अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ मा कोल्मुडा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । नगरपालिकाले वडाको विकट क्षेत्र कोल्मुडामा उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
स्थानियबासीहरुलाई स्वास्थ्य सेवामा सहजता पु¥याउने लक्ष्यका साथ स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईएको नगरप्रमुख विरेन्द्र भट्टले जानकारी दिए । उनले भौगोलिक विकटता भएको स्थानका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ भन्ने सोचेर नगरले उक्त कार्य गरेको बताए । ‘यहाँको दाजुभाई दिदीबहिनीहरुलाई स्वास्थ्यको क्षेत्रमा अप्ठ्यारो नहोस भनेर जुन उद्देश्य हामीले बोक्यौ, त्यसको पुर्ण रुपमा तपाईहरुले सदुपयोग गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ’ उनले भने ।


नगरपालिकाले स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको समेत उनले बताए । उनले विकट क्षेत्रहरुमा सहज प्रसुती सेवाका लागि बर्थिङ सेन्टरको समेत योजना नगरले बनाएको बताए । त्यसै अन्तरगत चालु आर्थिक वर्ष भित्र नै वडा नं. १२ को विकट क्षेत्रमा बर्थिङ सेन्टर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको समेत उनले बताए । उनले आधारभुत स्वास्थ्य सेवा केन्द्रले औषधीजन्य सामग्रीहरुमा कमीकमजोरी हुन नदिने बताए ।
वडाध्यक्ष भीम बहादुर खड्काले गोदावरी – १२ स्वास्थ्यको हिसाबले एकदमै पछाडी परेको वडा भएको बताए । उनले अझै पनि वडाका केही स्थानमा नागरिकहरुले सिटामोलका लागि ८/९ किलोमिटर टाढा जानुपर्ने बाध्यता रहेको बताए । उनले उक्त क्षेत्रमा आधारभुत स्वास्थ्य सेवा अनिवार्य आवश्यक भएकाले नगरसँगको सहयोगमा उक्त कामको सुरुवात गरिएको बताए । ‘यो वडा स्वास्थ्यका हिसाबले एकदमै पछाडी परेको वडा हो, यहाँका नागरिकले अझै पनि सिटामोल खान ८/९ किलामिटर हिडेर गौडी जानुपर्ने बाध्यता छ, त्यहाँ नभए अत्तरिया जानुपर्छ’ उनले भने ‘कतिपयको त उपचारको क्रममा जादै गर्दा बाटोमै निधन भएको अवस्था छ, त्यसैले यहाँ आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्न आवश्यक थियो ।’
उनले नगरपालिकाले उक्त स्थानमै बर्थिङ सेन्टरका लागि २० लाख रुपैया विनियोजीत गरिसकेको समेत बताए । उनले त्यसपश्चात भने वडालाई ल्याब र एम्बुलेन्सको आवश्यकता अनिवार्य रहेको बताए । उनले एम्बुलेन्सको अभावका कारण यहाँका नागरिकहरुले सास्ती भोग्नुर्ने अवस्था रहेको समेत बताए । उनले बाटोको अवस्था नाजुक भएकाले उक्त स्थानसम्म एम्बुलेन्स आउँदा सम्म विरामीको ज्यानै जानसक्ने अवस्था भएकाले एम्बुलेन्स उपलब्ध गराउने विषयमा विचार पु-याउन उनले नगरप्रमुखलाई आग्रह गरे । उनले वडामा धेरै जसो स्वास्थ्यका कार्यहरु भएको समेत बताए । उनले सिटामोल तथा जिवनजल नपाईने स्थानमा धेरै जसो औषधीहरु निःशुल्क पाईनु गर्वको कुरा भएको बताए । उनले आगामी दिनहरुमा पनि स्वास्थ्य सेवाका लागि आफु निरन्तर लागिरहने बताए ।
उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रमा १ जना छैटौ तहका डाक्टर सहित ३ जना कर्मचारीहरु रहेका छन । उक्त स्वास्थ्य केन्द्रमा आधारभुत स्वास्थ्य सेवाका सबै कुराहरु उपलब्ध हुने डाक्टर हेमराज भट्टले जानकारी दिए । उनले सो अन्तरगत १५ वर्ष मुनीका बालबालिकालाई खोप, टिटि खोप, गर्भवती महिलाको जाँच, आईरन चक्की, परिवार नियोजनका अस्थायी साधनहरु, बालबालिकालाई हुने विरामीहरु, पोषणको वृद्धि अनुगमन, ओपिडि सेवा लगायतका सेवाहरु दिईने डाक्टर भट्टले बताए । उनले उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ४२ किसिमका औषधीहरु निःशूल्क उपलब्ध गराईने समेत बताए । उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बिच बुधबार नगरप्रमुख भट्टले उद्घाटन गरेका थिए ।















