सुदूरपश्चिमको राजधानीको विकल्प बन्न सक्छन् ‘अमेरिकन भवन’

अत्तरिया – सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरीमा तोकिएको आज ६ वर्ष पुरा भएको छ । सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइले २०७५ असोज १२ गते गोदावरीको वडा नम्बर २ र ४ मा राजधानी तोकेको थियो ।

maya metro hospital

तर, राजधानी घोषणा भएको ६ वर्ष पुग्दा पनि अहिले सम्म भौतिक प्रगतिको काम शून्य छ । राजधानी निर्माणको मुख्य अवरोधको रूपमा अहिले अदालतमा परेको मुद्दालाई लिइने गरेको छ । जङ्गल मासेर राजधानी बनाउन लागिएको भन्दै परेको मुद्दा सुनुवाइ नभएको भन्दै अहिले सम्म सुदूरपश्चिम सरकार पन्छिँदै आएको छ । अस्थायी राजधानी धनगढीबाट कामकाज गरिरहेको प्रदेश सरकारले पछिल्लो समय राजधानीको मुद्दामा चासो समेत दिन छोडेको छ ।

तर, गोदावरीका स्थानीय भने प्रदेश सरकारको इच्छाशक्ति भए सहजै गोदावरीमा राजधानी बनाउन सकिने बत्ताउँछन् । गोदावरी नगरपालिका – ४ का स्थानीय टिकादत्त जोशीले गोदावरीमा तोकिएकै वडामा राजधानी बनाउन सडक विभागका भवन उपयुक्त विकल्प हुन सक्ने बताए । उनले प्रदेश राजधानी अन्य ठाउँमा सार्न कानुनी जटिलता रहेको र तोकिएको ठाउँमा जङ्गल भनेर मुद्दा परेको अवस्थामा तोकिएको क्षेत्र भन्दा केही माथि ४ नम्बर वडामै रहेको सडक विभागको जग्गामा राजधानी बनाउन सकिने बताए ।

attariya hospital

‘गोदावरीमा हाल राजधानी तोकिएको क्षेत्रमा राजधानी बनाउन पनि समस्या छैन । त्यो कुनै जङ्गल पनि होइन । त्यहाँ केही कु–काठका रुख र झाडी मात्रै छ’ उनले भने ‘त्यहाँ नबनाउने नै हो भने पनि गोदावरीमा सडक विभागको जग्गा खेर गइरहेको अवस्था छ । त्यहाँ अर्लेडी भवनहरू बनेका छन् । ती अमेरिकी कन्सल्टेन्सी बस्ने भवन हुन । ती अहिले भूत बङ्गला भएका छन् । जसलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ ।’

उनले सरकारको इच्छ्याशक्ती भएमा ती भवनमा तत्काल राजधानी सार्न सकिने बताए । उक्त क्षेत्र हाल राजधानी तोकिएको क्षेत्रदेखि १ किलोमिटर उत्तर तर्फको दुरीमा रहेको छ । वन संरक्षणकर्मी समेत रहेका जोशीले मुद्दा परेको बहाना बनाएर राजधानी बनाउन सरकारले आलटाल गरिरहेको अवस्थामा सहजै तरिकाले राजधानी बनाउन सक्ने ठाउँमा सडक विभागका भवन हुन सक्ने भएकाले त्यसतर्फ नेताहरूले ध्यान दिनुपर्ने बताए ।

गोदावरी नगरपालिका – ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले ६ वर्ष बितिसक्दा पनि नेताहरूले आलटाल गर्दा राजधानी बन्न नसकेको बताए । उनले प्रदेशको उपयुक्त ठाउँ छनोट गरेर राजधानी निर्माण गरिएको भए पनि मुद्दाको बहाना देखाएर रोक्नुपर्ने अवस्था नरहेको बताए ।

उनले गोदावरीमा राजधानी तोकिएको ठाउँमा मुद्दाकै कारण देखाउँदै बुट्यान पनि हटाउन नसक्ने अवस्था भएमा त्यसको विकल्प पनि वडा नम्बर ४ मै रहेको बताए । उनले राजधानी तोकिएको क्षेत्रभन्दा केही माथि गोदावरी बजार क्षेत्रमा नेपाल सरकारको नाममा दर्ता भएको सडक विभागको प्रयोग विहीन जग्गा राजधानीको रूपमा उपयुक्त हुने बताए । उनले प्रदेश सरकारका सबै संरचना बनाउन पुग्ने गरी पर्याप्त जग्गा गोदावरीमा रहेको बताए ।

‘झाडी बुट्यान हटाउन मुद्दाको निहुँ पारेर हटाउन सकिँदैन भने सडक विभागको जग्गामा राजधानी बनाऊ सकिन्छ’ उनले भने ‘यसका लागि प्रदेश सरकारलाई पहल गरिइदिन आग्रह गर्दछु ।’ उनले अरू ठाउँमा राजधानी सार्न कानुनी जटिलता पनि आउने भएकाले हालको ठाउँमै रहेको सडक विभागको जग्गा उपयुक्त हुने बताए ।

राजधानी तोकिएको क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने अर्थ राज्यमन्त्री समेत रहेका प्रकाश बमले अदालतमा परेको मुद्दाका कारण राजधानी निर्माणको काम रोकिएको गोदावरीमै पनि अर्को ठाउँमा राजधानी सार्न संसदबाट निर्णय गर्नुपर्ने बताए ।

‘अमेरिकन भवन’

गोदावरीमा विक्रम सम्बत २०१५/१६ साल तिर तत्कालीन धनगढी–डडेल्घुरा राजमार्ग (हालको भीमदत्त राजमार्ग) योजना कार्यालयका स्थापना गरिएको थियो । अमेरिकन सरकारको सहयोगमा धनगढी–डडेल्घुरा राजमार्गको ट्र्याक खोल्न हालको गोदावरी नगरपालिका – ४ मा भवन निर्माण गरेर योजना कार्यालय स्थापना गरिएको थियो । करिब १५ बिगाहामा फैलिएको उक्त क्षेत्रमा हाल एक दर्जन बढी भवनहरू रहेका छन् । ती मध्ये केही भत्किएका भए पनि केही अझै पनि प्रयोगमा रहेका छन् ।

सो क्षेत्रमा रहेका केही भवन हाल हेभी ईक्यूप्मेण्ट डिभिजन कार्यालयले प्रयोगमा ल्याएको भए पनि बाँकी भवन खालि अवस्थामा रहेका छन् । ती भवन सुरुमा अमेरिकनहरूले निर्माण गर्न लगाएर उनीहरूले नै प्रयोग गरेकाले हाल तिनीहरूलाई ‘अमेरिकन भवन’ पनि भन्ने गरिएको छ । पछि सडकको ट्र्याक खुलेपछि अमेरिकनहरू त्यहाँबाट गएका थिए भने पछि ती भवनहरूमा विक्रम सम्बत २०४६ साल तिर धनगढी– डडेल्धुरा राजमार्ग कालोपत्रे गर्न आएका कोरियनहरूले प्रयोगमा ल्याएका थिए ।

हेभी ईक्यूप्मेण्ट डिभिजन कार्यालयका सूचना अधिकारी लक्ष्मण सिंह ऐरीले सबै भवन अहिलेकै अवस्थामा प्रयोग गर्न सकिने अवस्थाका नभए पनि जग्गा भने सडक डिभिजन कार्यालय मातहतमै रहेको बताए । उनले अहिले आफूहरूले संरक्षण गरेका बाहेकका भवन जीर्ण बन्दै गएको बताए । उनले सडक विभागको १५ बिगाहा मध्ये आफूहरूले थोरै जग्गा मात्रै आफूहरूले प्रयोगमा ल्याउन सकेको बताए ।

सम्बन्धीत समाचार : गोदावरीमा राजधानी घोषणाको ६ वर्ष पुरा, नेताहरूको एउटै रटान

बजेटबाट हटाइयो प्रदेश राजधानी ‘गोदावरी’

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.