खाेज्नुहाेस

धान भित्र्याउने वेला हावाहुरीसहितको वर्षा आउँदा किसान चिन्तित

Image

टीकापुर – धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले कैलालीका किसानलाई चिन्तित बनाएको छ । धान पाकेर भित्र्याउन जुटेका किसान सोमबारको वर्षाका कारण बाली नोक्सान हुने पिरले चिन्तामा छन् ।

टीकापुरका निर्मल विकले पानी पर्ने सूचना पाएपछि धान थ्रेसिङ गर्ने (दाउने) तयारी गरे पनि ट्रयाक्टर नपाउँदा सुकेको धान खेतमै भिज्यो । ‘ट्रयाक्टर आउँछ भनेर बाटो कुरेर बसेँ । आएन । समयमै धान घर भित्र्याउन पाइएन’ उनले भने ‘हावाहुरीले धान यत्रतत्र छरिएको छ । अझै वर्षा भए धान खेतमै सड्ने चिन्ता छ ।’

attariya hospital

अर्का किसान पदम ओलीको खेतमा धान पाकेर बाला झुलेका छन् । वर्षाको डरले धान नकाटेका पदमको खेतमा सोमबारको हावाहुरीसहितको वर्षाले क्षति पु¥याएको छ । ‘हिजोको वर्षा र हावाहुरीले धान भाँचेको छ’, उनले भने, ‘अझै वर्षा भएमा धानबालीमा धेरै क्षति हुन्छ ।’

कैलालीको किसानले बेमौसमी वर्षाका कारण पछिल्ला तीन वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन् । कैलालीमा अधिकांश किसानले धान काटेको, अधिकांशको काट्न बाँकी छ । यस्तो बेलामा आएको वर्षाले किसान खुसी हुनसकेका छैनन् ।

navjiwan hospital

‘२०७८ मा आएको वर्षापछिको बाढीले तीन बिघा धानबाली बगेर गयो, गत वर्ष पूर्वसूचना पाएर बाली काटेनौँ । गत वर्ष पनि आधामात्रै जोगियो’, टीकापुर–५ का किसान हरि चौधरीले भने, ‘यो वर्ष पनि मौसमसम्बन्धी सूचना हेरेर धान काटेका छैनौँ, तर हावासहितको पानी आएकाले आधा नोक्सान भइसक्यो, अझै वर्षा भएमा यो वर्ष पनि धानबाली भित्र्याउन नपाइनेजस्तै छ ।’

किसान पार्वती चौधरीले पानी आउन थालेपछि बोक्दाबोक्दै काटेको धान भिजेको बताइन् । ‘मौसम परिवर्तन हुन थालेपछि हतार–हतारमा काटेको धान बोक्यौँ तर सकिएन’, उनले भनिन्, ‘आधाआधी बोक्यौँ, बाँकी धान खेतमै भिज्यो ।’

टीकापुर–४ का किसान विपीन चौधरीले किसानले काटेको धान खेतमै थुप्रो लगाएको बताए । ‘किसान दिनभरि तनावमा रह्यौँ, अधिकांशले काटेको धान खेतमै थुप्रो लगाएका छन्’, उनले भने, ‘अब यसरी राखिएको धान फेरि मुठा खोलेर सुकाउनुपर्छ, किसानको काम पनि बढ्यो, बालीमा समेत क्षति भयो ।’

वर्षा अझै हुने भएकाले कृषि प्राविधिकले किसानलाई केही दिन धान बाली नकाट्न सल्लाह दिएका छन् । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशन गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन् ।

रासस