खाेज्नुहाेस

अछामका डम्बर साउदले बहत्तर वर्षमा नागरिकता पाए

Image

अछाम – बहत्तर वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् । मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले आज जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन् । साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका हुन् ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका छन् । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा उनले खुसी व्यक्त गरे । लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन् । उनले भने, “ढिलै भएपनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए ।”

attariya hospital
navjiwan hospital

अछाम जिल्लाका धेरैजसो नागरिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । आवश्यक कागजातसमेत नबोकी वृद्ध अवस्थामा नागरिकता बनाउन आउनेको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेले बताए ।

पछिल्लो समययता कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टामै सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडसमेत कम भई सेवाग्राहीलाई सहज हुन थालेको छ ।

अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात भएमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताए । ३० मिनेटमै सेवा पाउन थालेपछि अछामका ग्रामीण भेगबाट आउने सेवाग्राही निकै सहज भएको छ ।