खाेज्नुहाेस

सडकक्षेत्र व्यवस्थीत गर्दै डडेल्धुराको परशुराम नगरपालिका

Image

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाले सडकक्षेत्र व्यवस्थीत गर्ने काम थालनी गरेको छ । एशियाली विकास बैंकको सहयोगमा नगरपालिकाले नगरक्षेत्रका विभिन्न सडकहरुको पुर्वाधार विकासका लागि काम थालेको हो ।

एशियाली विकास बैंकको सहयोगमा नगरमा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालन भैरहेको छ । नगरमा उक्त आयोजना गतवर्ष असारबाट अगाडि बढेको थियो ।

attariya hospital

सडकको सौन्दर्यकरण तथा व्यवस्थित अभियानका लागि कार्य भैरहेको नगरपालिकाका नगरप्रमुख भरत जोशीले बताए । उनले अभियानको पहिलो चरणमा लालढुङ्गा बजारदेखि सिमलखेतसम्म सडक विस्तारको काम अगाडि बढाएको बताए ।

जसमा सडकको कालोपत्रे, सडक सञ्जालीकरण, फुटपाथ, ढल निकास, सडक बत्ती, सिसी क्यामेरा जडान लगायतका योजना सञ्चालनमा रहेको उनको भनाई छ । आगामी चरणमा परशुरामनगरका सबै वडा कार्यालय देखि नगर सदरमुकाम जोगबुढासम्म व्यवस्थित पक्की सडक सञ्जाल बनाउने गरी काम भइरहेको मेयर जोशी बताउँछन् ।

परशुराम नगर क्षेत्रको वृहत् विकासका लागि एउटा अवधारणा तयार गरिसकेको मेयर जोशी बताउँछन् । ‘यो अवधारणामा नगर क्षेत्रभित्र सडक, बिजुली, ढल, विद्यालय, अस्पताल, फोहोरमैला व्यवस्थापनलगायतका विषयहरु समेटिएका छन्,’ उनी भन्छन्, ‘यी योजनालाई समानान्तर रुपमा अघि बढाउने योजना छ । यसो हुँदा अबका केही वर्षहरुमै नगरपालिकालाई सुदूरपश्चिम प्रदेशकै तेस्रो ठूलो शहरको रुपमा विस्तार हुने अवस्था देखेका छौं ।’