खाेज्नुहाेस

कैलालीकी महापतीको लोभलाग्दो कृषि कर्म : डेढ कट्ठा जमिनबाट बेचिन् २० क्विन्टल टमाटर

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ खैरानाकी ३८ वर्षीया महापती चौधरी अचेल निकै व्यस्त छिन् । तरकारी खेती गरेर मनग्य आम्दानी लिइरहेकी उनको दिनचर्या खेतबारीबाटै सुरु भई खेतबारीमै बित्ने गरेको छ ।

निकै हँसिलो मुद्रामा देखिने उनले १० कट्ठा जमिनमा तरकारी खेती गरिरहेकी छिन् । जसमा डेढ कट्ठा जमिनमा उनले टमाटर लगाएकी छिन् । उनले टमाटर मात्रै २० क्विन्टल बेचिसकेकी छिन् भने बारीमा अझै लटरम्म टमाटर फलिरहेकै छ । उनका श्रीमानले गर्ने ज्याला मजदुरीबाट जेनतेन घर खर्च चलाइरहेकी महापती अहिले आफ्नै खेतमा तरकारी खेती गरेर मनग्य आम्दानी लिइरहेकी छिन् । ‘बुढाले ज्यालामजदुरी गर्नुहुन्थ्यो, त्यतिले मात्रै यति ठुलो परिवारलाई काँ पुग्नु,’ उनले भनिन्, ‘घरमा पनि काम गर्नै पर्यो अनि बाहिरतिर पनि, तै पनि खर्च चलाउन आपतै हुने ।’

add everest academy
attariya hospital

उनको श्रीमान, सासुससुरा, जेठानी र छोराछोरी गरी ९ जनाको परिवार छ । अहिले घर खर्चसँगै ४ जना छोराछोरीको पढाइ खर्च पनि तरकारी बेचेरै पुगिरहेको उनी बताउँछिन् । ‘अहिले यही खेतीपातीबाटै घर खर्च मजाले चलिरहेको छ, छोराछोरीको पढाउने, औषधी उपचार गर्ने अनि खानलाई त अब पुग्ने नै भयो, बचत पनि गर्न सक्यौँ, एउटा च्याम्पा अनि एउटा ठुलो ट्याक्टर पनि किनेका छौँ,’ उनले भनिन् ।

No description available.

बारीमा टमाटर अझै फलिरहेको छ । २० क्विन्टल अझैँ बेच्न सकिने महापती बताउँछिन् । ‘यो सिजनमा टमाटर मात्रै २० क्विन्टलभन्दा बढी बेचेका छौँ, ५० हजार रुपैयाँ आम्दानी भएको छ । पछिल्लो पटकको बेचेको जोड्न बाँकी नै छ, अझै धेरै होला । टमाटर त अझै फल्छ, यो फलेकै २० क्विन्टल पुग्छ होला, अब हामी अझ २० क्विन्टलभन्दा बढी बेच्न पाउँछौँ होला,’ उनले अनुमान लगाउँदै भनिन् ।

attariya technical collage

खेतबारीको काममा उनी एक्लै छैनन् । उनलाई उनका घरका अन्य सदस्यले पनि सघाउने गरेका छन् । ‘बुढाले सघाउँछन्, जेठानीले पनि सघाउनुहुन्छ अनि स्कुल कलेजबाट आएर छोरीहरु पनि सघाउँछन् । त्यस्तो गाह्रो छैन,’ एकदमै खुसी अनि हँसिलो मुद्रामा उनले सुनाइन् ।

No description available.

navjiwan hospital

उनले बारीमा बन्दा, काउली, आलु, रायो र खुर्सानी पनि फलाएकी छिन् । यो सबै तरकारीहरु बेचेर उनले यो सिजनको हालसम्म मात्रै तीन लाख बढी रुपैयाँ आम्दानी गरेकी छिन् । उनले प्लास्टिक टर्नेल बनाएर काँक्रा पनि लगाएकी छिन् । जुन फलिरहेको छ । अबको १५ दिनभित्रमा काँक्रा पनि बेच्न लायक भइसक्ने उनी बताउँछिन् । ‘यो काँक्रा फल्न थालिसकेको छ, अब १५ दिनभित्र बेच्ने भइसक्छ,’ उनले भनिन् ।

No description available.

व्यापारीहरु तरकारी किन्नका लागि घरमै पुग्ने गरेको उनी बताउँछिन् । ‘पहिला पहिला धेरैलाई थाहा थिएन, अब अहिले धेरै जना व्यापारीहरु घरै किन्नलाई पुग्छन्’ उनी भन्छिन्, ‘यता वरपरका अन्य गाउँका पनि तरकारी किन्न आउँछन् ।’ उनी तरकारी बेच्नलाई बजारको कुनै समस्या नरहेको बताउँछिन् । ‘म र मेरो बुढा बिहानै उठेर मोटरसाइकलमा तरकारी बोकेर अत्तरिया बजार लैजान्छौँ, व्यापारीहरु खुसी भएर किन्छन् । यो टमाटर टिपेर १५ दिनसम्म राख्दा पनि सड्दैन, त्यही भएर पनि होला बजारमा यही खोज्छन्,’ उनी भन्छिन् ।

सामान्य खेतीकिसानी गरिरहेकी उनी अहिले भने व्यवसायिक रुपमै खेती गर्न थालेकी हुन् । पहिले खानलाई मात्र पुग्ने गरेकोमा खेती गरी आम्दानी गर्न सकिने थाहा पाएपछि तरकारी खेतीमा व्यवसायिक रुपमै लागेको उनी बताउँछिन् । ‘पहिला यसरी खेती गरेर पैसा पनि कमाउँला भन्ने सोचेका थिएनौँ । निड्सको सरहरुले हामीलाई तालिम दिएर तरकारी फलाउनसम्ममा सहयोग गर्नुभयो, खुसी छुँ म त,’ उनले हाँस्दै भनिन् ।

No description available.

निड्स नेपालको युवा तथा महिला उद्धमशीलता विकास परियोजनाले प्रदान गरेको एक महिने व्यवसायिक तरकारी खेतीको तालिमपछि व्यवसायिक रुपमै तरकारी खेती सुरु गरेको उनले बताइन् । ‘हामीले पहिलेदेखि गर्ने भनेको यही खेतीपाती नै हो, खानलाई मात्र ठिक्क हुने, लाउने पनि त्यही धान गहुँ नै हो । तरकारीहरु बारीमा जेजति फलाउन सक्यो खायो, बेच्ने त कुरै थिएन,’ उनले भनिन्, ‘अहिले तरकारीहरु बेचेर पैसा पनि आइराछ, खेतमा काम गर्न खुसी पनि लाग्छ । अझै मेहेनत गर्न सके अझ बढी कमाउन सकिन्थ्यो होला जस्तो लाग्छ ।’

एक महिनाको तालिमपछि तरकारीको बिउ, स्प्रे ट्याङ्की, हजारी, प्लास्टिक टर्नेल आदि उपलब्ध गराइएको निड्स नेपालका कृषि प्राविधिक रामचन्द्र उपाध्यायले बताए । १८ वर्ष उमेरदेखि ४० वर्ष उमेरभित्रका युवा तथा महिलाहरुलाई स्वयम् उद्यमी बनाउने हेतुले एलडब्लुआरको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सो परियोजना अन्तर्गत तालिम दिइरहेको उनले बताए । उनले विषादीरहित खेती प्रणाली सिकाई केवल कृषकमै मात्र सिमित नरही व्यवसायिक रुपमै खेती गर्न सहयोग गरिरहेको बताए ।

कृषि प्राविधिक उपाध्यायले जलवायुमैत्री खेती प्रणलीमा आधारित रही खेती गर्न सिकाइएको बताए । जलवायु उत्थानशील कृषि अन्तर्गत रहेर टनेल बनाएर काँक्रा खेती गर्न लगाइएको उनले बताए । ‘अहिले यो एकदमै चिसो मौसम हो, अहिले काँक्रा त हुँदै हुँदैन,’ उनले भने, ‘यसलाई जुन चाहिने टेम्प्रेचर (तापक्रम) हो, त्यो हामीले टनेल बनाएर खेतीपाति गर्न सिकाएका छौँ र उत्पादन पनि भइरहेको छ ।’

No description available.