बाजुरा- बाजुरामा ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा यस आर्थिक वर्षमा ३३ हजार २९५ बिरुवा रोपिएको हो ।

३६ वटा हिउँदे फलफूलका बगैँचा स्थापना गर्ने उद्देश्यले विभिन्न प्रजातिका हिउँदे फलफूलका बिरुवा रोपिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए ।

३५० बोटको एउटा किवी बगैँचा, २० हजार १४५ वोटको २३ वटा ओखर बगैँचा, १२ हजार ५५० बोटका ११ वटा स्याउ बगैँचा र ६ सय बोटको एउटा आरु बखडाको बगैँचा स्थापनाका लागि २९ वटा कृषि समूह, सहकारी संस्थाले ज्ञान केन्द्रको अनुदान सहयोग पाएर बिरुवा रोपेका प्रमुख जैशीले बताए ।
जिल्लाका विभिन्न ठाउँमा कुन विरुवा फल्छ भन्ने प्राविधिक अध्ययनअनुसार बिरुवा रोपिएको बताइएको छ ।
















