अत्तरिया – शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक रोकिएको बारेमा निगरानी राख्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । समितिले बुधवार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालयको विधेयक प्रतिनिधि सभामा पेस हुन किन र कसका कारण रोकिएको हो भन्ने बारेमा प्रधानमन्त्रीलाई निगरानी राख्न आग्रह गरेको हो ।
ज्ञापन पत्रमा विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस हुनका लागि प्रतीक्षारत रहेकोले हाल किन कसका कारण रोकिएको भन्ने बारेमा निगरानी गर्दै विधेयक तत्काल सांसदमा पेस गर्न आग्रह गरिएको छ ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर रहेको ज्ञापन पत्रमा संसद्को यही अधिवेशनमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सम्बन्धी विधेयक पास गर्न माग गरिएको छ ।


यस्तै ज्ञापन पत्रमा ६ सय शैय्याको अस्पताल सञ्चालनको माग गरिएको छ ।
‘यद्यपि ६०० सैयाका लागि निर्मित भएको अस्पतालको संरचनामा हाल १०० शैैय्या मात्र सञ्चालनमा आइरहेको र त्यो पनि पूर्वाधार बिना सञ्चालनमा आउनु दुःखद कुरा भएको जानकारी गराउन चाहन्छौँ’ ज्ञापन पत्रमा भनिएको छ ‘ कैलालीको गेटामा सञ्चालनमा रहेको १०० शैय्याको ओपिडीले सुदूरपश्चिमेलीहरुको भावना तथा आवश्यकताको परिपूर्ति नगर्ने जानकारी गराउँदै यथाशीघ्र ३०० शैय्या हुँदै ६०० शय्याको पूर्णकालीन अस्पताल सञ्चालनका लागि सङ्घीय सांसदबाट पनि स्वीकृत हुने कुरामा हामी पूर्ण विश्वासका साथ प्रतीक्षारत रहेको ब्यहोरा यसै ज्ञापन–पत्र मार्फत पेस गर्दछौँ ।’
ज्ञापन पत्र बुधवार संघर्ष समितिको टोलीले कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई बुझाएका थिए ।

















