अत्तरिया – ‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार लाग्ने भएको छ । दसैँ तिहारको अवसरमा कैलालीको अत्तरियामा, कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा असोज २२ गते देखि प्रवर्द्धन बजार लाग्ने भएको हो । शनिवार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले यस क्षेत्रका उत्पादनको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी गर्न बजार लगाउन लागिएको जनाइएको छ ।
नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश अध्यक्ष विनोद मल्लले सुदूरपश्चिमकै उत्पादन प्रयोग गरेर समृद्ध सुदूरपश्चिम बनाउने उद्देश्यले उत्पादन प्रवर्द्धन गर्न लागिएको बताए । ‘प्रवर्द्धन बजारमा सम्बन्धित निकायबाट अनुमति लिएर यस क्षेत्रमा उत्पादन गरिरहेका जुत्ता, चप्पल, गार्मेन्टका उत्पादन देखि लिएर सुदूरपश्चिमका ९ वटै जिल्लामा उत्पादन हुने परम्परागत सामाग्री, खाद्यान्नका स्टल राखिने छन्’ उनले भने ‘सुदूरपश्चिमका उत्पादन एकै ठाउँमा ल्याऔँ भने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौ ।’

उनले यस क्षेत्रका उत्पादन नछुटुन् भनेर सुदूरपश्चिमका ८८ वटै स्थानीय तहलाई पत्राचार गरिएको बताए । ‘प्रदेशकै लगाइदिऊ, खाइदिऊ भनेर हामीले यो कार्यक्रम गिरहेका छौ’ उनले भने ‘यस क्षेत्रका उत्पादन यस क्षेत्रकै व्यक्तिले प्रयोग गरे मात्रै यस क्षेत्रका उत्पादक, उद्यमी बच्न सक्ने अवस्था छ । नत्र धेरै उद्योग पलायन भइरहेका छन् । तिनीहरूलाई रोक्न यस कार्यक्रमले मदत पुग्छ ।’ उनले कार्यक्रमबाट सुदूरपश्चिमकै उत्पादन प्रयोग गरौँ भन्ने भावनाको पनि विकास हुने अपेक्षा लिएको बताए । एक दर्जनको हाराहारीमा स्टल सञ्चालन गरिने र, ती निःशुल्क रूपमा विक्रेतालाई उपलब्ध गराइने उनले बताए ।

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीले सुदूरपश्चिमका उत्पादन बजारीकरणमा समस्या देखिएकाले त्यसको सहजताका लागि बजार प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको बताए । ‘हामीले विगतदेखि नै स्थानीय उत्पादन प्रयोग गर्नको लागि अभियान, छलफल कार्यक्रम गर्दै आएका थियौ’ उनले भने ‘अहिले व्यवहारिक रूपमै यसलाई कार्यान्वयन गर्नको लागि कार्यक्रम आयोजना गरेका हौ ।’ उनले प्रवर्धन बजारमा सुदूरपश्चिम क्षेत्रमा उत्पादन हुने सबै सामाग्री उपलब्ध गराउन प्रयास गरिने बताए ।
उनले बजार प्रवर्धन कार्यक्रम अन्तरगत बहस कार्यक्रम पनि आयोजना गरिने बताएका छन् । कार्तिक १७ गते सम्म सञ्चालन हुने प्रवर्द्धन बजारमा सुरुका केही दिन सुदूरपश्चिमका उत्पादन सँग सम्बन्धित बहस कार्यक्रम आयोजना गरिने उनले बताए । उनले भने ‘हामीले उत्पादन र प्रयोगकर्ताको धारणा बुझ्नको लागि बहस कार्यक्रम चलाउने छौ ।’
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – ७ मा जय लटिनाथ घरेलु कपडा उद्योग सञ्चालन गरेका जगत बहादुर सिंहले प्रवर्धन बजार सञ्चालन गरिदा स्थानीय उत्पादन बिक्री र प्रचारप्रसार गर्न सहज हुने बताए ।
उनले आफ्नो उद्योगमा हाते तानबाट प्राकृतिक फाइबर अल्लो, बास, गाँजा भेडाको उनबाट कपडा बनाउने गरेको बताए । उनले आफूहरूका सामान देख्नमा त्यति फिनिसिङ नहुने भए पनि स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक हुने बताए ।
स्थानीय उद्यमी, उत्पादकहरूले बजार प्रवर्द्धन कार्यक्रमले दसैँमा उत्पादित सामाग्री बिक्री गर्न र प्रचार प्रसार गर्न सहयोग पुग्ने बताएका छन् ।
















