खाेज्नुहाेस

सेतीको पानी उकालो चढ्दै : तिर्खाएका दिपालयका बस्तीमा राहत पुग्ने

Image

अत्तरिया– ‘धान पैचोँ सबै ठाउँ देखे, पानी पैचोँ तिखा’ डोटीमा यो उखानले सधै स्थान बनाईरहन्छ । यो एउटा उखान मात्रै नभई दिपायल सिलगढी नगरपालिका– १ मा रहेका गोसेडा, तिखा, सिरखोली लगायतका गाउँहरुको वास्तविकता हो । सो क्षेत्रमा खानेपानीको हाहाकार यति सम्म छ की पानीकै लागि राती १२ बजेदेखी नै पालो कुर्नुपर्ने अवस्था छ ।

खानेपानीको चरम अभावले दैनिक जीवन मात्र होइन, शिक्षा र आर्थिक गतिविधिसमेत प्रभावित हुँदै आएका छन् । विद्यार्थीहरूलाई पढाइभन्दा पानीको चिन्ता बढी हुने गरेको छ । विद्यालय जाँदा पानीको पालो जोगाउन भाँडा राखेर जानु र फर्केर पानी ल्याउनु उनीहरूको बाध्यता बनेको छ । दशकौँदेखि निरन्तर पानी अभाव झेल्दै आएका यी गाउँहरूबाट बसाइँसराइको दर पनि बढ्दो छ, जसको मुख्य कारण नै खानेपानीको संकट हो ।

attariya hospital

तर अब भने त्यो समस्या समाधान हुने तरखरमा पुगेको छ । नगरपालिकाले सेती नदीको पानीलाई उकालो चढाउदै वडाबासीको खानेपानी समस्या समाधान गर्न लागेको हो । विश्वबैंकको लागतमा लिफ्टिङ विधिबाट करिब ७०० घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य अनुसार खानेपानीका ट्यांकी निर्माण गर्ने तथा पाईप बिछ्याउने कार्य भैरहेका छन् । सो क्षेत्रमा खानेपानी पु¥याउने योजना अनुरुप दिपायल सिलगढी नगरपालिकाले धनगढीको किनारा निर्माण सेवा एण्ड कम्पनि प्रा.ली. सँग ठेक्का सम्झौता गरी काम सुरु गरिसकेको छ ।

सो खानेपानी निर्माण योजनाका लागि ठेकेदार कम्पनिले घटिघटाउमा १२ करोड ८३ लाखमा ठेक्का सम्झौता गरेको छ । ठेकेदार सुवास बोहराले खानेपानी योजनाको करिब ६० प्रतिशत भन्दा बढी काम सम्पन्न भैसकेको बताए । उनले २०८२ असोजमा ठेक्का भई काम सुरु गरेको बताउदै २०८३ को दशैभित्र खानेपानी वितरण गर्ने योजना रहेको बताए । उनका अनुसार नगरपालिकासँग भने २ वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको छ । लिफ्टिङ विधिमार्फत दिपायलमा रहेको सेती नदीबाट वडा नं. १ का करिब ७०० घरधुरीलाई खानेपानी पु¥याउने गरी काम भैरहेको उनको भनाई छ ।

navjiwan hospital

खानेपानीको इष्टिमेट अनुसार सेती नदीबाट वडा नं. १ मा रहेको गोसेडा गाउँको माथी ट्यांकी निर्माण गरी सबै स्थानमा पानी वितरण गरिनेछ । नदीबाट सो स्थान सम्म पानी पु¥याउनका लागि ४ वटा ट्यांकी निर्माण भैरहेको ठेकेदार बोहराले बताए । उनले २ वटा ट्यांकीहरु निर्माणको काम सम्पन्न भैसकेको र बाँकी २ वटा ट्यांकी निर्माणको कार्य पनि करिब ५० प्रतिशत सम्पन्न भैसकेको बताए । उनले ट्यांकी निर्माण मात्रै नभई पाईपलाईन बिछ्याउने कार्य पनि भैरहेको बताए । उनका अनुसार हालसम्म पाईप बिछ्याउने कार्य करिब ६० प्रतिशत सम्पन्न भैसकेको छ ।

खानेपानी योजना निर्माणको कार्य भैरहदा स्थानियहरुमा पनि खुसियाली छाएको छ । गोसेडाका स्थानीय पुस्कर साउँदले लिफ्टिङ प्रविधिबाट पानी ल्याउने योजना सुरु भएको खबरले गाउँमा उत्साह थपिएको बताए । उनले आफूहरुको मुख्य समस्या नै खानेपानी रहेको बताउदै खानेपानी भए धेरै कुराहरु गर्न सकिने बताए । ‘यहाँ हालसम्म खानेपानीको नै समस्या छ, त्यो समस्याको समाधानका लागि लिफ्टिङ विधिमार्फत पानी ल्याउने कार्य भैरहेको छ’ उनले भने ‘यो योजना सम्पन्न भए वडाबासीहरु कृषि कार्य गरेर पनि जिविकोपार्जन गर्न सक्छन् ।’

अर्का स्थानिय लक्ष्मण साउँदले खानेपानीका कारण भोग्दै आएको समस्या अब भने समाधान हुने चरणमा पुगेको बताए । उनले आफूहरुको लामो समयदेखीको पिडा सम्बोधन भैरहेको देख्दा खुसी लागेको बताए ।

सो खानेपानी योजना निर्माण भए दशकौँ देखी खानेपानीको मार झेलिरहेका वडाबासीहरुले शुद्ध खानेपानी पाउने नगरप्रमुख बाजी सिँ खड्का (बिजय) ले बताए । उनले वडाबासीहरुको समस्यालाई ध्यानमा राखेर नै विश्व बैंकसँग सहकार्य गरी खानेपानीका लागि बजेट ल्याउन सकिएको बताए । उनले नगरपालिकाको सहकार्य र समन्वयमा विश्व बैंकको लगानीमा अहिले सो क्षेत्रमा खानेपानी निर्माणको कार्य भैरहेको बताए । उनले आफूले मुख्य गरी नगरपालिकाभित्रको खानेपानीको समस्यालाई समाधान गर्ने तिर नै ध्यान दिएको बताए । ‘मेरो सानातिना पटके योजनातिर ध्यान गएन, मैले मेरो कार्यकालमा केही महत्वपुर्ण ठुला कार्य गर्छु भन्ने योजना बनाएको थिए’ उनले भने ‘त्यसको उपज एउटा वृहत खानेपानी नै हो ।’

नगरप्रमुख खड्काका अनुसार यो बृहत् खानेपानी आयोजनाले वडा नं. १ का सम्पूर्ण बासिन्दालाई शुद्ध र नियमित पानी उपलब्ध गराउनेछ । साथै, यसले स्थानीय कृषि उत्पादन, सरसफाइ, स्वास्थ्य र जीवनस्तरमा समेत सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । लामो समयदेखि कष्टकर जीवन बिताइरहेका गोसेडा, तिखा र सिरखोली लगायतका गाउँका बासिन्दाका लागि यो योजना केवल खानेपानीको पहुँच मात्र नभई समृद्ध भविष्यतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।