एजेन्सी- अमेरिकाको उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो नियन्त्रणबाहिर गएपछि सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश दिएको छ । २५ हजार जनाभन्दा धेरै मानिसलाई तुरुन्तै आफ्नो घर खाली गर्न निर्देशन दिइएको सञ्चारमाध्यम एनबीसीले जनाएको छ ।

१४ सय जना अग्नि नियन्त्रक र सयौँ दमकल तथा हवाई जहाजबाट पानी खन्याउँदा पनि डढेलो निभेको छैन । अमेरिकामा केही ठाउँमा गर्मीले रेकर्ड तोडिरहेको बेलामा क्यालिफोर्नियाको आगलागीले जनजीवन झनै अस्तव्यस्त बनाएको छ । तापक्रम ४६ डिग्री सेल्सियस पुगेको छ । तीव्र हावाहुरी र गर्मीका कारण आगो निभाउने प्रयास असफल भइरहेको समाचार संस्था एएफपीले जनाएको छ ।

अहिलेसम्म १ हजार ४ सय हेक्टरभन्दा धेरै क्षेत्र आगलागीले नष्ट भएको छ । क्यालिफोर्नियामा यसअघि पनि आगलागीका कारण पटक पटक ठूलो क्षति भएको छ । सन् २०१८ मा भएको आगलागीका कारण ८५ जनाको ज्यान गएको थियो ।


















