग छन् । स्थानीय रमेश विकले नगरपालिकाले अत्तरियामा सरसफाइ लगायत बजार क्षेत्रका भत्किएका, टुटेका संरचना मर्मतमा चासो नदिएको बताए । उनले नगरपालिकाको बेवास्ताका कारण अत्तरिया बजार कुरूप बनेको बताए ।
‘सुन्दर अत्तरिया बजार झन्–झन् कुरूप बन्दै गएको छ’ उनले भने ‘अन्य ठाउँमा सुधार हुँदै गएको छ । यहाँ भएका संरचनाको पनि उचित प्रयोग नगरी झन्–झन् जीर्ण बन्दै गएका छन् ।’ उनले यस क्षेत्रका जनप्रतिनिधिमा बजार क्षेत्रलाई सफा र सुन्दर बनाउने सोच नै नभएका कारण बजार कुरूप बनेको बताए ।
सरसफाइमा बेवास्ता गरिदा हाल अत्तरिया स्थित इलाका प्रहरी कार्यालय अगाडिको फुटपाथमा झाडी उम्रिएको छ भने बजारका अन्य क्षेत्रका फुटपाथमा व्यवसावयीहरुले पसलका सामान राखेर ढाक्ने गरेका छन् । फुटपाथमा सटर व्यवसायीहरूले नै मनोमानी तरिकाले सामान राखेर व्यापार गर्दा पनि हटाउनको लागि नगरपालिकाले चासो दिन सकेको छैन ।