खाेज्नुहाेस

स्ट्रिट लाईट जडानमा प्राधिकरणको लापरबाही, बजेट पाएको एक वर्ष बित्नै लाग्दा पनि सुरु भएन काम

Image

अत्तरिया – कैलालीको गोदावरी नगरक्षेत्रभित्र पर्ने मोहना अत्तरिया ६ लेन सडकमा स्ट्रिट लाईट जडानको काम नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण हालसम्म सुरु हुन सकेको छैन ।

६ लेन सडकमा स्ट्रिट लाईट जडानका लागि नगरपालिकाले पहिलो चरणको भुक्तानी गरेको एक वर्ष वित्नै लाग्दा पनि विद्युत प्राधिकरणले हालसम्म जडानको काम सुरु गर्न नसकेको हो । विद्युत प्राधिकरणले कुनै न कुनै बहाना बनाएर स्ट्रिट लाईट जडानको कार्यमा ढिलाई गरिरहेको नगरपालिकाले जनाएको छ ।

add everest academy
attariya hospital

नगरपालिकाले ६ लेन सडकमा स्ट्रिट लाईट जडान गर्ने भन्दै गत वर्ष असार २१ गते नै विद्युत प्राधिकरणलाई पहिलो चरणको भुक्तानी गरिसकेको छ । नगरपालिकाको २०७९ फागुन १९ गतेको कार्यपालिका बैठकले गेटाको आरपी फ्लोर मिलदेखि अत्तरिया चौराहा सम्मको ५.७ किलोमिटर ६ लेन सडकमा स्ट्रिट लाइट जडान गर्ने निर्णय गरेको थियो । जसका लागि नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजना काठमाण्डौ सँग लागत साझेदारी गर्ने बैठकले निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम नगरपालिकाले नेपाल विद्युत प्राधिकरण अन्तर्गत राष्ट्रिय सडक बत्ती प्रर्वद्धन आयोजनासँग समन्वय गरी ३ करोड २ लाख ४० हजार ६८३ रुपैयाँ अनुमानित लागतमा ६ लेन सडकमा स्ट्रिट लाइट जडानका लागि सम्झौता गरेको छ । सडक बत्ती जडानमा नगरको ६५ र सडक बत्ती प्रर्वद्धन आयोजनाको ३५ प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख गरिएको छ । उक्त अनुमानित लागत मध्ये नगरपालिकाले पहिलो चरण वाफतको रकम ९८ लाख २८ हजार २०० रुपैयाँ विद्युत प्राधिकरणलाई भुक्तानी गरिसकेको छ ।

तर पहिलो चरणको करिब ५० प्रतिशत रकम भुक्तानी गरेको एक वर्ष वित्नै लाग्दा सम्म पनि विद्युत प्राधिकरणले स्ट्रिट लाईट जडानको कार्य सुरु सम्म गर्न सकेको छैन । नगरपालिकाका प्रवत्ता गोपाल दत्त भट्टले नगरपालिकाले विद्युत प्राधिकरणले भने बमोजिमको काम गर्दा पनि स्ट्रिट लाईट जडान गर्न नसकेको बताए । उनले विद्युत प्राधिकरणले भनेबमोजिमको बजेट पठाईसक्दा पनि जडानका कार्यमा ढिलाई हुनु विद्युत प्राधिकरणको लापरबाही भएको बताए ।

attariya technical collage

‘नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको छ, उहाँहरुले माग गरेबमोजिमको बजेट पनि पठाईसकेको छ’ उनले भने ‘तर पनि जडानको काम हुन नसक्नु भनेको विद्युत प्राधिकरणको लापरबाहीकै कारणले हो, नगरपालिकाको यसमा केही हात हुदैन ।’ उनले बजेट पठाईसकेपश्चात ६ महिना भित्रै बत्ति बाल्ने आश्वासन पाएपनि त्यसो हुन नसकेको बताए ।

navjiwan hospital

‘अहिले आएर विभिन्न चरणमा ठेक्का भएको भन्ने सुनिन्छ, पोलको अलग्गै ठेक्का भयो भन्ने पनि सुनियो, फेरी केही कारणले ठेक्का रद्ध भयो भन्ने पनि सुनिन्छ, बल्व र तारको अलग्गै ठेक्का हुन्छ भन्ने सम्म सुनियो’ उनले भने ‘त्यसमा सम्बन्धीत निकायले थप पैसा चाहियो भनेको भए, या अन्य केही मागहरु राखेको भए र नगरले नगरेको भए हाम्रो दोष हुन्थ्यो तर त्यसो केही पनि उहाँहरुले गर्नुभएको छैन, तर पनि खै किन ढिलाई गरिराख्नुभएको छ ।’ उनले नगरप्रमुखले पटक पटक स्ट्रिट लाईट जडानका लागि आग्रह गर्दै आएको भएपनि सुनुवाई नभएको बताए ।

जडानको काम अर्काे आर्थिक वर्षमा सुरु हुने

यता राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजनाले स्ट्रिट लाईट जडानको काम आगामी आर्थिक वर्षदेखी मात्रै सुरु हुने बताएको छ । आयोजनाका मेनेजर प्रमोद रिजालले प्राविधिक मुल्यांकनमा केही ढिलाई भएका कारण जडानको कार्यमा ढिलाई भएको बताए । उनले प्राविधिक मुल्यांकनको पाटो लगभग सकिएको बताउदै अब ठेकेदार कम्पनिलाई सामानको व्यवस्थापनका लागि २ महिनाको समय दिनुपर्ने भएकाले आगामी आर्थिक वर्षदेखी मात्रै जडानको काम हुने बताए ।

‘विभिन्न नगरपालिकाहरुको संयुक्त टेन्डर हुँदा विडरहरुसँग केही कुरा थप बुझ्नुपर्ने भएकाले ढिलाई भएको हो’ उनले भने ‘त्यो चरण पार भएर टेक्निकल मुल्यांकनको काम सकिईसकेको छ । अब आर्थिक मुल्यांकन सुरु हुन्छ । त्यसका लागि प्राईच बिड (मुल्य बोली) खोल्नुपर्नेछ । त्यसपछि टुंगिहाल्छ ।’ उनले बुधबार सम्म आर्थिक मुल्यांकनका लागि ठेक्का आह्वान गरिने बताए । ‘मुख्य गाह्रो काम भनेको टेक्निकल पाटो हो त्यो सकिईसकेको छ । अब प्राईज बिड (मुल्य बोली) खोलेको १०÷१५ दिन पछि ठेकेदार कन्ट्याक्टमा आईहाल्नुहुन्छ, त्यसपछि जडानको लागि बाटो खुल्ला हुन्छ’ रिजालले भने ।

उनले प्राईच बिड खोलिसकेपछि निर्माणका लागि सामग्री ल्याउन २ महिनाको समयावधी लाग्ने बताए । ‘यसको सामान नेपालमा बन्दैन, भारत या चाईनाबाट आउने हो’ उनले भने ‘त्यसैले केही समय त्यसका लागि लाग्छ, दुई महिना पछि त जडानको काम नै सुरु भैहाल्छ ।’ उनले धेरै पालिकाहरुको एकमुष्ट टेन्डर आह्वान हुँदा प्राविधिक कुराहरुमा समस्या आएका कारण केही ढिलाई भएको स्विकार गरे ।

पहिलो पटक अत्तरिया खबर दैनिकसँग आयोजनाका मेनेजर रिजालले गत वर्ष माघदेखी नै स्ट्रिट लाईट जडान हुने जानकारी दिएका थिए । तर माघदेखी काम सुरु नहुदाँ पुनः अत्तरिया खबर दैनिकले फलोअप गरेको थियो । त्यसलगत्तै स्ट्रिट लाईट जडानको कार्य टेन्डर प्रकृयाकै कारण अझै २ महिना पछाडि सरेको आयोजना कार्यालयले जनाएको थियो । पुनः बैशाख देखी जडानको काम हुने भनिएको भएपनि वैशाख सकिदा समेत विद्युत प्राधिकरणले जडानको काम सुरु गरेको छैन ।

आयोजनाले देशभरका २२ वटा पालिकाहरुको एकमुष्ट टेन्डर आह्वान गरेको छ । पछिल्लो समय छाडा पशुचौपायाको संख्या बढी हुनु र सडक बत्ती नहुनाले दुर्घटनाका घटनाहरू बढ्दै गइरहेका छन । सडकमा आधुनिक बत्ती जडानले दुर्घटनाको जोखिम घटाउनुका साथै सहरको सुन्दरता समेत बढ्ने स्थानीयहरुको भनाई रहेको छ ।