धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा वन अतिक्रमण हटाउने अभियानका क्रममा डिभिजन वन कार्यालयका कर्मचारीले एउटा टेम्पो भिरबाट खसालेको घटना सार्वजनिक भएपछि विवाद चर्किएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै वन कार्यालयको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।
भीमदत्त राजमार्ग छेउमा राखिएको पुरानो टेम्पोलाई स्थानीय धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएकी थिइन्। वन कार्यालयले उक्त टेम्पो वन क्षेत्र अतिक्रमण गरेर राखिएको भन्दै हटाउने क्रममा भिरबाट खसालेको हो।

धामीका अनुसार कर्मचारीहरूले टेम्पोभित्र रहेका सामान बाहिर निकालेपछि आफूले टेम्पो घरतर्फ लैजान आग्रह गरेकी थिइन्। तर, कर्मचारीहरूले त्यसलाई बेवास्ता गर्दै टेम्पोलाई सडकबाट तल भिरमा खसालेका थिए। घटनापछि स्थानीयस्तरमा वन कार्यालयको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिएको छ।

यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने कार्यालयले लामो समयदेखि टेम्पो हटाउन अनुरोध गर्दै आएको दाबी गरेका छन्। उनका अनुसार गत पुस महिनादेखि नै उक्त टेम्पो हटाउन भनिए पनि अटेर गरिएपछि कर्मचारी टोली खटिएको थियो।
‘टेम्पो सडकमा चलाउन नमिल्ने अवस्थामा थियो र पसलका रूपमा प्रयोग भइरहेको थियो,’ ठाकुरले भने, ‘हटाउन जाँदा कर्मचारीमाथि गालीगलौज भएपछि आवेगमा त्यस्तो घटना भएको हुन सक्छ।’
उनले टेम्पो सञ्चालनयोग्य नभएको र अतिक्रमण हटाउने अभियान अन्तर्गत राजमार्ग क्षेत्रमा निर्माण गरिएका ४७ वटा संरचना हटाइसकिएको जानकारी दिए।
घटनाको भिडियो सार्वजनिक भएसँगै सरकारी निकायले अतिक्रमण हटाउने नाममा अपनाएको तरिकाबारे सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ।


















