अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका आलु उत्पादक किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको ५० प्रतिशत अनुदानमा नगरमा रहेका आलु उत्पादन गर्ने किसानहरुलाई विभिन्न कृषि सामग्रीहरु वितरण गरिएको हो ।
नगरभित्र रहेका आलु उत्पादन गर्ने किसानहरुलाई व्यवसायमा सहजताका लागि कृषि सामग्री वितरण गरिएको किसान जागरण आलु उत्पादन समन्वय समितिका संयोजक नारायण डगौराले जानकारी दिए । उनले कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा नगरको वडा नं. ४, ६, ७, ८, ९ र १० वडाका आलु उत्पादक किसानहरुलाई सामग्री वितरण गरिएको बताए । उनका अनुसार कृषि ज्ञान केन्द्र कैलालीको २५ लाख र किसानहरुको २५ लाख लगानीमा कुल ५० लाख बराबरका सामग्री र आलुको बिउहरु किसानहरुलाई वितरण गरिएको हो ।


जसमा मिनि टिलर, डिजिटल तराज, पानी तान्ने मोटर, डेलिभरी पाईप, स्प्रे ट्यांकी, फरुवा लगायतका सामग्रीहरु रहेको उनले बताए । उनले उक्त सामग्रीहरु उत्पादन र खेती को आधारमा अनुमान गरेर प्रत्येक वडामा मिलाएर वितरण गरिएको बताए । उनले फरुवा र स्प्रे ट्यांकी सबै किसानलाई पु¥याउने गरी कोसिस गरेको पनि बताए ।


सोमबार एक कार्यक्रमका बिच उक्त सामग्रीहरु कृषकहरुलाई वितरण गरिएको थियो । समितिका संयोजक डगौराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख हरि प्रसाद पनेरु रहेका थिए । कार्यक्रममा बोल्दै पनेरुले किसानहरुलाई कृषिको यान्त्रीकरणमा सहयोग गर्ने हिसाबले कार्यक्रम ल्याईएको बताए । उनले आलु उत्पादनका सवालमा तथ्यांकमा समितिले बढी ध्यान दिन आवश्यक रहेको बताए । ‘हामी उत्पादन त गर्छाै तर हामी कति उत्पादन गर्छाै, कति फाईदा ग-यौ, आगामी दिनमा बढाउने की नबढाउने भन्ने कुराहरुको लेखाजोखा व्यवस्थीत तरिकाले हुनुपर्दछ’ उनले भने ।

उक्त कार्यले समुहमा गतिशिलता पनि ल्याउने उनले बताए । उनले विशेष गरेर यान्त्रीकरण भन्दा पनि ज्ञान केन्द्रले उत्पादनमा बढी जोड दिने उद्देश्यले यस्ता अनुदानका कार्यक्रमहरु ल्याउने गरेको बताए । उनले व्यवसायीक रुपमा कसरी जाने र उत्पादनलाई बजारसँग जोड्ने काम ज्ञान केन्द्रले गरिरहेको बताए । उनले व्यवसायीक रुपमा राम्रो उत्पादन गरे ज्ञान केन्द्रले अझै पनि सहयोग गर्न तयार रहेको बताए ।

यस्तै वडा नं. ७ का वडासदस्य चेत बहादुर ऐरले कृषि ज्ञान केन्द्रले किसानहरुको सहजताका लागि गरिरहेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनहरुमा पनि यस्ता किसीमका अनुदानका कार्यक्रमहरु आउने अपेक्षा रहेको बताए । उनले ज्ञान केन्द्रको सहयोगमा प्राप्त सामग्रीहरुको किसानहरुले सही ठाउँमा उपयोग गर्ने विश्वास लिएको समेत बताए ।

















