खाेज्नुहाेस

गोदावरीको बिच सडकमा जेसिबीले खनियो, जनप्रतिनिधिले भन्छन् ‘आपसमा मिल्नुस्’

Image

अत्तरिया  – करिब ५१ वर्ष अघिदेखि चलनचल्तीमा रहेको कैलालीको एउटा सडकको बिचमा जेसिबिले खनिएको छ । जिल्लाको गोदावरी नगरपालिका – ४ वसन्तपुरमा रहेको कच्ची सडकको बिच भागमा स्थानीय गजैराज भट्टले आफ्नो जमिन भएको भन्दै जेसिबिले खनेका हुन । उनले स्थानीयहरूको आवतजावत नै बन्द हुने गरी सडकको बिच भागमा खनेपछि स्थानीयहरूले बाटोको माग गर्न थालेका छन् ।

सडकको बिच भागमा खनिएपछि आवतजावतमा समस्या भएको स्थानीय ललित भट्टले बताए । उनले विगत २/३ वर्षदेखि उक्त सडकमा विवाद सृजना भएको बताए । ‘आज भन्दा ५१ वर्ष पहिलेदेखि खुलेको यो बाटो त्यति बेला मलामी हिँड्ने बाटो भनेर चिनिन्थ्यो, तर विगत २ वर्षदेखि नाप जाँचको क्रममा जमिन प-यो भन्दै विवादित बनेको अवस्था छ’ उनले भने ‘त्यो अवस्थामा आफ्नो जमिन प¥यो भन्दै आएका जमिनवालाले छिमेकी जमिनवालालाई बोलाएर विवाद सुल्झाउने प्रयास गरे पनि अर्को पक्षले समझदारी नगर्दा उहाँहरूले बाटो खनेर बन्द गरिदिनुभयो ।’ उनले नक्सामा ४२ फिट सडक भए पनि आफूहरूलाई साइकल जाने सम्म बाटो नरहेको बताए ।

add everest academy
attariya hospital

‘हामीले वर्षौँदेखि यो सडकमा हिँड्दै आएका छौ, नापीको नक्सामा पनि बाटोको क्षेत्रफल छुट्टिएको छ’ उनले भने ‘तर यहाँ आफ्नो जमिनमा परेको भन्दै सडकको बिच भागमै खनिएको छ, सडक नै नभएपछि हामीलाई सारै समस्या भएको छ ।’ उनले दुई स्थानीयहरूको विवादका कारण सडक नपाइने समस्या भएको बताए । ‘पश्चिमतिरका जमिनवालाहरूले आफ्नो जमिन कम हुने भन्दै दिन मानिरहेका छैनन्, पुर्वतिरकाले सडक नै आफ्नो जमिनमा भएको भन्दै खनिहाले’ उनले भने ‘अब हामीले के गर्ने, जमिनवालाहरूले आफ्नो भनिरहँदा नक्सामा छुट्टिएको बाटो खै, हामीलाई त्यो बाटो चाहिन्छ ।’

उनले आफूहरूले वडा कार्यालय तथा नगरपालिकामा बाटोको विवाद समाधान गरिदिन निवेदन दिएको भए पनि सुनुवाइ नभएको बताए । ‘२/३ वर्षदेखि बाटोको विवाद छ, यो विवाद सुल्झाईदिनुप¥यो भनेर वडा तथा नगरमा निवेदन दिँदा पनि केही पहल भएको छैन’ उनले भने ‘वडाका जनप्रतिनिधिलाई त एक छिन आईदिनुप-यो भन्दा समेत आफै मिलाउनुस् भन्छन् ।’ भट्टले विगतदेखि चलनचल्तीमा रहेको र नक्सामा समेत ४२ फिट भएको उक्त बाटो नक्सा अनुसार नै नभए पनि आफूहरूलाई आवतजावत मिल्ने सम्मको खुलाई दिन वडा तथा नगरपालिकालाई आग्रह गरे ।

navjiwan hospital

स्थानीय बेलमती देवी ठगुन्नाले बाटो नहुँदा आवतजावत नै बन्द भएको बताइन् । उनले यसअघि पनि आफ्नो जमिनमा परेको भन्दै उक्त सडकमा काँडे तार हालिएको बताइन । ‘दुई दिनसम्म काडेँतार हालिएको थियो, पछि त्यो काडेँतार काटेर बाटो सुचारु गर्दा अहिले अब डोजर लगाएर खनियो’ उनले भनिन् ‘अव त हाम्रो आवत जावत नै बन्द भएको छ, समस्या भयो ।’ उनले आफ्नो जमिन हो भनेर स्थानीय गजैराज भट्टले बाटो बन्द गरेको बत्ताइन । ‘मेरो ७ कट्टा जमिन हो, यता सम्म पर्छ भन्दै डोजर लगाएर सडक खनिदिनुभयो’ उनले भनिन् ‘मलाई पहिला थाहा थिएन, अहिले थाहा पाए भन्छन्, हामीले नम्बरी नै भए पनि बाटो बन्द नगर्नुपर्ने भनेका थियौ, मान्नुभएन ।’

attariya technical collage

उनले जसरी भए पनि बाटोको निकास आफूहरूले चाहेको बत्ताइन । ‘यो भन्दा परको बाटोलाई कुलो भनिन्थ्यो, त्यो बाटो पिच भइसक्यो, तर वर्षौँदेखि चलनचल्तीमा रहेको यो बाटो बनाउन कसैले चासो दिएका छैनन्’ उनले भनिन् ‘हामीलाई कसैको जमिन काट्नु नि छैन, नक्सामा भएको बाटो चाहियो ।’ जति सुकै सरकार आए पनि उक्त सडक निर्माणमा कसैले पनि ध्यान नदिएको उनले बताइन् ।

यता सडक खनेका गजैराज भट्टले आफ्नो जमिनमा परेकाले खन्नुपरेको बताएका छन् । उनले नापी कार्यालय र नगरपालिकाका अमिनहरू ल्याएर नाप जाँच गर्दा सडक आफ्नो जमिनमा परेको थाहा पाएपछि आफूले त्यसो गरेको बताए । ‘अमिनले त्यो क्षेत्र सम्म मेरो जमिन परेको भनेका छन्, गत वर्ष पनि मैले वडाको प्रतिनिधि, टोल बासी सबैलाई राखेर भनेको हु’ उनले भने ‘त्यति बेला सबैले बाटो चाहिन्छ, छुटाउनुपर्छ भने तर अहिले आएर पुरानै अवस्थामा पानी पिच हुन थालेपछि मैले बाटो खनेको हु ।’ उनले पानीको पाइप, नाली, पोल सबै माथि धकेलेर आफ्नो जमिन छानबिन गरिपाउ भनेर वडामा पनि निवेदन दिएको बताए । उनले केही वर्ष पहिले जमिन बेच्दा मात्रै त्यसको बारेमा आफूलाई जानकारी भएको बताए । उनले आफ्नो जमिनमा सडक छ, मिलाउनुस् भनेर भन्दा पनि हुन्छ मात्रै भनेर कसैले मतलब नगर्दा आफूले यो काम गर्नुपरेको बताए ।

वडाध्यक्ष हेम प्रकाश मल्लले आफूलाई त्यसको बारेमा पहिले नै जानकारी आई सकेको भए पनि प्राविधिक कारणले ढिलाइ भएको बताए । उनले नगरका अमिनलाई बोलाएर बाटो एकातिर र जग्गा अर्कोतिर भएको अवस्थामा मिलाउन खोज्दा स्थानीयहरू आफै नमिल्दा समस्या भएको बताए । ‘त्यो सडक पूर्वपट्टि जमिन भएको व्यक्तिकै जग्गामा छ, यो समस्या म अध्यक्ष नहुँदा पनि थियो’ उनले भने ‘गत वर्ष म अध्यक्ष भईसकेपछि पनि त्यो जमिन र बाटो चारैतिर बाट नापेका हौ, सडकको जमिन कता छ भन्ने सबैलाई थाहा छ, तर आफ्नै घर पर्ने भएर होकी के हो, उहाँहरू फर्केर आउँदैनन् ।’ उनले त्यो बाटोको धेरै ठाउँमा त्यस्तो समस्या भएकाले आफूलाई पनि काम गर्न गाह्रो भएको बताए । उनले अब फेरी नगरप्रमुख सहितलाई बोलाएर बाटो छुट्ट्याइने बताए ।

उक्त बाटोको विवाद समाधानका लागि स्थानीयहरूले वडा तथा नगरपालिकामा पत्र समेत पठाएका छन् । तर बाटोको विवाद समाधान हुनुको सट्टा स्थानीयहरू नै सडकबाट वञ्चित हुने अवस्था आएको छ । नजिकको सरकारका रूपमा रहेको वडा सरकारलाई समाधानका लागि आग्रह गर्दा पनि नआएको उनीहरूको गुनासो छ । जनप्रतिनिधिहरूलाई वडाको उक्त सडकको समाधानका लागि भनेर आफूहरूले बोलाएको भए पनि तपाईँहरू मिल्नुस् भन्ने उत्तर आउने गरेको उनीहरूको आरोप छ ।