अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बीच सहकारीको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष भावना खड्काको सभापतित्वमा सम्पन्न सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सांसद दिर्घ सोडारी रहेका थिए । कार्यक्रममा बोल्दै सोडारीले सहकारीहरुले महिलालाई एकताको धागोमा उन्ने काम गरेको बताए । उनले सहकारीका माध्यमले महिलाहरुमा एकरुपता आएको बताए । उनले महिलाहरु परिश्रमी मात्रै नभई नेतृत्वकर्ता पनि हुन्छन भन्ने कुरा सृजनशिलले देखाएको बताए ।

‘महिलाहरु आपसमा परिश्रमी हुन्छन, मेहनती हुन्छन भन्ने मात्रै नभई संस्थालाई राम्रो सँग सञ्चालन गर्न सक्छन भन्ने कुरा पनि सृजनशिलले देखाएको छ’ उनले भने ‘महिलाहरुले सञ्चालन गरेको संस्थाले वार्षिक रुपमा करोडौको कारोबार गरेर लाखौ नाफा कमाईरहनुले यो कुरा पुष्टि गरेको छ ।’ उनले गत आर्थिक वर्षमा आफुले सहकारी संस्थाको भवनको विषयमा बोलेको र त्यसका लागि आफु लागिरहेको बताए ।

‘अहिले सांसद विकास कोषको रकम पाउन सकिएको छैन, जसका कारण मैले बोलेको कुरा हुन पाएको छैन’ उनले भने ‘तर त्यसका लागि म कटिबद्ध छु, आगामी दिनमा अझै सशक्त रुपमा लाग्नेछु ।’ उनले सहकारीले महिलाहरुलाई आत्मनिर्भर बनाईरहेकाले महिला सहकारीका लागि आफ्नो क्षेत्रबाट हुने सहयोगका लागि आफु अग्रसर रहेको बताए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । यसैबिच सहकारीले विभिन्न क्षेत्रमा सर्वाेत्कृष्ट कार्य गर्ने महिलाहरुलाई सम्मानित गरेको छ । सहकारीले सहकारीमा आवद्ध शेयरसदस्यहरुका अलावा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरिरहेका महिलाहरुलाई पनि सम्मानित गरेको थियो ।
२३ करोड कारोबार, ८८ लाख नाफा
संस्थाले आर्थिक वर्ष २०७९/०८० मा २३ करोड भन्दा बढीको कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा संस्थाले २३ करोड ७३ लाख २ हजार ३६० रुपैयाको कारोबार गरेको छ । जसबाट संस्थाले ८८ लाख ९८ हजार १६६ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।
गत वर्षको तुलनामा सहकारीले नाफामा वृद्धि गरेको छ । गतवर्ष सहकारीले करिब ५२ लाखको हाराहारीमा नाफा आर्जन गरेको थियो । सहकारीमा हाल ३ हजार ११ जना शेयरसदस्यहरु रहेका छन भने २ करोड ८७ लाख ३९ हजार ७ सय रुपैया शेयरपुँजी रहेको छ ।

















