खाेज्नुहाेस

बझाङमा बढी भाडा लिने सवारी साधनलाई कारबाही

Image

बझाङ – बझाङमा तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय बझाङले तोकिए भन्दा बढी भाडा असुलेपछि पछिल्लो १० दिनमा१ सय ५० भन्दा बढी सवारी साधनलाई कारबाही गरेको हो ।

जिल्ला भित्रका स्थानिय रुटमा चल्ने सार्वजनिक सवारीले तोकेको भन्दा कैयौं गुणा महँगो भाडा लिने गरेको गुनासो बढेपछि प्रशासनले अनुगमन गरेको थियो । यातायात व्यवसायीहरुले लामो समयदेखि तोकिएको भन्दा १०/१२ गुणा बढी भाडा लिएर सर्वसाधारण यात्रु लागि ठगी गरिरहेको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी दुइ हप्तादेखि दैनिक भाडादर अनुगमनमा खटिएकी छन् ।

attariya hospital
navjiwan hospital

‘१ सय ४४ रुपैयाँ भाडा लिनु पर्ने ठाउँमा आठ सयसम्म असुलेको भेटिएको छ । सर्वसाधारणमाथी यस्तो लुट हुन दिनु हुँदैन भनेर ट्राफिक प्रहरीसहित अनुगमन भइरहेको छ’,उनले भनिन, ‘यस अवधीमा १० दिनको अवधीमा १ सय ५० सवारी साधनलाई कारबाही गरिरहेका छौं ।’ उनले तोकिएको भन्दा बढी भाडा लिने सवारीलाई सुरुमा चेतावनी स्वरुप नगद दुइ हजार जरिवाना गराएको बताउँदै फेरी त्यस्तो गल्ती गरे सवारी साधन जफत गर्ने सम्मको कारबाही गरिने जानकारी दिइन् ।

भाडादर कार्यान्वयनको अनुगमन थाल्नु पूर्व जिल्ला प्रशाशन कार्यालयले यातायात व्यवसायीहरु सँग छलफल गरेर जिल्लाभरीका स्थानीय रुटको भाडादर तोकेको थियो । कच्ची सडकमा प्रतिकिलोमिटर २० रुपैयाँ र पक्की सडकको हकमा प्रतिकिलोमिटर नौ रुपैयाँका दरले भाडा दर तोक्ने सहमतिपछि प्रशासनले गन्तव्य स्थान खुलाएर भाडाको सूचि प्रकाशन गरेको थियो ।

यद्यपी केही पालिकाहरुले आफ्नो पालिका भित्र रहेका सडकको दूरी खुलाएर नदिएका कारण मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाको स्थानीय रुटको भाडादर सूचि प्रकाशन गर्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।