धनगढी – कैलालीको सेती अस्पतालमा कार्यरत एक जना डाक्टरले धम्काएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । अस्पतालमा कार्यरत फिजिसियन डाक्टर निराजन शर्माले धम्काएको भन्दै नेपाल औषधी व्यवसायी संघ कैलालीले जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको हो ।

धनगढीमा रहेको गरिमा पोलिक्लिनिकका सञ्चालक समेत रहेका डाक्टर सर्माले औषधी व्यवसायी मेगेन्द्र बोहरालाई धम्की दिएको बताईएको छ । नेपाल औषधी व्यवसायी संघ कैलालीले शर्मालाई कारबाहीको माग समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा बुधवार दर्ता भएको निवेदनमा थोक औषधी व्यवसायीहरूसँग कम्पनीबाट सिधै मेरो क्लिनिकमा औषधी आउन तिमीहरूले किन रोक लगायौ भनि तथानाम गाली गर्ने गरेको, हकार्ने गरेको, तिमीहरूलाई जे पनि गर्न सक्छु, तिम्रा घर परिवारका सदस्यलाई अपहरण गर्न सक्छु, तिमीहरूलाई गुन्डा लगाएर जे पनि गर्न सक्नु भनेर तीन महिनादेखि धम्काउदै मानसिक यातना दिएको उल्लेख गरिएको छ ।
नेपाल औषधी व्यवसायी संघ कैलालीका कार्यबाहक अध्यक्ष भक्तराज उप्रेतीले जिल्ला प्रशासनमा निवेदन दिएको धेरै समय भएपनि डाक्टर शर्मालाई कार्वाही नभएको बताए । जिल्ला प्रशासनमा दर्ता भएको निवेदनको कारबाही अगाडि नबढेको भन्दै उप्रेतीले डक्टर शर्मा माथी कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।

















