खाेज्नुहाेस

सिकाइ क्षेत्रभित्र-एक दृष्टि, शिक्षक सिकाइ र नतिजा

Image

मिनबहादुर रोकाया – शिक्षक सिकाइ र नतिजा यी तीन वटै पक्ष एक अर्का सँग नजिकको सम्बन्ध राख्दछन्।अनौपचारिक क्षेत्रको सिकाइमा भन्दा औपचारिक क्षेत्रको सिकाइमा यी विषयमा बढी नै चिन्ता चासो र गुनासो अनि बधाई प्रशंसा र वाही वाही रहने गर्दछ।व्यक्ति आफू स्वयमले आफ्नो रुचिको विषयमा स्वतःस्फूर्त कति बेला के?कहाँ?कसरी?कहिले?सिक्यो,त्यहाँ शिक्षक को थियो?सिकाइ कसरी भयो?सो सँग वास्ता नै हुँदैन,केबल एकै पटक त्यहाँ नतिजा मात्रै मास्नेमा देख्ने गर्दछन्।तर औपचारिक शिक्षामा भने चाहे त्यो विद्यालय शिक्षा होस् वा क्याम्पस वा विश्वविद्यालयको शिक्षा नै किन नहोस्, त्यहाँ भने शिक्षक को?कस्तो?कुन योग्यताको?र कुन क्षमताको?जस्ता विषयमा खोजी मात्रै हुँदैन,उसले कसरी सिकाइ कार्यमा सहभागी भइरहेको छ? उसको सिकाइ बाट विद्यार्थीहरू सन्तुष्ट के कति छन्?र विद्यार्थीहरूको सिकाइ उपलब्धि स्तरको अवस्था के छ? भनी सो को निकै नाप जाँच समेत हुने गर्दछ।

व्यक्तिले जीवनको प्रारम्भ देखि अन्त्यसम्म केही न केही सिकिरहेको नै हुन्छ।भनिन्छ सिकाइ कोक्रो बाट प्रारम्भ भई चितामा गएर अन्त्य हुन्छ।बालकले आमाको कोखमा जन्म लिए सँगै उसको प्रारम्भ हुने सिकाइ उसको जीवनको अन्तसम्मका लागि निकै महत्त्व राख्दछ।जीवन भोकाइको क्रमसँगै उसले कहाँ के कसरी सिक्यो भन्ने कुराले उसको भविष्य निर्धारण गर्ने गर्दछ।आमाको गर्भबाट भूँइमा खस्दै गर्दाको चिच्याहट बाट प्रारम्भ हुने सिकाइको प्रारम्भिक थलो नै आमाको त्यही न्यानो काख हो जहाँ बाट जीवनको प्रारम्भ हुने गर्दछ।आमाको गर्भको न्यानो बाट प्रकृतिको सिरेटोमा पदार्पण भए पछि एउटा बालक कता के सिक्छ र के बन्छ भन्ने कुराको छनक उसको घरपरिवार बाट नै देखिन्छ भन्दा अतिशयोक्ती नहोला।बालक जन्मेको घर बालकको पहिलो पाठशाला हो भने उसका आमाबुवा उसको सिकाइका प्रारम्भिक र महत्त्वपूर्ण शिक्षकहरू हुन्।बालक हुर्के बढेको घरपरिवार पछि त्यो घर रहेको समुदाय र समाज उसको सिकाइका महत्त्वपूर्ण आधार र शिक्षकहरू हुन्।

attariya hospital

घरपरिवार,समाज र समुदाय बालबालिकाहरूका अनौपचारिक सिकाइका महत्त्वपूर्ण क्षेत्र तथा शिक्षकहरू हुन्।एउटा बालकले त्यहाँ बाट बोली,भाषा,संस्कार र संस्कृति  मात्रै सिक्दैन उसले पारिवारिक,माया,ममता,प्यार,प्रेम,सदभाव,सहानुभूति र सदाचार जस्ता अत्यन्तै जीवनोपयोगी सीपहरू सिक्ने अवसर प्राप्त गर्दछ।त्यति मात्रै नभई उसले त्यही घरपरिवार,समाज एवम् समुदायका विभिन्न योग्यता,क्षमता,पेसा र व्यवसायका मानिसहरू बाट सो अनुरूपको ज्ञान पनि आर्जन गर्ने गर्दछ।समग्रमा एउटा बालकको बोली भाषा,उठिस्, लवाइखवाइ,संस्कार,संस्कृति,चालचलन,रीतिरिवाज, आदरअनादर,मान सम्मान आदि देखि लिएर पेसा तथा व्यवसायको ज्ञान समेत प्रदान गर्ने शिक्षक वा गुरु त्यही घरपरिवार,समाज र समुदाय नै हो।  बालक अनुशासित, सभ्य,संस्कारी र असलआचरणहरुले भरिएको छ वा छैन भन्ने कुरा उ हुर्के बढेको घरपरिवार,साज र समुदायमा निर्भर गर्दछ ।अत: हामी कुन पारिवारिक पृष्ठभूमि,समाज एवम् समुदाय बाट बालबालिकाहरू हुर्काइरहेका छौँ भन्ने कुराले पनि बालबालिकाहरूको भविष्य निर्धारण हुने गर्दछ। बालबालिकाहरूका लागि यी क्षेत्रहरु अनौपचारीक गुरु एवम् शिक्षकहरू नै हुन् जुन हाम्रो मूल्याङ्कनमा नपर्ने भएर मात्रै हो।

अव रह्यो प्रसङ्ग विद्यालय,क्याम्पस र विश्वविद्यालयको औपचारिक शिक्षा र त्यहाँका शिक्षक,प्राध्यापक र प्रशिक्षकहरूको।बालबालिकाहरूको औपचारिक शिक्षाका केन्द्र मानिने यी क्षेत्रहरू जसले बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन नै गर्न सकिरहेका छैनन् यिनीहरू सामान्यतया दुनियाँको निगरानीमा निकै रहने गर्दछन्।यी क्षेत्रमा राज्यको लगानी प्रभावकारी देखिदैन्।कुनै बेला जता कतै वर्षातका च्याउ झैँ खोलिएका विद्यालय,क्याम्पस र विश्वविद्यालहरुका पठनपाठनहरु मात्रै प्रभावकारी छैनन् कि यहाँ राज्यको शैक्षिक नीति तथा कार्यक्रम नै युगान्तकारी देखिदैन्।शिक्षा कोरा किताबी ज्ञानमा अर्थात् सिद्धान्तमा  सीमित रहेको जस्तो प्राय:देखिन्छ।प्राविधिक शिक्षा सर्वसाधारणको पहुँचमा देखिँदैन।युगानुकूलको,सिपमूलक,परिवर्तनकारी एवम् रोजगारोन्मुख शिक्षा पद्धतिको निकै खाँचो महसुस भइसकेको अवस्था छ। यहाँ खोलिएका उल्लेखित शिक्षण संस्थाहरूको कक्षाकोठामा युगानुकूलको भौतिक सुविधा छैन।दक्ष तथा  प्राविधिक जनशक्ति छैन।यति मात्रै नभई कयौँ ठाउँमा खोलिएका विद्यालय,क्याम्पस र विश्वविद्यनालयहरुमा त पढ्न आउने विद्यार्थीहरू समेत छैनन्।

विद्यालय छ, क्याम्पस छ, विश्वविद्यालय पनि छ,तर यहाँ कतिमा विद्यार्थीहरू नै छैनन् त शिक्षकहरू मात्रै छन् भने अनि कतिमा त विद्यार्थीहरू छन् तर शिक्षकहरू नै छैनन्।यसरी विद्यार्थी नभएका विद्यालय,क्याम्पस र विश्वविद्यालयहरू समायोजन एवम् मर्ज गरौँ,शिक्षक नभएका विद्यालय,क्याम्पस र विश्वविद्यालयहरूमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको व्यवस्था गरौँ भन्दा अझैँ राजनीतिक दबाब,रवाफ र भनसुनका कारण अवरोध सृजना भई उल्लेखित संस्थाहरू समायोजन तथा मर्जका कार्यहरू अघि बढाउन सकिरहेको अवस्था छैन।लामो समय सम्म सैद्धान्तिक एवम् कोरा किताबी ज्ञानमा केन्द्रित एकैनासको शैक्षिक कार्यक्रम देशमा विद्यमान देखिन्छ।राज्यले युगानुकूलका शैक्षिक गतिविधिहरूलाई बढवा दिन सकिरहेको छैन।बालबालिकाहरूको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने देशको शिक्षा प्रणाली बेलाबेलामा फेरिनु पर्ने कुरामा राज्य निरीह देखिन्छ।कुनै बेला आवश्यकता नै महसुस नगरी राजनीतिक पहुँच र भनसुनका भरमा खोलिएका विद्यालय,क्याम्पस र विश्वविद्यालयहरू चाहिने भन्दा ज्यादा मात्रै छैनन् यो सँगै अनावश्यक र खर्चिला पनि छन्।उल्लेखित पवित्र संस्थाहरू कसै कसैको भर्ती केन्द्र र मानो खाने केन्द्रका रूपमा यथावत् राखिरहँदा राज्यको ठुलो धनराशि व्यर्थै खेर मात्रै गइरहेको छैन केही थान अनुत्पादनमूलक शैक्षिक बेरोजगार वृद्धिको थलो पनि बनिरहेका छन्।

आलेखको आशय

navjiwan hospital

यस आलेखको माध्यम बाट बालकले जीवनमा थुप्रै कुराहरूको सिकाइ गर्दै गर्दा यहाँ घरपरिवार,समाज र समुदायका प्रभावका कुराहरू मात्रै उठान गर्न खोजिएको छैन। देशको समग्र शैक्षिक आस्थाको समेत आंशिक आलोचना गर्न खोजिएको छ।अझैँ आलोचनामा मात्रै यो आलेख सीमित राख्न खोजिएको छैन। यो सँगै राज्यले शिक्षाका क्षेत्रमा के के गर्न सकेमा सान्दर्भिक रहन्छ भन्ने कुरालाई पनि उठान गर्न खोजिएको छ।

देशको शिक्षा नीति परिवर्तनशील हुन्छ भन्ने कुरालाई मध्यनजर गर्दै युगानुकूलको शैक्षिक गतिविधि केन्द्रित शिक्षा नीति र कार्यक्रमलाई राज्यले प्राथमिकतामा राख्नु पर्ने देखिन्छ।हालसम्म देशभर जथाभाबी खोलिएका विद्यालय,क्याम्पस तथा विश्वविद्यायहरुको आवश्यकता बोध गरी सो अनुरूपको व्यवस्थापन गर्नुपर्दछ। भर सक राष्ट्रिय स्तरमा एउटा र प्रदेश स्तरमा एउटा एउटा विश्वविद्यालयको व्यवस्थापन गरिनु पर्दछ।हिमाल र पहाडका पातलो मानव बस्ती तथा कम जनसङ्ख्या भएका र विद्यार्थी सङ्ख्या कम भएका पालिका वा नगरपालिकाहरुमा कक्षा १२ सम्मको पठनपाठनका लागि आवासीय सुविधा सहितको न्यूनतम एक सम्पन्न अर्थात् व्यवस्थित माध्यमिक विद्यालय हुनुपर्दछ। त्यस्तै आवासीय सुविधा सहितको कक्षा ६ देखि ८ सम्मको एक सम्पन्न आधारभूत विद्यालय र आवश्यकता अनुसार कक्षा १ देखि ५ सम्मको पठनपाठनका लागि प्राथमिक तथा आधारभूत विद्यालयहरूको व्यवस्थापन गर्नुपर्दछ।विद्यार्थी सङ्ख्या ज्यादै न्यून भएका शिक्षण संस्थाहरूको समायोजन तथा मर्ज गरी दिनुपर्दछ। विद्यार्थी सङ्ख्या पुग्दो भएका शिक्षण संस्थाहरूमा पर्याप्त दक्ष तथा तालिम प्राप्त शिक्षक,प्राध्यापक तथा प्रशिक्षकहरूको व्यवस्थापन गर्नुपर्दछ। तालिम तथा प्रशिक्षण मार्फत शिक्षक,प्राध्यापक तथा प्रशिक्षकहरूलाई प्रविधि,पेडागोजी र परिवर्तित ज्ञानसँग निरन्तर साक्षात्कार गराउनुपर्दछ।

यो सँगै उसलाई सिकाइका लागि प्रेरणा दिने,आवश्यक हौसला प्रदान गर्ने,सिकारुलाई मार्ग निर्देशित गर्ने एवम् ज्ञानलाई माया गर्ने व्यक्तिको रूपमा स्थापित हुने अवसर प्रदान गर्नुपर्दछ।शिक्षण एवम् सिकाइका क्रममा शिक्षक,प्राध्यापक तथा प्रशिक्षकहरूले निरन्तर प्रभावकारी कक्षा शिक्षण गर्ने,विद्यार्थीहरूलाई पढाइमा प्रेरित गर्ने,नोट बनाउन लगाउने,पाठको पुनरावृत्ति गराउने र विद्यार्थीहरूको सिकाइको अवस्थाको जाँच गरी आवश्यक पृष्ठपोषण दिने कार्यमा निरन्तर लागि परेमा सिकाइ उपलब्धि वृद्धिमा बल पुग्ने र विद्यार्थीका परीक्षाका नतिजाहरू राम्रो हुने देखिन्छन्।यति मात्रै नभई अबका विद्यालय,क्याम्पस र विश्वविद्यालयहरूका पठनपाठनहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका हुनु आवश्यक छ ताकि यहाँको उत्पादित जनशक्ति विश्वको कुनै पनि मुलुकमा खपत हुन सकोस् र उसले बेरोजगार अर्थात् बेकामे बन्नु नपरोस्।सामान्यतया हाम्रा शिक्षण संस्थाहरूमा असल व्यवस्थापन र कुशल प्रशासन सहितको आधुनिक शैक्षणिक क्रियाकलापहरू पर्याप्त मात्रामा सञ्चालन हुनु जरुरी छ।मापदण्ड अनुरूपको कक्षाकोठाको आकार अनि त्यहाँ भित्रको सजावट र व्यवस्थापन सिकाइका लागि निकै लोभ लाग्दो बनाउनु जरुरी छ।

हरेक कक्षाकोठाहरूमा प्रविधि र पेडागोजीले युक्त दक्ष तथा तालिम प्राप्त विषयगत शिक्षकको प्रवेश,कक्षाकोठामै पर्याप्त अध्ययन गर्न मिल्ने बुक कर्नर सहितका पाठ्यसामग्री तथा सन्दर्भ सामाग्रीहरू,प्रोजेक्टर सहितका आकर्षक स्मार्ट बोर्डहरू,विद्यार्थी सङ्ख्याको अनुपातमा पर्याप्त शिक्षकहरू,व्यवस्थित फर्निचरहरू, शौचालयहरू, खेलमैदान, व्यायामशाला, प्रयोगशाला, म्युजिक कक्ष लगायत विद्यार्थीहरूको उमेर समूह अनुसारका विभिन्न खेल सामाग्रीहरूको पर्याप्त व्यवस्थापन हुनु जरुरी छ। यति सम्मका आवश्यकता पूरा गर्न तिनै तहका सरकारहरू आ-आफ्ना ठाउँमा जिम्मेवार हुन सकेमा यहाँका शिक्षण संस्थाहरू बाट विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि हुने र राज्यको लगानीको प्रतिफल राम्रो देखिने सम्भावना रहन्छ।

सारांश

बालबालिकाहरू देशका भविष्य हुन्। उनीहरू माथि गरेको लगानी कहिल्यै खेर जाँदैन।देशको सुन्दर भविष्य चाहनेहर कसैले बालबालिकाहरू माथि लगानी गर्न सक्नु पर्दछ। घरपरिवार समाज समुदाय र राज्यले देशको सुन्दर भविश्यका लागि बालबालिकाहरू माथि पर्याप्त लगानी गरे मात्रै सो सौन्दर्यताको परिकल्पना पूरा हुने कुरा सुनिश्चित हुन्छ।संघीय संरचनामा देश गएको छ। तीन तहका सरकारहरू बनेका छन्। बालबालिकाहरूले सिकाइ गर्ने शिक्षा क्षेत्रको सुधार अपरिहार्य छ।देशै भरी विद्यालय,क्याम्पस र विश्वविद्यालयहरू अस्तव्यस्त खोलिएका छन्।बालबालिकाहरूका सिकाइका यी प्रमुख थलोहरुको समायोजन व्यवस्थापन र स्तरोन्नति गर्न निकै आवश्यक देखिन्छ।शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरी बजारको आवश्यकता अनुसारको जनशक्ति उत्पादन कार्यमा केन्द्रित रहनु पर्ने देखिन्छ। यसका लागि राज्यले गुणस्तरीय,सीपमूलक एवम् रोजगारी केन्द्रित शिक्षाको सुनिश्चितता गर्नु छ।अर्को शब्दमा भन्नु पर्दा दक्ष तथा उत्पादनशील जनशक्तिको विकासमा केन्द्रित भई निरन्तर लागि पर्नु तिनै तहका सरकारहरूको निकै ठुलो जिम्मेवारी देखिन्छ।

                                             मिनबहादुर रोकाया (मा.वि.शिक्षक)  

                            श्री घण्टेश्वर माध्यमिक विद्यालय,जोरायल-४,कुँडिकोट,डोटी