अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ शिवशंकर टोलकी बिना चौधरी घर अगाडिको सडक कालोपत्रे बन्दा एकदमै हर्षित देखिइन । विगत देखी कच्ची बाटो हुँदा हिलो धुलोले सास्ती खेप्नुपरेको स्मरण गर्दै उनले अब त्यस्ता दिनहरू हटेको भन्दै खुसी व्यक्त गरिन ।
‘पहिले पानी जम्ने तथा हिलो हुने गथ्र्याे, अहिले त धेरै सजिलो भएको छ’ उनले भनिन् ‘हिलो धुलो हुँदैन, आवत जावत गर्न एकदमै सहज छ ।’ उनले छोराछोरीहरूलाई विद्यालय पठाउन पनि अहिले सहज भएको बताई । ‘पहिले पानी परेको समयमा हिलो हुने भएकाले छोराछोरीहरूलाई स्कुल पठाउन पनि समस्या थियो’ उनले भने ‘अहिले त्यो समस्या पनि छैन, जे हो विगतको भन्दा एकदमै राम्रो भएको छ ।’ उनले सडक कालोपत्रे हुँदै गर्दा दुई तिर नाली निर्माण भएको भए अझै राहत मिल्ने बताइन ।


सोही ठाउँका जमान सिंह विष्टले कच्ची बाटो भन्दा त कालोपत्रे एकदमै राम्रो भएको बताए । उनले बाटो नराम्रो हुँदा हिँडडुल गर्न गाह्रो भइरहेको अवस्थामा वडाले सडक कालोपत्रे गरिदिएको भन्दै वडालाई धन्यवाद ज्ञापन गरे । उनले पनि सडकमा नाली बनेको भए अझै राम्रो हुने प्रतिक्रिया दिए । ‘बाटो त बनेको छ, खुसी छौ, तर नाली भएको भए अझै राहत हुन्थ्यो’ उनले भने ‘अहिले नाली बिनाको सडक बनेको छ, पानी जम्मा हुने र डुबान हुने डर बढेको छ ।’ उनी जस्तै स्थानीय रामदत्त भट्टले सडक बन्नु राम्रो भए पनि नाली नहुँदा समस्या रहेको बताए । ‘सडक बनेकोमा खुसी छौ, तर नालीको काम भएको छैन’ उनले भने ‘भोलीको दिनमा पानी पर्दा समस्या हुन्छ की भन्ने चिन्ता छ ।’

वडा कार्यालयले गत आर्थिक वर्ष गौरीशंकर टोलदेखि उत्तर तेघरी हुँदै कृष्ण आधारभूत विद्यालय सम्म जाने बाटो अन्तर्गत ५०० मिटर बाटो कालोपत्रे गर्ने भन्दै ५० लाख रुपैयाँ विनियोजित गरेको थियो । उक्त बाटो कालोपत्रेका लागि नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । तर प्राविधिक कारणले गर्दा केही ढिला गरी सडक निर्माण कार्य भएको वडाध्यक्ष यज्ञ महराले जानकारी दिए । उनले वडा कार्यालय सँग धेरै बजेट नहुँदा नाली सहितको सडक निर्माण गर्न नसकिएको बताए ।
‘वडाको बजेटले त्यो सडक कालोपत्रे गरेका हौ, नाली निर्माणका लागि बजेट पुग्ने अवस्था थिएन’ उनले भने ‘अर्कोतिर बाटोको क्षेत्रफल पनि २० फिट मात्रै थियो, त्यसमा नाली निर्माणका लागी अर्काको जमिन काट्नुपर्ने अवस्था थियो, त्यो काम वडाले गर्न सकेन, त्यसैले नाली निर्माण गर्न सकेनौ ।’ उनले टोलवासीले नाली निर्माणका लागि जमिन छुट्याएर वडामा आए वडाले नाली निर्माणका लागि आवश्यक पहलकदमी गर्न तयार रहेको बताए । ‘नालीका लागि टोलवासीहरूले आफ्नो जमिन छोडेर नाली हाल्छौ भन्नुहुन्छ भने त्यसका लागि हामीहरू तयार छौ’ उनले भने ‘त्यसपश्चात् वडाबाट भए वडाबाट नभए नगर तथा अन्य निकायबाट पनि नाली निर्माण गर्ने कामका लागि वडाले पहलकदमी गर्नेछ ।’ उनले हाल उक्त सडक ५०० मिटर मात्रै निर्माण भएको र त्यसको पूर्णताका लागि नगरपालिकासँग माग गरिएको बताए ।

‘अहिले त्यति मात्रै बनेको छ, त्यसलाई पूर्णता दिन नगरसँग माग गरेका छौ’ उनले भने ‘नगरप्रमुखले पनि त्यो सडकलाई माथि कृष्ण आधारभूत विद्यालयसम्म मिलाएर रिङ्गरोड जस्तो बनाउने भन्ने योजना ल्याउन खोज्नुभएको छ, जसरी हुन्छ त्यो रोडलाई हामी पूर्णता दिन्छौ ।’
गत आर्थिक वर्षमा नगरको बजेट सिलिङ अनुसार वडामा १ करोड १० लाख ३७ हजार ७५२ रुपैयाँ बजेट आएको थियो । त्यसमध्ये ५० लाख रुपैयाँ वडाले उक्त सडकको निर्माणका लागि मात्रै छुटाएको हो । वडामा रहेका पुराना सडकहरूलाई व्यवस्थित गरी कालोपत्रे गर्ने भन्दै वडाले त्यसका लागि नगरसँग समन्वय गर्ने काम गरिरहेको जनाएको छ ।
















