अत्तरिया – कैलालीको गेटामा ठडिएका भवन सञ्चालनमा नल्याइएको भन्दै यस क्षेत्रका जनतामा व्याप्त निराशा छ । लामो समयको प्रतीक्षापछि भवन ठडिए पनि ती भवन प्रयोग विहीन भएको भन्दै बेला बेलामा विरोधका कार्यक्रम पनि हुँदै आएका छन् ।
यसबिच भवन निर्माण सम्पन्न भएर सरकारले नै मन्त्रिपरिषदबाट गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । गेटामा अस्पताल, चिकित्सा शिक्षा अध्ययनका लागि आवश्यक पर्ने भवन निर्माण भएको तीन वर्ष पुग्न लागेको छ । सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेको पनि डेढ वर्ष भन्दा बढी समय बितिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार हाल विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन अवस्थामा छ । उक्त विधेयक पनि राष्ट्रिय सभाले २०८० माघ १९ मा पारित गरेको भए पनि राष्ट्रिय सभाबाट पारित हुन भने ढिलाइ भएको गुनासो स्थानीयले गर्दै आएका छन् ।
यस क्षेत्रका जनताले यहाँबाट प्रतिनिधित्व गर्ने नेताहरुले पनि गेटामा अस्पताल सञ्चालन गरेर चिकित्सा शिक्षा अध्यापन गराउन चासो नदिएको गुनासो गर्दै आएका छ । यसैबिच लामो समय मोडालिटीको विषयका कारण विवादित बनेको गेटामा हाल मोडालिडीको विषय टुङ्गिएर विश्वविद्यालयको विधेयक विचाराधीन अवस्थामा हुँदा आइतबार गेटामा अवलोकन पुगेका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने अनविज्ञता प्रकट गरेका छन् ।
गेटा हाल सञ्चालनमा रहेको अस्पतालको अवलोकन गर्न पुगेका देउवाले गेटामा कति शय्याको अस्पताल सञ्चालन छ, कुन मोडालिटीमा काम हुँदै छ भन्ने बारेमा अनविज्ञता देखाएका थिए ।
अस्पतालको बारेमा ब्रिफिङ गर्दै अस्पतालका डाक्टर चेत राज भट्टले हाल ५० शय्याको अस्पतालको अस्थायी दरबन्दी पनि चालु आर्थिक वर्षमा स्वीकृत नहुँदा समस्या भएको गुनासो राख्दा देउवाले यहाँ ३ सय बेड भनेको होइन भनेर जिज्ञासा राखेका थिए । जवाफमा डाक्टर पन्तले ५० बेड मात्रै स्वीकृत भएको बताएका थिए । उनले ३ सय बेडको ओएनएम गरेर स्वास्थ्य मन्त्रालयमा प्रोसेसका लागि पठाइएको बताए ।
अस्पतालको बारेमा जानकारी लिएपछि बोलेका देउवाले गेटामा अहिले के बनाउने भन्ने बारेमा कन्फ्युजन भएको बताए । ‘प्रतिष्ठान बनाउने की, विश्वविद्यालय बनाउने कन्फ्युजन छ’ उनले भने ‘यसको निर्क्योल गरेर मेन कुरा पढाइ सुचारु हुनुपर्यो ।’ छोटो मन्तव्य राखेका उनले मुख्य कुरा मेडिकल पढाइ हुने बताउँदै ३ सय शय्याको अस्पताल भए पनि ठुलै कुरा भएको बताए । अवलोकनका क्रममा देउवा सँगै प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर, प्रदेश सांसद तुलसी देवकोटा गोदावरी, लम्की चुहाका मेयर लगायतको सहभागिता रहेको थियो ।