खाेज्नुहाेस

दार्चुलाबाट ४८ जना हराए, प्रेममा परेर भाग्छन् युवती !

Image

दार्चुला – दार्चुलाबाट चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा हराएकाहरुमध्ये महिलाको संख्या धेरै छ । जिल्लाबाट ४८ जना हराउँदा १९ वर्षदेखि ३० वर्षसम्मका १६ जना र ३१ देखि ५९ वर्षसम्मका ६ जना गरी २२ जना महिला हराएका छन् ।

navjiwan hospital

प्रदेश प्रहरीको चालु आर्थिक वर्षको हालसम्मको तथ्याङ्कअनुसार १० देखि १८ वर्षसम्मका ८ जना बालिका तथा किशोरीहरु हराएका छन् । त्यस्तै, १० वर्षमुनिका एक जना बालक र ११ वर्षमाथि १८ वर्षमुनिका ८ जना किशोर हराएका छन् । १९ वर्षदेखि ३० वर्षसम्मका ३ जना र ३१ वर्षमाथिका ५ जना पुरुष हराएका छन् । जिल्लाबाट एक जना ज्येष्ठ नागरिक पनि हराएका छन् । हराएकाहरुमध्ये ३० जना फेला परेका छन् । १४ जना महिला, ७ बालिका, एक बालक र ८ जना किशोर गरी ३० जना फेला परेका हुन् ।

attariya hospital

हराएका किशोरी तथा युवतीहरु भने मायाप्रेममा परेर घरबाट भाग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंह बताउँछन् । ‘किशोरी, युवावस्थाकाहरु सामाजिक सञ्जालबाट मायाप्रेममा परेर भाग्ने, पछि केटासँग भेट नभएपछि वा बिहे नहुँदा फर्केर आउने गरेका पनि छन्,’ उनले भने, ’कतिलाई भने त्यसरी गइरहेको अवस्थामै पनि हामीले फेला पारी रोक्ने गरेका छौँ ।’

महिला (बिहे भएका) हरुको हकमा भने घरायसी तनाबले गर्दा कामको सिलसिलामा बाहिर गएका पाइने गरेको उनले बताए । विशेष गरी घरायसी झैझगडा, तनाब आदिका कारण काम गर्नकै लागि भारत तथा अन्यत्र गएका पाइने गरेको उनले बताए । केही किशोरकिशोरी तथा युवायुवती पनि कामकै लागि घरबाट भागेर बाहिर गएको पाइने गरेको उनले बताए ।