अत्तरिया – पसल बन्द गराउने क्रममा मंगलबार राती अत्तरियामा प्रहरीले गरेको धरपकडको घटनाले सामाजिक सञ्जाल ततायो । राती १० बजे बजार बन्द गराउँदै हिँड्ने प्रहरी र अत्तरियामा रहेको थ्रिडिभिएल जुस सेन्टरका व्यवसायी बिच भएको विवादमा प्रहरीले एक जनालाई पक्राउ नै गरेको थियो । कानुन कार्यान्वयन गर्ने क्रममा भएको उक्त घटनालाई सामान्य भएको भनिए पनि घटनापछि सार्वजनिक भएको भिडियोले भने प्रहरीले आम सर्वसाधारण माथि गर्ने व्यवहार उदाङ्गो भएको छ । ‘प्रहरी मेरो साथी’ स्लोगन बोकेर जनताको सेवामा खटिने प्रहरीले नै सामान्य वादविवाद हुँदा बन्दुकै नै निकालेर तर्साउन खोजेको भिडियोमा देख्न सकिन्छ । रिसको झोकमा एक प्रहरी बन्दुकको धम्की देखाउँदा अर्को प्रहरी भने उनलाई बन्दुक ननिकाल्न आग्रह गरिरहेका छन् । यसबाट प्रहरी भित्र चेन अफ कमान्ड कति कमजोर रहेको छ भन्ने कुरा पनि उदाङ्गा पारेको छ ।

अत्तरियामा प्रहरीले राती १० बजे दैनिक रूपमा बजार बन्द गराउनको लागि गस्ती गर्दै आएको छ । शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरीले जोखिमको आकलन गरेर बजार बन्द गराउँदै आएको तर्क गरेपछि अत्तरियामा व्यवसायी भने ढुक्क हुने वातावरण भने बन्न सकेको छैन ।

तीन पटक सम्म पसलमा चोरी भइसक्दा पनि न्याय नपाएको बताउने अत्तरियामा रहेको नमुना मोबाइल हाउसका सञ्चालक श्याम विश्वकर्माले ढुक्क भएर व्यवसाय गर्ने वातावरण नै नभएको बताए । उनले तीन पटक गरेर ७ लाख सम्मका मोबाइल चोरी भए पनि अहिले सम्म कुनै प्रकारको न्याय नपाएको बताए । २ पटक चोरी हुँदा प्रहरीले चोर पक्राउ गरेको भने पनि अहिले उनीहरू पनि खुलेआम हिँडिरहेको उनको भनाइ छ ।


अत्तरियामा भएका ठुला गोली काण्ड, सहकारी चोरी काण्डका घटना पनि अहिले सम्म गर्भको रहस्यमै छन् । डेढ वर्ष अगाडि पुस ३ गते साँझ अत्तरियाको पूर्व रोडमा भएको गोलिकाण्ड घटनाको अझै पनि प्रहरीले अनुसन्धान जारी राखेको जनाए पनि घटनाको रहस्य भने पत्ता लाग्न सकेको छैन ।
सशस्त्र प्रहरीको बाहिनी देखि करिब १ सय मिटर र इलाका प्रहरी कार्यालय देखि करिब ७ सय मिटरको दूरीमा राजमार्गमै गोली प्रहार गरी सुन व्यवसायीको ३५ तोला सुन लुटिएको थियो । गोली लागेर सुन व्यवसायी विकास सुनार घाइते भएका थिए । अत्तरियामा रहेको घोडाघोडी सुन चाँदी पसलका सञ्चालक सुनार माथि साँझ पसल बन्द गरेर घर जाँदै गर्दा आक्रमण भएको थियो । मोटरसाइकलमा सवार सुनार माथि गोली प्रहार गरी लुटेर फरार भएका थिए । प्रहरीको घेरामै गोली प्रहरी गरी भएको लुटपाटको घटनामा डेढ वर्ष बितिसक्दा पनि अभियुक्त पक्राउ परेका छैनन् ।
गोलिकाण्ड घटनाको चौथो दिन अत्तरियामा सहकारीमा भएको चोरीको घटना पनि रहस्यमय बनेको छ । गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारीको लकर तोडेर भएको चोरीको घटनाको पनि डेढ वर्ष पुग्न लाग्दा चोर पक्राउ परेका छैनन् । पुस ७ गते भएको उक्त चोरीको घटनामा सहकारीका क्यामेरा सहित लकरमा राखिएको ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरी भएको थिए ।
यसरी चोरी, लुटपाट गर्नेहरू खुलेआम हिडिरहदा व्यवसायीलाई भने हतोत्साहित गर्ने गरी प्रहरी प्रस्तुत हुने गरेका छन् । जसले गर्दा व्यवसायीले प्रहरीबाटै सास्ती र चोर लुटेराले मस्ती गर्ने अवस्था सिर्जना भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले गोली काण्ड, सहकारी चोरी काण्डको मुद्दा चालु नै भए पनि अभियुक्त पक्राउ भने नपरेको बताए । उनले खोजी कार्य जारी रहेको बताए ।