अत्तरियामा छैनन् अपाङ्गतामैत्री संरचना
अत्तरिया – कैलालीको अत्तरियामा अझै सार्वजनिक संरचना अपाङ्गतामैत्री बन्न सकेका छैनन् । यस क्षेत्रमा रहेका सरकारी कार्यालय सँगै बैंक तथा वित्तीय संस्था अपाङ्गतामैत्री बन्न नसकेका हुन् । जसले गर्दा अपाङ्गता भएका ह्विलचियर प्रयोगकर्ताले सास्ती खेप्नु परिरहेको छ ।
अत्तरियामा रहेको नगरपालिका कार्यालय, प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था अपाङ्गतामैत्री नबन्दा समस्या झेल्नु परिरहेको गोदावरी नगर स्तरीय अपाङ्गता कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकले बताए । उनले अत्तरियामा रहेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मालाखेती अपाङ्गतामैत्री नभएको बताए । उनले ती कार्यालय अपाङ्गतामैत्री नहुँदा ह्विलचियर प्रयोगकर्तालाई कार्यालय प्रवेश गर्नै नसक्ने अवस्था रहेको बताए ।
‘अपाङ्गता भएकाहरूको पनि प्रहरी कार्यालयमा काम परिरहेको हुन्छ । तर, ती कार्यालय अपाङ्गतामैत्री नहुँदा समस्या भइरहेको छ’ उनले भने ‘अहिले प्रहरीले बनाएका नयाँ संरचना पनि अपाङ्गतामैत्री बनेका छैनन् ।’ उनले अपाङ्गतामैत्री संरचना बनाउँदा ह्विलचियर प्रयोगकर्ताहरूको लागि मात्रै नभएर गर्भवती, बालबालिकाका लागि पनि सहज हुने बताए ।
‘यस्ता संरचना बनाउँदा अपाङ्गतामैत्री मात्रै नभएर गर्भवती, बालबालिकालाई पनि सहज हुन्छ’ उनले भने ‘हामीले भनेका संरचना अपाङ्गतामैत्री मात्रै नभएर मानवमैत्री हुन । यस्ता संरचना गर्भवती, बालबालिकालाई पनि उतिकै आवश्यक छन् ।’ उनले प्रहरी कार्यालयमा उजुरी दिन जान अपाङ्गता भएका व्यक्तिलाई निकै समस्या हुने गरेको बताए । ‘अहिले प्रहरी कार्यालयमा कुनै बहिरा व्यक्ति उजुरी दिन गयो भने के गर्ने समस्या छ । भाषा बुझ्ने व्यक्ति छैन’ उनले भने ‘कहिले काहीँ अपाङ्गता भएका व्यक्तिलाई पनि कार्यालय प्रमुखलाई भेट्नु पर्ने हुन्छ । गोप्य कुरा गर्नुपर्ने हुन्छ । तर, यसका लागि त्यहाँका संरचनाले सम्भव नै छैन ।’
उनले गोदावरी नगरपालिका कार्यालय समेत अपाङ्गतामैत्री बन्न नसकेको बताए । ‘¥याम्प मापदण्ड अनुसार बनेको भए पनि माथिल्लो तलामा जानको लागि कुनै सुविधा छैन’ उनले भने ‘कार्यालयका हाकिम, नगरप्रमुख भेट्न सक्ने अवस्था छैन । वहाँहरूले आवश्यक परे तल आउँछौ भन्नु हुन्छ । तर, त्यो अपाङ्गता भएका व्यक्तिका लागि सहज होइन ।’
नेपाल राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम अध्यक्ष मान बहादुर साउँदले अहिले नीतिमा कुनै समस्या नभए पनि कार्यान्वयनमा समस्या भएको बताए । उनले अझै पुराना भवन मात्रै नभएर नयाँ बन्न लागेका संरचना पनि अपाङ्गतामैत्री बन्न नसकेको बताए । ‘अहिले पनि वडा कार्यालय, नगरपालिका, गाउँपालिका भवन, प्रहरी कार्यालय भवन, खानेपानी, शौचालय, हिड्ने बाटो अपाङ्गतामैत्री बन्न सकेका छैनन्’ उनले भने ‘यस्ता संरचना सबैको लागि बन्नुपर्छ ।’
उनले सबै किसिमका अपाङ्गता भएका व्यक्तिलाई समेट्ने गरी संरचना र पूर्वाधार बनाउन आवश्यक रहेको बताए । उनले सार्वजनिक यातायातका साधन पनि पहुँच युक्त हुनुपर्ने बताए । उनले अपाङ्गतामैत्री भौतिक संरचना बनाउनको लागि इन्जिनियरहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । ‘अहिले नक्सा डिजाइन गर्दा अनिवार्य अपाङ्गतामैत्री बनाउनु पर्छ भन्ने संयन्त्र कमजोर रहेको देखियो’ उनले भने ‘हामीले यस विषयमा नीति निर्माण तहमा रहेकाहरूलाई झकझक्याउने प्रयास गरिरहेका छौ ।’