खाेज्नुहाेस

अत्तरिया बसपार्कका नयाँ ठेकेदारले बढी शुल्क लिएको गुनासो

Image
file photo: attariya buspark

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कको पार्कीङ शुल्क उठाउने ठेकेदरले बढी शुल्क लिएको गुनासो गरिएको छ । चालु आर्थिक वर्षमा फेरिएका ठेकेदारले यसअघिका ठेकेदारले लिदै आएको शुल्कभन्दा फरक मापदण्ड बनाएर बढी शुल्क लिएको गुनासो गरिएको हो । अत्तरिया बसपार्कमा चालु आर्थिक वर्षको लागि पार्कीङ शुल्क उठाउन जय भवानी कन्स्ट्रक्सन प्रालि घोडाघोडी संग ठेक्का सम्झौता गरेको छ । उक्त कन्स्ट्रक्सन सँग नगरपालिकाले पार्कीङ शुल्क उठाउन १ करोड २६ लाख १५ हजार ९३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार लामो दुरीका सवारी साधनबाट भ्याट सहित १५० र छोटो दुरीका सवारीसाधनबाट भ्याट सहित ८० रुपैयाँ पार्कीङ शुल्क उठाउन पाउने मापदण्ड तोकिएको छ ।

उक्त मापदण्ड अनुसार यसअघि जोगबुढा, बागछेडा चल्ने सवारी चालकले ८० रुपैयाँ लिने गरिएकोमा हाल १५० लिन लागिएको गुनासो गरेका हुन । उनीहरुले १ सय किलोमिटर भन्दा कम दुरीलाई छोटो दुरी मापन गरिएकाले यसअघि आफूहरले ८० रुपैयाँ मात्रै तिर्दै आएको भएपनि हाल १५० लिन थालिएको जनाएका छन ।

attariya hospital

जीपका चालक अमर मगरले अत्तरिया बसपार्कमा मनोमानी शुल्क उठाउन थालिएको बताए । ‘विपीनगर, जोगबुडा ८० किलोमिटर पनि छैन । छोटो दुरी भएकाले यसअघि हामीले ८० रुपैयाँ मात्रै पार्कीङ शुल्क दिदै आएका थियौ’ उनले भने ‘अहिले लामो दुरी भनेर १५० पार्कीङ शुल्क लिइरहेका छन ।’

navjiwan hospital

उनले बसपार्कमा पार्कीङ नगरेका सवारी साधनबाट पनि तेघरीमा बसेर पार्कीङ शुल्क उठाउन थालिएको बताए । उनले आफ्नो निजी सामान बोक्ने गाडीलाई पनि तेघरीमा रोकेर अत्तरिया बसपार्कको पार्कीङ शुल्क तिराउन लगाइएको बताए ।

अत्तरिया – जोरायल रुटमा जीप चलाउँदै आएका विनोद थापा मगरले पनि यसअघि ८०रुपैयाँ लिदै आइएको बसपार्कको शुल्क अहिले १५० रुपैयाँ लिन थालिएको बताए । उनले एक्कासी असार ३ गते पछि शुल्क बढाएको बताए ।

यता नगरपालिकाले भने पार्कीङ शुल्कमा कुनै हेरफेर नगरिएको जनाएको छ । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले चालु आर्थिक वर्षका लागि गरिएको सम्झौतामा पनि पुरानै दर तोकिएको बताए । उनले नयाँ ठेकेदारले बढी शुल्क लिएको बारेमा बुझ्ने बताए ।

जय भवानी कन्स्ट्रक्सन प्रालिका संचालक भुवन भट्टराईले पार्कीङ शुल्क पुरानै भएपनि लामो दुरी र छोटो दुरी निर्धारणमा फरक परेको बताए । ‘पहिलेका ठेकेदारले आफ्नो किसिमले लामो दुरीका सवारी साधनबाट पनि छुट दिएर छोटो दुरीको शुल्क लिइरहनु भएको थियो । हामीले ठेक्का सम्झौता अनुसार पैसा उठाउँदा विरोध भएको हो’ उनले भने ‘हामीले धनगढी महेन्द्रनगर छोटो दुरीमा राखेका छौ । डडेल्धुराका जोगबुढा, विपीनगर, जोरायलको हामीले लामो दुरी अनुसार पार्कीङ शुल्क काटेका हौ ।’

उनले नगरपालिका सँग गरेको सम्झौतामा १ सय किलोमिटर सम्मलाई छोटो दुरी हुने भनेर कुनै उल्लेख नगरिएको बताए । ‘पहिलेका ठेकेदारहरु सँगको सम्झौतामा त्यस्तो खुलाइएको थियो तर, अहिले त्यस्तो केही छैन’ उनले भने । उनले बसपार्क बाहिर चेकिङ गरिएको भएपनि शुल्क नउठाइएको दाबी गरे । उनले भने ‘धनगढी रोडमा पहिले देखि बाहीरबाटै पार्कीङ शुल्क लिने गरिएको थियो । त्यही अनुसार चलेको छ । अन्य ठाउँबाट हामीले अहिले पार्कीङ शुल्क उठाएका छैनौ ।’