टीकापुर – कैलालीको टीकापुर जेसिजको सप्ताहव्यापी कार्यक्रम शनिवार सम्पन्न भएको छ । टीकापुर स्थित १४ जिआर फुटबल एकेडेमीका खेलाडीहरूलाई फुटबल लगायतका खेलकुद सामग्री वितरण गर्दै सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको हो । एकेडेमीले विभिन्न उमेर समूहका १ सय ५० बढी बालबालिकाले फुटबल प्रशिक्षण लिँदै आएका छन् । उनीहरूलाई सुदूरपश्चिम स्पोर्टस् एकेडेमीका पूर्व कप्तान एवं एन्फाका फुटबल प्रशिक्षक गजेन्द्र शाहीले प्रशिक्षण दिँदै आएका छन् ।

कार्यक्रममा टीकापुर जेसिजका संस्थापक अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुर सिंह रावलले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सकारात्मक पहल हुनेमा विश्वास व्यक्त गरे ।

टीकापुर जेसिज वर्ष २०२४ का अध्यक्ष रुपकबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर जेसिजका पूर्व अध्यक्ष द्वय राजकुमार हमाल, टेकराज रेग्मी, जेसिजका मानार्थ सदस्य पृथ्वीराज ढुङ्गाना, फुटबल प्रशिक्षक गजेन्द्र शाही ‘गज्जु’, अध्यक्ष सल्लाहकार कमल सुवेदी लगायतले मन्तव्य राखेका थिए ।


















