
सार्वभौम सत्ताधारी
नेपाली जनता हो
राष्ट्रिय एकताको प्रतीक
लक्षित जनता हो ।
नेपाललाई स्वतन्त्र राख्ने
ठेका कसको नाममा छ ?
हिमाल तराई पूर्व पश्चिम
कुन खलकको काँधमा छ ?
स्वाधीनता कायम गर्ने
कुन थरी नेपाली छ ।
बहु जाति बहु धर्मी
होइन र नेपाली ?
स्वाभिमानी यात्रा गरी
राजा खोज्छौ भन्ने मान्छे
जन सर्घष पर्दैन गर्नु
आफै आउँछन् मान्छे ।
बाइसे यतै चौबिसे यतै
हजारौँ कोट महल यतै
राजा भन्न रुचाइ राख्ने
मेची महाकाली
धाउन पर्दैन कुनै
मिल्छ नाली बेली यतै ।
राजा बन्न दरखास्त मागे
बोनलाई बाट दरखास्त आउँछन्
तिर्खाएको आफै आउँछ
खोला कहाँ धाउ छ र ?
पश्चिमबाट खोज्ने भए
खस वंशी व्यापक छन्
लिगलिग कोटे मगरका नाति
धाउन सम्म धाएकै छन् ।
गोपाल वंशी महिसवंशी
मल्ल राजधानी मै छन्
दायाँ बायाँ जति सुकै
तामागं ठाउँ ठाउँमै छन् ।
सुदूरपश्चिमबाट चाहिने भए
बम पाल छदै छन् ।
झुलचनका बैतडी भर छन् ।
ओम जङ्ग सिंहका बझाङ छन्
डिङकोटी डुम्रा कोटी
सुन कोटीका सन्तति
छताछुल्ल जताततै ।
पनेरु नि राजा थिए
नाति किन नहोलान् र ?
कोट भत्केनी अजयमेरु
शाही मल्ल फुलेकै छन्
दीप अनि विष्णु शाहीका
बश छरिएर बसेकै छन् ।
अछाम शाह जुम्ला शाह
जाजरकोटी शाह,
सन्धी गरी बहादुर शाहले
फसे सुमान शाह,
तिनका पनि कोही त होलान्,
त्यस्तै हरि शाहका,
ढुङ्गाले हरि शाह मार्ने
होलान् मगर सावका ।
बुढा कोट हरि चन्द्र
तिर्वाका नि फलेकै छन्
मलय वर्मा सल्यानीका
सन्तान नि तत्पर छन् ।
भिर कोटका खान शाह
अतिम तोरण शाह
मानवको अधिकार खोज्ने भए
सम्झनु ऋिषी केश शाह ।
श्री ५ लाई श्री ३ ले,
थर्कमान गर्ने राणाहरू
मोहन शमशेरका नाति पनातिहरू
दाउपेच हेरेकै छन् ।
यहाँ एक हैन हजारौ
मौकाको तलासमा छन्
सेन सशलेश पनि
यसै भूमिका उपज थिए
पनातिहरूलाई थाहा छ
पूर्वजलाई कसले
के बनाएका थिए भनी ।
नेपालको एकीकरणमा
थापाहरू बस्नेत छन् ।
लुगा सिउने जुत्ता बनाउने
खुँडा खुकुरी बन्दुक बनाउने
वीर रसको गीत गाउने
मौकामा बन्दुक उठाउने
दिपा रजवारका साथ नै
एकीकरणमा जीव ज्यान दिने
भगुवा दमाई र सोना पात्रका
सन्तति सुपमा छरिएकै छन् ।
राष्ट्र विस्तारका लागि,
हरहर महादेव महाकाली भनेर
स्तोत पाठ गर्ने गुरु झनै
जोखो गर्दै छन् घर घरमा ।
बाल गोपालको छाक काटी
राष्ट्र निर्माता सैनिक पोस्ने,
को यो राष्ट्र होइन र ?
मजदुर किसानको सम्मानित बनेन
के तिनका सन्ततीका
इच्छा आकाङ्क्षा छैनन् र ?
के खिर खुवाउने आमाको
के विष नगर्चीको
राज्य विस्तारमा योगदान छैन र ?
के पृथ्वी नारायण र बहादुर शाहले
एक्लै बन्दुक लिएर
एकीकरण गरेका हुन र ?
धत्तेरीका यो हाम्रो लाछीपन !
दास मतो वृत्ति अनि रैतीको अवशेष !
के यही हो १८ हजारको बलिदानीको बक्सिस ?
शुक्रराज धर्मभक्त नि
गगालाल दशरथलाई
श्रद्धाञ्जलीका ढकोशाला अब छोडिदेऊ
नागरिक बाट रैती बनिऊँ
भन्ने घोषणा गरी देऊ ।
– पुरन सिंह दयाल
संविधान सभा सदस्य




















