काठमाडौँ —नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० कब्जा गरेको छ ।

डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए ।

यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल टाई भएको थियो ।

















