अत्तरिया– सुदूरपश्चिम प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा सरुवा भई आएका प्रहरी उपरिक्षक नवराज कार्कीले यहाँको सडक र यात्रु सुरक्षाका लागि १० ओटा योजना अघि सारेका छन् । पत्रकारहरुसँगको भेटघाट तथा छलफलमा उनले आफूले सुदूरपश्चिममा सडक र यात्रु सुरक्षाका लागि कार्यान्वयन गर्ने १० ओटा योजना अघि सारेका हुन ।
जसमा उनले सुरक्षित सडक प्रणालीलाई पहिलो योजनामा समावेश गरेका छन । सो योजना अनुसार सडक प्रयोगकर्ताको गल्तीलाई समेत मध्यनजर गरी मानव जीवनको सुरक्षालाई केन्द्रमा राख्ने उनले बताए । उनले सो योजना अनुरुप सुरक्षित सडक, सुरक्षित सवारी, सुरक्षित गती, सुरक्षित सडक प्रयोगकर्ता तथा प्रभावकारी उद्दार व्यवस्थापनको अवधारणलाई व्यवहारमा कार्यान्वयन गरिने बताए ।

त्यसबाहेक कार्कीले सडक दुर्घटना न्यूनिकरण, कानुन कार्यान्वयन सुदृढिकरण, सडक पुर्वाधार सुधार, सुरक्षित सार्वजनिक यातायात प्रवद्र्धन, सडक सुरक्षा शिक्षा तथा जनचेतना, तथ्यांकमा आधारित निर्णय प्रणाली, आपतकालीन उद्धार तथा उपचार व्यवस्थापन, अन्तरनिकाय समन्वय र साझा उत्तरदायित्वलाई १० बुँदे योजनामा समावेश गरेका छन् । ति योजनाहरुमा टेकेर आफूले सुदूरपश्चिमको ट्राफिक व्यवस्थापनका साथै यात्रुहरु र सडकको सुरक्षाका क्रियाकलापहरु अघि बढाउने उनको भनाई छ ।
उनले सडक दुर्घटना न्यूनिकरण गर्न विभिन्न लक्षित कार्यक्रमहरु र योजना तथा स्रोत व्यवस्थापनलाई विशेष प्राथमिकता दिने उल्लेख गरेका छन् । त्यसबाहेक सवारी चालक र पैदलयात्रुहरुलाई सडक सुरक्षाको कानुनी व्यवस्थाको बारेमा जानकारी दिने र त्यसको प्रभावकारी व्यवस्थापन गर्ने, यातायातको अवस्थाका बारेमा अनुगमन गर्ने तथा आवश्यक सुधारका लागि सुझाव दिने, आपतकालीन अवस्थालाई मध्यनजर गरी प्राथमिक उपचार, एम्बुलेन्स सेवा र अस्पताल समन्वय प्रणाली बनाउन पहल गर्ने लगायतका कुराहरु पनि उनको योजनामा समावेश रहेका छन् । प्रहरी उपरिक्षक कार्कीले सडक तथा यात्रु सुरक्षा सबैको साझा जिम्मेवारी हुने भएकाले सबैले एकआपसमा सहकार्य र समन्वय गर्न जरुरी रहेको पनि बताए ।
उनले सानो सडक, अस्तव्यस्त सवारी पार्किङ, लामो तथा छोटो दुरीका सवारी साधनको तछाडमछाडका कारण सुदूरपश्चिको सडक सुरक्षामा केही चुनौतीहरु देखिएको बताए । उनले पहाडी जिल्लाहरुमा भने बर्षायाममा बाढी पहिरोले गर्दा जोखिमहरु आउन सक्ने सम्भावना देखिएको बताए । त्यसका लागि पूर्वयोजना तयार गरिसकेको समेत उनले बताए । ‘त्यस्तो ठाउँमा जाने सवारी साधनहरुलाई सुरक्षित ठाउँमा रोक्ने, राख्ने र केही दुर्घटना भैहालेमा तत्काल नजिकको अस्पताल सम्म पु¥याउने व्यवस्थाको लागि सम्पुर्ण मातहतका प्रहरी कार्यालयहरुलाई निर्देशन भैसकेको छ’ उनले भने ।
प्रहरी उपरिक्षक कार्कीले आफू आएदेखि ओभरलोड र भारवहनलोडलाई विशेष निगरानी गरेर कारबाहीको प्रकृयाहरु अघि बढाउने कार्य गरिरहेको बताए । उनका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म कार्यालयले क्षमताभन्दा बढी भारवाहन र ओभरलोड बोकेका १७४ ओटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । जसबाट ३ लाख १७ हजार जरिवाना संकलन भएको उनले बताए ।
उनले आफू आएदेखि अत्तरियाबाट पहाडी जिल्लाहरुमा चल्ने इभि गाडीहरुलाई रात्रिकालिन समयमा चलाउन पूर्ण रुपमा बन्देज गरेको बताए । उनले त्यस्ता गाडीहरुको रुटपरमिट रात्रिकालिन सेवाका लागि नभएकाले बन्द गर्नुपरेको बताए । उनले अत्तरिया बजारको ट्राफिक समस्याको नगरपालिकासँग समन्वय गरेर नगरप्रहरी सहित ट्राफिक प्रहरीहरुलाई खटाएर काम गरिने बताए ।

यात्रुवाहक सवारी साधनमा यात्रुहरुलाई हुने कुनै पनि दुव्र्यवहारहरु नियन्त्रण गर्ने विषयमा छुट्टै टोली परिचालन गरेको र त्यो टोलीले यात्रुहरुलाई सवारी साधन भित्रै गएर सोधपुछ गर्ने गरेको पनि उनले बताए । प्रहरी उपरिक्षक कार्कीले यात्रुहरुको सुरक्षा र सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले खेल्नुपर्ने भुमिकालाई अझ बढी सशक्त, अझ जनमैत्री र नागरिक मैत्री बनाउन आफू दृढ संकल्पका साथ अघि बढ्ने बताए ।
जिपिएस र सिसिटीभि जडान
सुदूरपश्चिम प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले लामो दुरीका सवारी साधनहरुमा जिपिएस र सिसिटीभि जडानको प्रकृया अघि बढाएको छ । कार्यालयका अनुसार लामोदुरीका कुल ५४८ सवारी साधनहरुमा जिपिएस र सिसिटीभि जडानको कार्य भैरहेको हो । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नवराज कार्कीले ५४८ मध्ये १९३ वटा सवारी साधनमा जिपिएस र सिसिटीभि जडानको कार्य सम्पन्न भैसकेको बताए । उनले बाँकी रहेका ३५ वटा सवारी साधनहरुमा पनि जडानको कार्य चलिरहेको बताए । उनले सो कार्यले दुर्घटनाको कारण पत्ता लाग्नुका साथै सवारी साधन भित्र हुन सक्ने महिला हिंसा, यौन दुव्र्यवहार, यात्रुहरुको सामान चोरी हुने र सामान साटिने समस्याहरु न्यूनिकरण हुने बताए ।

करिब ३१ हजार सवारीलाई कारबाही
कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म करिब ३१ हजार सवारी साधनहरुलाई कारबाही गरिएको छ । विभिन्न कसुरमा कार्यालयले ३० हजार ९९२ सवारी साधनहरुलाई कारबाही गरेको कार्कीले बताए । उनका अनुसार कारबाही गरिएका ति सवारी साधनहरुबाट २ करोड ४८ लाख ३९ हजार राजश्व संकलन गरिएको छ ।
त्यसबाहेक कार्यालयले गत १६ दिनको अवधीमा चोरीका ३० वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कार्कीले सवारी धनि नखुलेका र गैह्र कानुनी रुपमा चलाईएका मोटरसाईकललाई नियन्त्रण गर्ने अभियान नै चलाएको बताए । उनले सो अभियान अन्तरगत नै १६ दिनको अवधीमा ३० वटा मोटरसाईकलहरु नियन्त्रण गर्न सफल भएको बताए । उनले चोरीका मोटरसाईकलहरु धेरै छन भन्ने गुनासाहरु आएको र त्यसलाई कडाईका साथ नियन्त्रणमा लिने प्रयास गर्ने बताए । उनले सो अभियान निरन्तर जारी रहने समेत बताए ।
प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्त सम्मको अवधीमा १ हजार २२९ वटा सवारी साधनहरु दुर्घटनामा परेको ट्राफिक कार्यालयको तथ्यांकले देखाएको छ । जसबाट १७९ जनाको मृत्यु भएको, १ हजार २०३ जना गम्भीर घाईते भएको र ८६४ जना सामान्य घाईते भएको कार्यालयले जनाएको छ ।


















