खाेज्नुहाेस

सुदूरपश्चिमबाट ६७६ जना हराएः ६४० महिला-बालबालिका, पुरुष १९ जना

Image

अत्तरिया- सुदूरपश्चिममा पाँच महिनाकै अवधिमा ६ सय बढी मानिस हराएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा मात्रै ६ सय ७६ जना हराएका हुन् ।

प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्याङ्कअनुसार कैलालीबाट मात्रै २६९ जना हराएका छन् । हराउनेहरुमा बढी संख्या महिलाहरुको छ । जिल्लाबाट १५१ जना महिला हराएका छन् । त्यसपछि हराउनेमा बालिकाको संख्या बढी छ । ६८ बालिका, ३९ बालक, ११ जना ज्येष्ठ नागरिक हराएका छन् । त्यसपछि कञ्चनपुरबाट धेरै जना हराएका छन् । जिल्लाबाट १४५ जना हराएका हुन् । कञ्चनपुरबाट पनि हराउने महिलाकै संख्या बढी छ । ८७ महिला, ३१ बालिका, २३ बालक र ज्येष्ठ नागरिक ४ जना हराएका छन् ।

attariya hospital

डडेल्धुराबाट सो अवधिमा ४८ जना हराएका छन् । महिला २५, बालिका १३ र बालक १० जना हराएका छन् । दार्चुलाबाट २५ महिला, ९ बालक, ९ पुरुष र ५ बालिका गरी ४८ जना हराएका छन् । बझाङबाट १६ महिला, १२ बालक र १० बालिका गरी ३८ जना हराएका छन् । बैतडीबाट २२ महिला, ११ बालिका, ३ बालक र एक जना ज्येष्ठ नागरिक गरी ३७ जना हराएका छन् । डोटीबाट १२ महिला, बालिका र बालक ६/६ जना र ४ पुरुष गरी २८ जना हराएका छन् ।

अछाम र बाजुरामा भने हराउने बालिकाको संख्या धेरै छ । अछाममा १७ बालिका हराएका छन् भने बाजुरामा ९ बालिका हराएका छन् । अछाममा १७ बालिकासहित १३ महिला, ५ बालक र १ जना ज्येष्ठ नागरिक गरी ३६ जना र बाजुरामा ९ बालिकासहित महिला, बालक र पुरुष ६/६ जना गरी २७ जना हराएका छन् ।

navjiwan hospital

तथ्याङ्कअनुसार हराउने महिलाको संख्या धेरै छ । प्रदेशभरबाट हराउने महिलाको संख्या ३५७ जना छ । त्यसपछि बालिका बढी संख्यामा हराएका छन् । हराउने बालिकाको संख्या १७० छ । बालकको संख्या पनि ११३ जना छ । यसरी हेर्दा हराउनेहरुमा महिला र बालबालिकाको संख्या उच्च छ ।

प्रदेशका नौ जिल्लामध्ये ६ जिल्लाबाट भने एक जना पुरुष पनि हराएका छैनन् । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बझाङ, बैतडी र अछामबाट एक जना पनि पुरुष बेपत्ता नभएका अर्थात यी जिल्लामा बेपत्ता पुरुषको संख्या शून्य छ भने दार्चुलाका सबैभन्दा बढी पुरुष बेपत्ता भएका तथ्याङ्कमा उल्लेख छ ।

हराएकाहरुमध्ये ५२२ जना फेला परेका छन् । कैलालीका २३८, कञ्चनपुरका ९३, डडेल्धुराका ३८, दार्चुलाका ३०, बझाङका ३४, बैतडीका २३, डोटीका १८, अछाम र बाजुराका २४/२४ जना फेला परेका हुन् । जसमा २६२ जना महिला, बालिका १३९, बालक ९९, पुरुष ७ र ज्येष्ठ नागरिक १५ जना फेला परेका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनका अनुसार धेरैजसो कामको सिलसिलामा भारत वा अन्यत्र जाँदा हराउने तथा सम्पर्कविहीन हुने गरेका छन् भने कतिपय महिला तथा बालिकाहरु भागेर बिहे गर्ने गरेका छन् । कतिपय अवस्थामा उनीहरु भेटिएपछि बिहे गरी वा गर्नका लागि भागेको पाइने गरेको उनले बताए ।अधिकांशजसो घरमा कुरा नमिल्दा कामका लागि बाहिर गएका पाइने गरेका र विवाहका लागि भागेर गएको पाइने गरेको उनले बताए ।

प्रहरीमा हराएको जानकारी आएको हप्ता दिनमा भेटिए/नभेटिएकोबारे परिवारबाट जानकारी लिने गरेको प्रवक्ता महर्जनले बताए । ‘कतिपय त घरमा कुरा नमिलेर रिसाएर घरबाट हिँडेका पनि हुन्छन्’, उनले भने, ‘उनीहरु हराएको एक/दुई दिनमै आफन्तको सम्पर्कमा आउने हुँदा त्यो बारे बुझ्ने काम गरिन्छ ।’