क्रान्तिदूत – स्वामी विवेकानन्द सरस्वती–द्वितीय

पुरन सिंह दयाल – स्वामी विवेकानन्द सरस्वती भन्ने वितिकै हाम्रो मनमस्तिष्कमा अमेरिकाको सिकागोमा सन् १८९३ मा भएको ‘विश्व धर्म परिषद’ मा कठिनाइका साथ प्राप्त सानो समयमा महान् दार्शनिक बिचारबाट उपस्थित सबै विद्धान वर्गलाई चकित पारेका व्यक्तित्व चम्किन पुग्छन । जुन भूमिमा ई.सं. १८६३ मा यी महान् व्यक्तित्वको जन्म भएको थियो, त्यही बङ्गालमा ई.सं. १९२५ तिर सोही नाम धारी द्वितीय स्वामी विवेकानन्द सरस्वतीको पनि जन्म भएको थियो । प्रथम स्वामी विवेकानन्दले विश्व मञ्चमा प्रसिद्धि प्राप्ति गरेको थियो भने द्धितिय स्वामीले तत्कालीन समयको डडेल्धुरा जिल्लाको रुपाल र तल्लो स्वराडको साथै उत्तराखण्डको लोहाघाट–चम्पावत क्षेत्रको शिक्षा एवं समाज रूपान्तरणका लागि एक नक्षत्र भएर यस क्षेत्रको आकाशमा होइन भूमिमा चम्केका थिए । वि.सं. २०१७ देखि लगभग डेढ दशक सम्म यस क्षेत्रमा ख्याति प्राप्त भएर सङ्घर्ष कै दरमियान अस्ताएका थिए ।

maya metro hospital

जन्म र अन्य व्यक्तिगत जानकारी

यस क्षेत्रका व्यक्तिहरूलाई वहाँको बारेमा स्पष्ट जानकारी कसै सँग पनि छैन । न उहाँले कुनै विद्यालयमा आफ्ना शैक्षिक र अन्य प्रमाण पत्रहरू पेस गरे न कसैले उहाँ सँग माग्ने र सोधपुछ गर्ने आँट गरे । वहाँको साधु रुपी व्यक्तित्व र बहुभाषिक न्यायिक वाक पटुताको अगाडि उहाँको व्यक्तिगत हैसियत कसले खोतलन् सकोस्, सम्भव थिएन ।

attariya hospital

तर, लामो समय डडेल्धुराको रुपालमा (भागेश्वर गाउँपालिका) आवस्थित असिग्राम माविमा लामो समय प्रधानाध्यापक भई सेवा गरेका हिक्मत बहादुर ठकुराठी (७८ वर्षीय) जो हाल महेन्द्रनगरमा बस्नु हुन्छ वहाँ बताउनु हुन्छ ‘बीए, एलएलबी’ हौँ भन्ने गर्दथे र, दाजु बङ्गाल दरबारमा थिए भन्ने कुरा संयोग बस गरेका थिए । यसबाट सहज अनुमान लगाउन सकिन्छ कि वहाँ बङ्गालका कुनै राम्रै हैसियत भएका परिवारमा जन्मेका थिए । शिक्षक ठकुराठी अगाडि भन्नु हुन्छ ‘स्वामी जी लगभग पाँच साढे पाँच फिट अग्ला हुनुहुन्थ्यो । गहुँगोरो वर्णका थिए । रुपाल आउनु भएको बेला वहाँ ३५ –४० वर्षका थिए होलान् ।’ यी जानकारीहरूको विश्लेषण गर्दा उनको जन्म ईस. १९२५ तिर भएको अनुमान गर्न सकिन्छ ।

बोली भाषाको दृष्टिकोणले उहाँ हिन्दी, अङ्ग्रेजी, बङ्गाली र पछि नेपाली र स्थानीय डोटेली भाषाको पनि प्रयोग गर्न थालेका थिए । वस्त्र धारणलाई मध्यनजर गर्दा शिक्षक ठकुराठी भन्नु हुन्छ ‘स्वामीजी गेरुवा रङ्गको धोती लगाउने र त्यही रङ्गको अर्को धोती ओढ्ने गर्नु हुन्थ्यो । अर्थात् साधु रुपी नै थिए ।’

यहाँ प्रवेश कसरी हुन् पुग्यो त ?

यस सम्बन्धमा शिक्षक ठकुराठी भन्नु हुन्छ ‘उक्त समय विपलम (नम्काँडेय) का रतन गिरी (बाजी) तीर्थाटनमा पूर्वीय भारत तिर गएछन् । संयोग बस स्वामीजी सित तिनको भेट भएछ । परिचयको क्रममा रुपाल क्षेत्रको शैक्षिक, सामाजिक, राजनीतिक, धार्मिक आदी विभिन्न विषयको अवस्थाको जानकारी रत्न गिरीबाट थाहा पाउँदा त्यस क्षेत्रमा गई आफूले केही योगदान गर्दा धेरै कुरामा सकारात्मक रुपान्तरण ल्याउन सकिने ठम्याइका आधारमा स्वामीजीको प्रवेश यस क्षेत्रमा भएको देखिन्छ ।’ शिक्षक ठकुराठीका अनुसार रतन गिरीलाई जोगी भनेका आधारमा वहाँहरू बिचमा केही आधारभूत कुराको सामनजस्यता हुन गएकाले पनि सहजरुपमा स्वामीजी यहाँ पुग्नु भएको हुनु पर्छ ।

स्वामीजीको स्वभाव

शिक्षक ठकुराठीका मतानुसार स्वामीजीमा भारतीय स्वतन्त्र संग्रामका महान् नेता सुभाष चन्द्र बोसको क्रान्तिकारी नीति एवं स्वभाव थियो । तत्कालीन समयको ठालुबादका उनी शक्त विरोधी थिए । समाजमा चल्ने शोषण, दमन, अन्याय, अत्याचार, अक्रमन्यता, पछौटेपन, अशिक्षा, अज्ञानता र कुनै पनि किसिमका विभेद देख्न नचाहने मात्रै होइन, आमूल परिवर्तन गर्ने स्वभावका धनी थिए ।
एउटा गतिशील र अग्रगामी समाजका परिकल्पनाकार मात्र न भई त्यसलाई व्यवहार तह प्रयोगमा ल्याउने नीति एवं कर्मयोगी थिए । स्वामी विवेकानन्द सरस्वतीको त्याग र निष्ठाबाटै पल्लवित थिए ।

शैक्षिक क्षेत्रमा परिवर्तन

स्वामी दयानन्द सरस्वतीको रुपाल प्रवेश काल भनेको राजा महेन्द्रले दुई तिहाइ भन्दा बढीको नेपाली काँग्रेसको सरकार ढाली एकतन्त्रीय पञ्चायत व्यवस्था स्थापना गरेको समय थियो । लगभग त्यसै समय राजा महेन्द्रले श्रीकान्त अधिकारीको नेतृत्वमा एक शक्तिशाली दौडाह नामक संयन्त्र खडा गरी यस सुप क्षेत्रमा पठाउनु भएको थियो । त्यसले यहाँको सामन्तवादका अवशेष र ब्राह्मणवादका यथास्थिति वादी व्यवहारको दमन गरी आमजनतामा स्वतन्त्र र समतामूलक समाजको स्थापना गर्ने उद्देश्यले हामी ठुला र चोखा है यस पृथ्वीका देवता नै हौ भन्नेहरूलाई हतोत्साहित गरी हलो जोताएको समय थियो । यसको व्यवहारिक पक्ष सुदृढ गर्न शिक्षा क्षेत्रको परिवर्तन पनि आवश्यक भएको अवस्थामा बङ्गाली स्वामीको प्रवेशले पनि ठुलो प्रभाव पारेको देखिन्छ ।

स्वीकृति ल्याए

तत्कालीन समयमा रुपालमा सञ्चालित असी ग्राम हाई स्कुलको बहुआयामीक समृद्धिको विणो स्वामी जीले सम्हाल्नुभयो । शिक्षक ठकुराठी बताउनु हुन्छ ‘हाई स्कुल सञ्चालनका लागि स्वीकृति ल्याउन उक्त समय काठमाण्डौं नै जानुपथ्र्यौ र स्वामी जी आफै जानुभयो । उतीखेर शिक्षामन्त्री पुष्करनाथ उप्रेती हुनुहुन्थ्यो, र उहाँ बाट अस्थायी स्वीकृति लिएर आउनुभयो ।

आर्थिक र भौतिक अवस्था परिवर्तनका उपाय

त्यस क्षेत्रका विभिन्न व्यक्तिहरूबाट क्षमताअनुसार चन्दा दान गर्न अभियान सञ्चालन गर्नुभयो । गाउँघरमा हुने झैँ झगडा मिलाउँदा दण्डित गरिएको रकम विद्यालय कोषमा हाल्ने । तत्कालीन समयमा महिला सित सम्बन्धित अनेक मामलाहरु हुने गर्दथे । त्यसका लागि विभिन्न प्रकारका दण्ड सजाय हुने गर्दथे । त्यसबाट प्राप्त नगद अथवा जिन्सी सामान विद्यालयको आर्थिक पक्ष दरो गर्नमा प्रयोग गर्नु हुन्थ्यो ।

मुष्टीदान भन्ने अन्न सङ्कलनको विधि पनि त्यतिखेर निकै लोकप्रिय बनेको थियो । हिउँदे र वर्षे बाली व्यक्तिको क्षमता अनुसार मुठी देखि सुप्पा सम्मको अन्न सङ्कलन गर्ने प्रथा व्यापक भएको थियो । बेसाह गर्ने वालाहरूका लागि त्यही उपलब्ध हुन थाल्यो । सङ्कलित अन्न राख्ने कोठालाई ‘भकारी कोष’ भनिन्थ्यो ।

विद्यालयको भौतिक पक्ष भित्र फिल्ड कटाउने, ढुङ्गा बोकाउने, काठ बोकाउने, स्लेट बोकाउनु पर्ने कर्मका लागि गाउँ घरमा पहिला देखि नै प्रचलित खेडिप्रथा अर्थात् श्रमदान गराउने विधि प्रक्रियाले भवनहरू निर्माण गराउन ठुलो योगदान मिलेको थियो ।

उक्त अभियान बारे भीमदत्त नगरपालिका – १० सुकासाल बस्ने ज्येष्ठ नागरिक भगीरथ वड भन्नुहुन्छ ‘एक पटक विद्यालयको फिल्ड कटाउन ठुलो अभियान चलिरहेको थियो । त्यसै समय गाउँमा दुई जना भद्र भलादमी सफा सुग्घर कपडा धारण गरेर सानका साथ घोडाहरु छन छन, खन खन गर्दै त्यहाँ बाटो आइरहेका स्वामीजीले देख्नु भयो । अनि आफै बाटोमा जानु भयो । दुबैलाई रोक्दै भन्नु भयो ‘स्कुलमा श्रमदान चली रहेको छ । तपाइहरू पनि घोडाबाट झर्नुहोस्, घोडाहरू रुखमा बाँध्नु होस । जनता कोही खनी रहेका छन् कोही बोरामा वा छालामा हाली माटो फाली रहेका छन् । तपाइहरूलाई जुन काम मन पर्छ गर्नुहोस् । तर, त्यो धुलो माटोले तपाइहरूका सफा सुग्घर कपडा फोहोर होलान्, फुकालेर राख्दा पनि हुन्छ । आम जनता सँग श्रमदान गरौँ ।’

स्वामीजीको आदेश कसले न मानोस् । उहाँहरूले सर्वसाधारण सँगै मिलेर काम गर्दा अन्तर आत्माले अपमान महसुस गरे पनि हाँस्दा हाँस्दै केही घण्टा काम गरेको कुरा गाउँ घरमा चर्चाको विषय बनेको थियो । निडर स्वभावका धनी स्वामीजी कस्तो खाले नीति सिद्धान्तका व्यक्ति थिए भन्ने कुरा यस घटनाबाट प्रस्ट हुन्छ ।

शिक्षाको गुणस्तर वृद्धिमा जोड

विभिन्न क्रियाकलापको मूल उद्देश्य शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नु थियो । यस क्षेत्रमा प्रायजसो गणित, विज्ञान र अङ्ग्रेजी पढाउने शिक्षकको अभाव हुने हुँदा वहाँ आफै भारतको पिथौरागढ गएर शिक्षकहरू ल्याउनुभयो । पढाइको मामिलामा कक्षाहरूको अनुगमन र शिक्षक विद्यार्थीहरूमा अनुशासनको कडा पालना गराउने उहाँको प्रवृत्तिले बिस्तारै स्कुलको वातावरण आफै गुणस्तरीय बन्ने गर्दथ्यो । सबैको लागि दण्ड एवं पुरस्कारको व्यवस्था गरिएकोले न्याय प्रेमी व्यक्तिहरूका लागि उत्साह सृजना हुने गर्दथ्र्यो ।

सामाजिक क्षेत्रमा परिवर्तन

स्वामी जी विभेद विरोधी थिए भन्ने कुरा माथिका प्रसङ्गहरूबाट प्रस्ट हुँदै आएको छ । तर, कोट्याएर नै भन्नुपर्दा हिन्दु धर्म भित्रका जाति उपजाति कायम रहेको विभेदकारी र असमान रीति रिवाज, धर्म, संस्कृति, आचार विचारका उनी विरोधी थिए । समतामूलक समाजका पक्षधर हुनुहुन्थ्यो । यस सम्बद्धको एउटा ज्वलन्त उदाहरणहरु छन् । तत्कालीन बगरकोट गाउँ पञ्चायतका भगीरथ ओडबाट प्राप्त जानकारी अनुसार वहाँ जातीय छुवाछूत विरुद्धको उनको सामाजिक रूपान्तरणको ध्येय प्रस्ट थियो ।

रुपाल नजिकका गाउँ घरमा चल्ने विद्यालयहरूको अवस्थाका बारेमा पनि समय –समयमा निरिक्षण गर्नु हुन्थ्यो । । त्यसै क्रममा एक पटक चुल्ल सिराडमा त्यतिखेर एउटा शारदा प्राइमरी स्कुल नामक विद्यालय थियो । त्यसको नजिक एउटा खाने पानीको न्वालो (कुवा) थियो । उक्त न्वालोको पानी स्वतन्त्र पूर्वक शिल्पकार समुदाय खान पाउँदैन् थिए । स्वामीजीले विद्यालय निरीक्षण गर्ने क्रममा समूहमा भेला भएका विद्यार्थीहरूलाई सोधेछन् ‘के विद्यार्थीहरूलाई पनि केही समस्याहरू छन् ?’

विद्यार्थीहरूले आ–आफ्नो किसिमको कुरा राखेछन् । तर, जातीय हिसाबले लामो सयम देखि खाने पानीको समस्याले पीडित भगीरथ वड र तिनका साथीहरूले निकै हिम्मत–आँट जुटाएर स्वामी जी लाई भने छन् ‘सर यसै स्कुलको छेउमा एउटा न्वालो छ । मल्लो जाती आफू खुसी त्यहाँ गएर पानी पिउनु हुन्छ तर, हामीलाई तल्ला जातिका विद्यार्थी भनेर पानी पिउन मिल्दैन । गैर दलितका विद्यार्थीहरूले कृपा गरी खन्याई दियो भने उनको इच्छ्या अनुसार कहिले ठुलो कहिले सानो हात नपखाली कनै खान पाउँछौ । कसैले हुलकलमा वास्ता नगरे तिर्खाएकै अवस्थामा फिर्ता आउँन्छौ ।

विद्यालय क्षेत्रमा त्यस किसिमको अमानवीय व्यवहारको कल्पना न गरेका स्वामीजी आक्रोशित हुन पुगे । उनी तुरुन्त उठेर न्वालो देखाऊ भन्ने आदेश हेडमास्टरलाई दिएर उता तिर लाग्नुभयो । अनि केही विद्यार्थी र शिक्षक उनको पछि पछि लागे । अनि आफ्नै नजरको सामु भागिरथ वड लगायतका शिल्पी समुदायका विद्यार्थीहरूलाई पानी खान लगाए । अनि सबैलाई कडा आदेश दिनुभयो ‘आज से यहाँ कोही जातीय भेदभाव नहीँ होगा । और जो अपने आपको तलजाती कह रहेहो । तुमलोग भी निडरताके साथ न्वाले मे आकर पानी पिना । छोडकर अब से न कोही मागेका, न कोही देगा । कोई समस्या हुई तो मुझे बताना ।’

यस दिन देखि चुल्ल सिराडको स्कुलमा खाने पानीको बारे उक्त समस्या देखिएन । तर, मनुवादी प्रवृत्तिका शिक्षक र विद्यार्थीहरूले विभिन्न बहाना देखि, त्यस न्वालामा पानी खानु भन्दा तिर्खा न लाग्ने नीति लिए ।

प्रअले जागिर छोड्यो नीति छोड्यो, नीति छोडेन

स्वामीजीको दोभासे तारणीजीका भाइ पुष्पराज चटौतलाई थप समस्या सोध्न लगाउँदा भगीरथ वड र साथीहरूले विद्यालय भित्रको थप समस्या डरदा–डरदै भन्नु भयो ‘हेडमासाप भन्नु हुन्छ की तलजाती (दलित) मलजाती (गैर दलित) सँगै न बस्नु । रोटी छुइन्छ । तिमी तल र पर बस ।’

उक्त कुरा स्वामीजी सँग पुग्दा उहाँले तत्कालै कक्षाको अनुगमन गर्दा प्रमाणित हुन पुग्यो र आक्रोशित बन्न पुगेका स्वामीजीले आइन्दा यस्ता अभद्र गतिविधि कुनै पनि किसिमले सह्य हुन सक्दैन । तिमी आफूलाई तुरुन्त सच्याउन । मैले आइन्दा यस्ता कुरा सुन्न नपरोश भनेर सचेत गराइ जानुभयो ।

नन्द साउँदका गतिविधिमा कुनै तात्त्विक भिन्नता आउनुको सट्टा उजुरी कर्तालाई पनि झन् नकारात्मक व्यवहार बढेको जतासुकै सार्वजनिक हुन पुग्यो र, तिनलाई जागिरबाट निकालियो । चर्चा जिल्ला व्यापी हुन पुग्यो ।

रुपाल छोड्नु भयो

शिक्षक हिक्मत बहादुर ठकुराठीबाट प्राप्त जानकारी अनुसार २०१७– १८ तिर देखि २०२२–२३ सम्म स्वामीजीले असिग्राम उच्च मावि रुपाललाई आधुनिक रूप दिनमा अति महत्वपूर्ण योगदान दिनुभयो । त्यहाँको जनता सधैँ वहाँको ऋणी रहेको महसुस गर्दथे । हरेक क्षेत्रमा उहाँको योगदान रह्यो र, २०२३ साल तिर तत्कालीन डडेल्धुरा तल्लो स्वराड बागोठका जिम्मावाल गोरख चन्द र रोकटाका ‘शिक्षा एवं समाज सेवी गोरी चन्द’ आफ्नो क्षेत्रको शैक्षिक क्षेत्र परिवर्तन गराउन स्वामी जी माग्न रुपाल आउनु भएको सम्झना शिक्षक हिक्मत ठकुराठी जी गर्नु हुन्छ ।

विस्तार विस्तार उहाँको हरेक क्षेत्रको समाजवादी शैली स्थानीय ठालु पञ्च र सामन्तवादी, वर्णवादीहरूलाई मन परेन । एक दशक अघि अमर सहिद भीम दत्त पन्तको आमूल परिवर्तनलाई यिनीहरूले तत्कालीन नेपाल सरकार र भारत सरकारको प्रयोग गरी हत्या गरेको अहमवाद कायम थियो । एकै ठाउँमा धेरै बस्नुभन्दा नीति सिद्धान्त सिकाउँदै क्षेत्रको नै परिवर्तन गर्नु उपयुक्त ठानी चन्दहरूको आमन्त्रण स्वीकार गरी मणिलेक हाई स्कुल आउनु भयो ।

श्री मणिलेक हाई स्कुलमा स्वामीजीको अमूल्य योगदान

जन निर्वाचित सरकार ढालेर पञ्चायत व्यवस्था स्थापित गरी केही नयाँ एवं क्रान्तिकारी सरकार सञ्चालन गर्ने नीति राजा महेन्द्रको देखिन्थ्यो । यसै अवस्थामा केही कडा एवं जनहितकारी परिवर्तन गर्ने उद्देश्य स्वामीजी र प्रधानाध्यापक उत्तम चन्दको पनि थियो ।

तत्कालीन समयमा राष्ट्रिय र यस क्षेत्र विशेषको राजनीतिक अवस्था अन्योलमय थियो । काँग्रेस, कम्युनिस्टका नेताहरू कोही थुनामा थिए, कोहीले पञ्चायती राज्य व्यवस्था स्विकारी सकेका थिए वा केही देश छाडी भारत तिर पलाएन भएका थिए । त्यस अन्तरगत यस निर्वाचन क्षेत्र नम्बर ६६ अर्थात् डडेल्धुराका नेतृ द्वारिका देवी ठकुरानी र भतिजा मीन बहादुर चन्द भारत प्रवास अन्तरगत थिए । मणिलेक हाई स्कुल संस्थापक जिम्मावाल उद्धव बहादुर चन्दको स्वर्गवास भई सकेको अवस्था थियो । यस परिवारका शेष सदस्यहरूले पञ्चायतको समर्थन गर्ने कि प्रजातान्त्रिक व्यवस्थाका लागि भूमिगत रूपमा भए पनि सङ्घर्ष गर्ने भन्ने अन्योलमा थिए । यस समयको उपयोग बागोठका जिम्मावाल गोरख चन्द श्री कान्त अधिकारीको यातनाबाट मुक्त भएपछि दीप चन्द पट्टी भन्दा आफू रोडिपट्टी कमसल न भएको आभास दिँदै हरेक क्षेत्रमा सलबलाएको देखिन्छ ।

यस तल्लो स्वराड क्षेत्रको एक मात्र हाई स्कुल मणिलेकका लागि शिक्षा एव प्रशासनिक क्षेत्रका दक्ष नोला– मार्थला मूल घर भई भारतबाट प्रशिक्षित उत्तम चन्दको अमूल्य देन देखिन्छ । संयोगवश यी दुइटै कर्मयोगीहरूको एकै समय यस विद्यालयमा हुन गएको साथ सहयोगले स्कुलको कायापलट नै भएको मान्नुपर्छ ।

२०२२ सालमा पहिलो पल्ट त्यस विद्यालयका दुई जना विद्यार्थी गोपाल राम र प्रताप दत्त भट्टहरू डडेल्धुरा पहिलो पटक एसएलसीको केन्द्र भएको बेला उत्तीर्ण हुनुभएको थियो । गोपाल राम यस विद्यालयका लागि पछि वरदान साबित हुन भयो । पिथौरागढ पठाउनु देखि यहाँ स्थापित गराउनमा उत्तम चन्द जीको ठुलो भूमिका देखिन्छ ।

विद्यालयको माहोल गोपाल राम जी को बहुमुखी प्रतिभाको सदुपयोग गर्नमा स्वामीजीको पनि उल्लेखनीय योगदान देखिन्छ । स्वामीजीको प्रवेशको स्वागत गर्ने क्रममा गोपाल रामबाट आफ्नो टिमको प्रयोग गरी शानदार रूपमा स्वागत गरिएको कुरा शिक्षक हिक्मत ठकुराठी सम्झना गराउनुहुन्छ ।

स्वामीजीको क्रान्तिकारी परिवर्तन

शिक्षा र समाजको आमूल परिवर्तनको लागि जुन नीति र सिद्धान्तको प्रयोग वहाँले रुपाल क्षेत्रमा गर्नु भयो त्यसैको प्रयोग वहाँले मणिलेकमा पनि गर्नुभयो । विद्यालय र यस क्षेत्रको सामाजिक उत्थानका लागि यहाँको नामुद सामाजसेवीहरुलाई प्रोत्साहित गर्नु भयो भने सामन्ती र ठालु प्रवृत्तिकाहरुलाई निरुत्साहित गर्नुभयो । तिनीहरू त्रसित हुन थाले । उनीहरूले दण्डित गरी खाने रकम थाहा पाउने बित्तिकै आफूले थुतेर विद्यालय कोषमा राख्ने गर्न थाल्नु भयो । अन्नको मामिलामा यहाँ पनि मुठ्ठीदान अभियान गर्नु भयो । जनश्रमदान अर्थात् खेडी सिस्टम यहाँ पनि चलाउनुभयो । मणिलेकमा भवन निर्माणको कार्यक्रम निरन्तर चलि रहेको थियो ।

तत्कालीन समयमा बम्बइमा ठुलो सङ्ख्यामा दलित समुदायका व्यक्तिहरू नोकरी गरी बसेका थिए । स्कुलका लागि भनेर केही र आफ्नो नाम कमाउन केही व्यक्ति त्यहाँ समिति नै गठन गरी पैसा सङ्कलन गर्न थाले र लगभग साल सालमा गएर पैसा लिएर आफूबाट सङ्कलित रकम स्कुल कोषमा सङ्कलन गरेका थिए ।

चन्दा दाताहरूको नाम यहाँको रिकर्डमा देखिँदैन । यसको प्रमाण आफूले नै २०३६–०३७ सालमा के देखे भने विद्यालय व्यवस्थापन समितिमा एक जना सदस्य दलित समुदायबाट पनि राख भन्दा शासक प्रशासकहरूको जवाफ आयो ‘विद्यालयमा यस समुदायको कुनै योगदान देखिँदैन । मल्लाहरुले त स्कुलमा कोठाहरू आफ्नो नामबाट बनाएका छन् । यस्ता मसिना कुरा स्वामी जी कहाँ तत्कालीन समय पुग्न नसकेर बढी भन्दा बढी खेडी गर्ने, मिस्त्रीका गर्ने र विदेशबाट बालबच्चाको छाक काटेर अर्थ सङ्कलन गर्ने व्यक्तिहरू ओझेलमा परेका छन् । शिक्षामा लगानी न गरेका ठहरिएकाहरू व्यवस्थापनमा यस समुदायबाट न राखे पछि रुष्ट भई मुम्बई गई आफ्ना अग्रजहरू सँग कुरा उठाउँदा सत्यता त ठिक विपरीत रहेको कुरा पिता जी बहादुर दयाल र केही अन्य वास्तविक समाजसेवीहरूबाट थाहा पाएको थिए ।

द्धितिय स्वामी विकेकानन्द सरस्वती कालिन मणिलेकको जुन चौतर्फी भौतिक र आर्थिक उन्नति भएको थियो । त्यो यस क्षेत्रका बुजुर्गहरु सधैँ सम्झने गर्नुहुन्छ । रुपालमा गरेको कामको पुनरावृत्ति यस क्षेत्रमा पनि स्वामीजीले गर्नु भएको थियो । यहाँका शासक प्रशासक आफूबाटै कतै काम गर्ने सिलसिलामा त्रुटि त हुँदैन की ? गोप्य कुरा तिनी (द्वितीय स्वामी विकेकान्द सरस्वती) कहाँ पुगी पो हाल्छ की भनेर डराई–डराई काम गर्न थालेको तितो सत्य शोसकहरुलाई पच्न सकेन । उहाँ प्रति बिभिन्न आरोप खडा गर्न थाले । उतिखेर उहाँलाई लक्षित गरी एक उखान नै प्रचलित भएको थियो ।
‘आयो त आयो अन्बिदो जोगी ।’

आफ्नो मिसन अनुसार गर्नु पर्ने काम गरिसके पछि अब यहाँ बढी बस्नु उपयुक्त न ठानी यसै हाराहारीको क्षेत्र भारतको लोहाघाट तिर स्थान परिवर्तन गर्नु भयो ।

आफन्त भनिने बाटनै समाप्ति

सङ्कुचित राज्य व्यवस्थालाई मध्यनजर गर्दा स्वामीजी नेपाल क्षेत्रका लागि विदेशी थिए । वहाँले कुनै किसिमको मतभेद न राखी यस क्षेत्रको पछौटेपनलाई अग्रगामी बनाउनुभयो । निर्भीकताका साथ जुन त्याग तपस्या समर्पण गर्नुभयो त्यसलाई आजको मिति सम्म भारतीहरूले जसरी मदर टेरिसालाई सम्झनु र सम्मान गर्नु हुन्छ । त्यसरी नै यस रुपाल र स्वराड क्षेत्रका व्यक्ति सम्झन्छन, सम्मानित गर्नेछन् ।

तर, सोही सेवा आफ्नो देशको पछाडिको क्षेत्र भनेर उत्तराखण्डको लोहाघाट, चम्पावतमा अग्रगामी कदम आरम्भ गर्दा त्यहाँका गुन्डाहरूलाई पाच्य हुन सकेन । अङ्ग्रेजहरूको साम्राज्य नै ढाल्ने महात्मागांधीलाई भारतीयहरूले उनको हत्या गर्न पुगे । सत्य धर्मको लागि समर्पित मिरा बाईलाई जहर खुवाएर हत्या गरिदिएका थिए । त्यही घटना स्वामी विश्वानन्द सरस्वतीको साथमा २०२६–०२७ तिर देवभूमि भनिने ठाउँमा हत्या गरियो । एउटा नकारात्मक उखान कायम हुन पुग्यो ‘राम्रो गर्नेको राम्रो हुँदैन ।’ अर्थात ‘भलो गद्याको भलो नाइँ हुनो’ तर, वहाँका त्याग समर्पण प्रति सधैँ सम्झी रहनेहरूको एक लामो पङ्क्ति यस सुदूरपश्चिमको दक्षिण भेगमा यी विद्यालय रहुन्जेल कायम रहेन छ ।

– लेखक दयाल संविधानसभा सदस्य हुन । उनी मेलौली नगरपालिका खलिगाड, बैतडीका स्थानीय बासिन्दा हुन ।

 

 

 

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.