रुपन्देही – रुपन्देहीको एक विद्यालयले उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिएको छ । मायादेवी गाउँपालिकास्थित सुण्डी माध्यामिक विद्यालयले उत्कृष्ट विद्यार्थीलाई पुरस्कारस्वरुप भैंसी दिएको हो । विद्यालयले पुस्तक समीक्षा प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कारस्वरुप भैंसी दिएको छ ।

प्रतियोगितामा विद्यालयले पाँच वटा कक्षा समूह बनाएर प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धामा सहभागी ७ सय ३२ जना विद्यार्थीमध्ये हरेक समूहबाट उत्कृष्ट ७–७ जनालाई पुरस्कार वितरण गरिएको हो । जसमध्ये प्रत्येक समूहको पहिलो र दोस्रो हुने विद्यार्थीलाई भैंसी र अन्यलाई नगद पुरस्कार दिइएको विद्यालयले जनाएको छ ।

पुरस्कारबापत पाएको भैंसीबाट भएको आम्दानीले पढाई खर्च र परिवार चलाउन टेवा पुग्ने भन्दै पुरस्कारस्वरुप भैंसी दिएको विद्यालयले जनाएको छ । पुरस्कारस्वरुप भैंसी पाएपछि भैंसी पाउने विद्यार्थीका अभिभावक पनि खुसी भएका छन् ।
सुण्डा माध्यामिक विद्यालयले हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्दै आएको छ । हालसम्म विद्यालयले ३१ जना उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिइसकेको जनाएको छ ।



















