अत्तरिया – कैलालीको गोदावरीमा निर्माण गरिएको एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढी मार्फत निर्माण गरिएको केन्द्रको भौतिक संरचना निर्माणको काम सकिएकाले सञ्चालनको तयारी गरिएको हो ।
फोहर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स सँग सम्झौता गरिएको थियो । निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डेले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेकाले सञ्चालनको तयारी गरिएको बताए । उनले फोहोर मैला व्यवस्थापन केन्द्रका लागि आवश्यक मेसिन, गाडीहरू पनि सप्लाई भइसकेको बताए ।
‘हामीले अपरेसन प्लान (सञ्चालन योजना) पनि सहरी विकास कार्यालयमा पठाइसकेका छौ । प्लान एप्रुभ हुने बित्तिकै कार्यान्वयनमा जान्छ । अबको १०–१५ दिन भित्रमा फोहोर मैला व्यवस्थापनको काम सुरु हुन्छ’ उनले भने ‘यसलाई सञ्चालनको लागि नगरपालिकाले हामीलाई प्राइमरी कलेक्सन सेन्टरमा फोहोर उपलब्ध गराउँछ । त्यो फोहोरलाई हाम्रो टिप्पर, ट्याक्टर, कन्टेनरहरूबाट फोहोर मैला केन्द्र सम्म ल्याउँछौ त्यसलाई तौल गरेर केन्द्रमा व्यवस्थापनको प्रक्रिया अगाडि बढ्छ ।’
उनले सङ्कलित फोहोरलाई वर्गीकरण गरेर कुहिने फोहोरबाट कम्पोस्ट बनाउने, रिसाइकल हुने फोहोरलाई कवाडीमा बिक्री गर्ने र कामै नलाग्ने फोहोर ल्याण्डफिल सेलमा जम्मा गरेर राखिने बताए । उनले कुहिने फोहोरलाई कम्पोस्ट मल बनाएर ६ हप्तामा बिक्री गर्न सकिने बताए । उनले फोहोरलाई घर घरबाटै कुहिने र नकुहिने छुट्टाएर ल्याउन सके काम गर्न सहज हुने बताए ।
फोहोर मैला व्यवस्थापन केन्द्रमा दिसाजन्य फोहोर पनि व्यवस्थापन गरिने छ । दिसान्जय फोहोर व्यवस्थापनका लागि घरघरबाट सेफ्टी ट्याङ्कीमा सङ्कलन गरेर ल्याएर मल बनाइने इन्जिनियर पाण्डेले बताए । दिसाजन्य फोहोरको व्यवस्थापन गर्नका लागि ५ घन मिटर र ८ घन मिटरका छुट्टै सेड निर्माण गरिएका छन् ।
फोहोर मैला व्यवस्थापन केन्द्रमा ठोस फोहोर प्रतिदिन १३ टन र दिसाजन्य फोहोर प्रतिदिन १३ घन मिटर व्यवस्थापन गर्न सकिने जनाइएको छ । इन्जिनियर पाण्डेले फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनको लागि नगरपालिका सँग समन्वयन गरेर काम गरिने बताए ।
फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण पछि ३ वर्ष निर्माण कम्पनीले नै सञ्चालन गरेर गोदावरी नगरपालिकालाई हस्तान्तर गर्ने गरी सम्झौता गरिएको छ ।
गोदावरी नगरपालिका – ३ मा रहेको चौकिडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको फोहर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि सो क्षेत्रमा १ हजार बढी रुख काटिएका थिए । परियोजनालाई ३० वर्ष सम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । यसको निर्माणका लागि ७५ प्रतिशत एडिबीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारको सहयोग रहेको छ ।
फोहर मैला व्यवस्थापन केन्द्रको निर्माणका लागि ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
सम्झौता अनुसार निर्माणको काम ४ सेप्टेम्बर २०२४ मा सकिनु पर्ने भए पनि रुख कटानमा ढिलाइ हुँदा ७ महिना पछि मात्रै काम सुरु भएको थियो । फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरिएको थियो । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत हाल फोहर मैला व्यवस्थापन केन्द्र कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका निर्माणाधीन अवस्थामा रहेका छन् ।