बैतडी – बैतडीमा भिडियो एक्सरे मेसिन खरिदका लागि सञ्चालन गरिएको अभियानमा ४ लाख बढी रकम संकलन भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीले सञ्चालन गरेको उक्त अभियानमा ५ दिनको अवधीमा ४ लाख ६ हजार ९९४ रुपैया संकलन भएको स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले जानकारी दिए ।

दुर्गम क्षेत्रमा रहेको उक्त स्वास्थ्य चौकीबाट नागरिकहरुलाई सहज स्वास्थ्य सेवा पु–याउने लक्ष्यका साथ उक्त अभियानको थालनी गरिएको थियो । मेसिन खरीदका लागि अन्यत्रबाट सहयोग नभएपछि आमरुपमा सहयोग अभियान सञ्चालन गरिएको बताईएको छ ।

अभियान अन्र्तगत संकलन भएको रकमले केही दिनभित्रै भिडियो एक्सरे मेसिन किन्ने योजना रहेको स्वास्थ्य चौकी प्रमुख सार्कीले बताए । उनले करीब ३ लाख ४० हजारको लागतमा भिडियो एक्सरे मेसिन खरीद गर्न सकिने र बाँकी रहेको रकमले अटोमेटिक इसीजी मेसिन खरीद गर्ने योजना रहेको बताए ।
आँफै अटोमेटिक रिपोर्ट दिने इसीजी मेसिन खरीद गर्ने र यसले नागरिकहरुलाई सहज हुने उनले विस्वास व्यक्त गरे ।














