खाेज्नुहाेस

अत्तरियाका फुटपातमा व्यापारीको रजाई

Image

अत्तरिया – कैलालीको अत्तरिया बजार आसपासका फुटपातहरुमा व्यापारीले रजाई गर्ने गरेका छन । यात्रुहरुलाई आवागमनमा समस्या हुने गरी व्यापारीहरुले सटर अगाडी रहेका फुटपाट र सडक पेटीहरुमा सामग्रीहरु राख्ने गरेका छन ।

धनगढी अत्तरिया ६ लेन सडक अन्र्तगत कृषि हाटबजार अगाडी रहेका तरकारी व्यवसायीहरुले त झन फुटपात र सडकपेटी नै कब्जा हुने गरी सामान राख्ने गरेका छन । हाटबजार बाहिर रहेका तरकारी पसलको तरकारी पसल भित्र भन्दा पनि फुटपातमा बढी राख्ने गरिएको छ । जसका कारण आवत जावत गर्ने यात्रुहरुले सडक भएर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ ।

add everest academy
attariya hospital

गोदावरी नगरपालिकाले सडकको अतिक्रमण र फुटपात व्यापार हटाउने भन्दै गत वर्ष भदौ १६ गते सुचना निकालेको थियो । उक्त सुचना बमोजिम नगरपालिकाले नगर भित्रका मूख्य सडक तथा सहायक सडकहरुको छेउमा राखेका निर्माण सामग्रीहरुका साथै पसल, फुटपात पेटी किनारामा निर्माण गरिएका टिनको छानो (पाली) र सडकपेटीमा राखिएका मालसमान समेत हटाएको थियो । तर नगरपालिकाले त्यसरी आफैले हटाएको केही समय पछि पुनः व्यापारीहरुले फुटपातमा सामान राख्न थालेका हुन । नगरपालिकाले जारी गरेको सुचनाको वेवास्था गर्दै व्यापारीहरुले मनोमानी रुपमा फुटपातको प्रयोग गर्ने गरेको पाईएको छ ।

सो विषयमा अत्तरिया उद्योग वाणिज्य संघका कोषाध्यक्ष हेमराज भण्डारीले बजार व्यवस्थापनको जिम्मेवारी संघको भएपनि व्यवसायीहरुले अटेरी गर्ने गरेका कारण समस्या हुने गरेको बताए । उनले उद्योग वाणिज्य संघले नगरपालिकासँग समन्वय गरेर मनोमानी गर्ने व्यापारीहरुलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘नगरपालिकाले पनि यो विषयमा धेरै पहल गरेको हो, तर व्यवसायीहरुले अटेरी गर्दै आईरहेको अवस्था छ’ उनले भने ‘उद्योग वाणिज्य संघले पनि पटक पटक सम्झाई बुझाई गरेकै हो, अब फेरी नगरपालिकासँग सहकार्य गरेर यसको व्यवस्थापन तिर हामी लाग्छौ ।’

navjiwan hospital

उनले फुटपातमा व्यवसायी गर्नु गैरकानुनी भएकाले त्यस्ता व्यपारीहरुलाई कारबाहीको दायरामा ल्याउन संघले पहल थाल्ने बताए । ‘पैदलयात्रुलाई आवतजावत गर्न समस्या हुने गरी सटर तथा पसल छोडेर फुटपातमा सामान राख्ने कार्य गैरकानुनी हो’ उनले भने ‘यसको बारेमा संघले मात्रै गरेर हुदैन, कतिपय ठाउँमा कानुनी बाध्यता पनि हुने भएकाले नगरपालिकासँग हामीले समन्वय गर्छौ ।’

attariya technical collage

यता गोदावरी नगरपालिकाका प्रवत्ता गोपाल दत्त भट्टले फुटपात अथवा सडक कब्जा गरेर व्यवसाय नगर्न नगरपालिकाले पटक पटक जानकारी गराईरहेको बताए । उनले केही व्यवसायी बाहेक सबैजसो व्यवसायीहरुले नगरको सुचनाको पालना गरेको पनि बताए । ‘विगतको भन्दा अहिले धेरै जसो व्यवसायीहरुले फुटपातको प्रयोग गर्न बन्द गरेका छन । केही व्यवसायीहरुले नगरको सुचनाको उल्लंघन गर्ने गरेको पाईएको छ, त्यस्ता व्यवसायीहरुलाई अहिले फेरी सम्झाई बुझाई गरेका छौ । अझै नमाने कारबाहीको प्रकृयामा लैजान्छौ’ उनले भने ।

उनले बिहानै गाउँगाउँबाट तरकारी बेच्न आउने कृषकहरुका कारण पनि अत्तरिया बजारका २/३ वटा ठाउँहरुमा फुटपात तथा सडक पेटी नै कब्जा हुने गरी व्यापारीहरुले व्यापार गर्ने गरेको बताए । उनले त्यस्ता किसानहरुलाई कृषि हाट बजार भित्र विषादी चेक गरेर मात्रै तरकारी तथा फलफुलजन्य वस्तुहरु विक्रिवितरण गर्न पनि निर्देशन दिईएको बताए । ‘बाहिर पैदल यात्रुहरुलाई अफ्ठ्यारो हुने गरी कृषकहरुले व्यापार गर्ने भएकाले कृषि हाट बजार भित्र गएर विषादी चेक गरेर उतै व्यवसाय गर्नूस भनेर हामीले भनिसकेका छौ’ प्रवत्ता भट्टले भने ‘अझै पनि उहाँहरुको व्यवहार परिवर्तन भएन भने हामी कारबाहीको प्रकृया अगाडी बढाउँछौ ।’

नगरप्रवत्ता भट्टले हाल नगरपालिकाले बजारको अनुगमन गरिरहेको बताए । उनले अनुगमनका क्रममा पनि त्यस्ता व्यवसायीहरुलाई सचेत गराईसकेको बताए । सुचनाको अटेरी गरेका व्यवसायीहरुलाई एक पटक पुनः अनुगमनका क्रममा सचेत गराईसकेको र अझै पनि नगरको सुचनाको वेवास्था गरे कानुनी दायरामा ल्याईने उनले बताए ।

नगरपालिकाले बजारको सुन्दरता बढाउन र बजारलाई फराकिलो बनाउन फुटपातमा गरिने व्यवसाय बन्द गरेको थियो । फुटपात तथा सडक पेटीहरुमा सामान राखेर व्यवसाय गर्ने व्यसायीहरुलाई नगरपालिकाले रोक लगाएको अवस्थामा बजार भन्दा केही टाढाका व्यवसायीहरुले भने अझै पनि सो कार्य गर्ने गरेका छन । फुटपातमा व्यवसाय गरिदा पैदल यात्रुहरुलाई आवत जावत गर्नमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत निम्तिने गरेको छ ।