अत्तरिया – कैलालीको अत्तरियामा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ । राईट हेयर राईट नाउ परियोजना अन्र्तगत अत्तरिया बसपार्कमा यार्ड नेपालले उक्त विषयमा नाटक प्रस्तुत गरेको हो ।

नाटकमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी देखिने समस्या, त्यसले निम्त्याउने खतरा र समाधानका उपायहरुको बारेमा प्रस्तुती दिईएको थियो । नाटकका पात्रहरुले यौन तथा प्रजनन् स्वास्थ्य का सवालमा किशोरावस्थामा गरिने गल्तीका कारण देखिने समस्याहरुलाई विस्तृतमा प्रस्तुत गरेका थिए । नाटकमा किशोरीहरुमा महिनावारी भएको समयमा देखिने समस्याहरु, कलिलो उमेरै भागेर बिहे गर्दा हुने यौन तथा प्रजनन् समस्याहरु, किशोरावस्थामा सामाजिक सञ्जाल मार्फत हुने यौन विकृतिहरु तथा यौन रोगको संक्रमणको सिकार हुने महिलाहरुको अवस्थाको बारेमा चित्रण गरिएको थियो ।

यार्ड नेपालको उक्त परियोजनाका संयोजक महेन्द्र शाहीले आम दैनिक जिवनमा युवावर्गहरुले बेहोर्नुपरिरहेको यौन तथा प्रजनन् स्वास्थ्य समस्याहरुका बारेमा नाटक मार्फत जानकारी दिईएको बताए । उनले वृहत यौनिक शिक्षाको अभावका कारण युवावस्थामा किशोरकिशोरीहरुले भोग्नुपर्ने समस्याहरु र त्यसलाई न्यनिकरण गर्ने उपायहरुका बारेमा जानकारी दिने नाटकको मुख्य लक्ष्य रहेको बताए ।
‘अहिले कतिपय किशोरकिशोरीहरु नाबालिग अवस्थामै भागेर बिवाह गर्ने चलन छ, यस्ता विषयहरुलाई समयमै ध्यान दिन जरुरी छ’ उनले भने ‘त्यतिमात्रै नभई घरपरिवारमा पनि किशोरकिशोरीहरुसँग अभिभावकको सुमधुर सम्बन्ध नभएका कारण किशोरकिशोरीहरुले आफुखुसी निर्णयहरु लिने गरेका छन, जसले भविष्यमा समस्या निम्त्याईरहेको हुन्छ, यस्ता विषयहरुमा अभिभावकले पनि ध्यान दिनुपर्दछ ।’ छोराछोरीसँग अभिभावकको सम्बन्ध सुमधुर बनाउनुपर्ने र विद्यालयमा पनि वृहत यौनिक शिक्षा सम्बन्धी जानकारी दिने तथा किशोरकिशोरीहरुसँग साथीत्वको सम्बन्ध बनाउन आवश्यक रहेको बताए ।

















