अत्तरिया- दार्चुलामा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा धनगढीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । व्याँस गाउँपालिकाको सहयोगमा ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत व्याँस-४ सुन्सेरामा शिविर सञ्चालन गरिएको हो ।
प्रदेश प्रहरीका अनुसार सर्वसाधरणहरुलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, नसा, दन्त, स्त्रीरोग, रक्तचाप र मधुमेह जस्ता रोगको जाँच गरिएको छ ।


एकदिने स्वास्थ्य शिविरमा औषधी विरतण एवं स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो । शिविरबाट १५२ जना पुरुष र २४७ जना महिला गरी जम्मा ३९९ जनाले सेवा लिएका बताइएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका निमित्त कार्यालय प्रमुख प्रा.प्रहरी नायव उपरीक्षक डा.नवीन लागेजुको कमाण्डमा शाखा अस्पताल धनगढीबाट खटिएको चिकित्सक टोलीले शिविरमा सेवा प्रदान गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


















