खाेज्नुहाेस

सुदूरपश्चिमका हेल्थ डेस्कमा कार्यरत कर्मचारीले ९ महिनादेखि तलब पाएनन्

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका सिमानाकामा सञ्चालन रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले ९ महिनादेखि तलब नपाएको बताएका छन् । कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत २७ जना कर्मचारीले असार देखि तलब नपाएका हुन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखा अन्तरगत करारमा कार्यरत ती कर्मचारी ९ महिनादेखि तलब नपाउँदा काम गर्न निकै समस्या भएको बताएका छन् । हेल्थ डेस्कमा काम गर्ने ती कर्मचारीले असार देखिको नियुक्ति पनि दिइएको छैन ।

attariya hospital
navjiwan hospital

कञ्चनपुरको गड्डाचौकी सीमानाकास्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीले माथिल्लो निकायमा बुझ्दा तलब आउँछ काम गर्दै गर्नुहोस् भन्ने निर्देशन आउने गरेको बताए । उनले ९ महिना देखि तलब नआएपछि सम्बन्धित पालिका, सिडिओ कार्यालय मार्फत पनि दबाब दिएको भए पनि सुनुवाइ नभएको बताए ।

‘कि वहाँहरूले पहिले भोलेन्टियरका रूपमा काम गर्नुपर्छ भनिदिनुपर्थ्यो जसले गर्दा कर्मचारीहरूले आफ्नो व्यवस्थापन गर्थे होला’ उनले भने ‘नभएर करार अवधि सकियो आफ्नो व्यवस्था गर्नुहोला भनेर सुरुमै भनिदिएको भए हुन्थ्यो । काम गर्नुहोस् भने अहिले ९ महिना देखि तलब विहीन छौ ।’ उनले हुन्छ हुन्छ भनेर अहिले बजेट पास भएन भनेर झुक्काउने काम भएको बताए । उनले पछिल्लो समय इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाका हाकिमहरूको फोन नै नउठ्ने समस्या रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौला लगायतका सिमानाकाका हेल्थ डेस्क रहेका छन् । विगतमा देखिएको कोरोनाको महामारीका समयदेखि प्रदेश सरकारले सिमानाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमुना जाँच हुने गरेको छ । हेल्थ डेस्कमा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अहेव, अनमी लगायत कार्यालय सहयोगीहरू कार्यरत रहेका छन् ।