अत्तरिया – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले वास्तविक किसानले मात्रै अनुदान पाउनुपर्ने बताएका छन । शुक्रबार कैलालीको अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्थाको आठौ वार्षिक साधारण सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

उनले प्रदेश सरकार पनि बास्तविक किसानलाई मात्रै अनुदान लिने योजनाका साथ अघि बढेको बताए । ‘झोलामा फर्म बोक्ने अनुदान लिने र खाने, बास्तविक किसानले अनुदान नपाउने विगतको परम्परा थियो’ उनले भने ‘हामीले त्यसलाई तोडेर सहकारी संस्थामार्फत वास्तविक किसानलाई विना व्याजको ऋणको रुपमा अनुदानलाई उपलब्ध गराउदछौ । किसानले उक्त ऋण मार्फत कृषिमा राम्रो काम ग¥यो भने आवश्यकता अनुसार दिएको ऋण पनि मिनाहा गर्ने सोचमा प्रदेश सरकार छ ।’

उनले नेपाल कृषि प्रधान देश भनेपनि कृषि उत्पादनमा परनिर्भर रहनुपरेकाले कृषि उत्पादनमा जोड दिन आवश्यक रहेको बताए । उनले संविधानको समाजवाद उन्मुख नारालाई साकार पार्न पनि कृषिमा आत्मनिर्भर बन्न जरुरी रहेको बताए । उनले कृषि सहकारीहरुले कृषिमा जोड दिएर कार्य गरे संविधानको नाराले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
‘कृषि सहकारी कृषि सँग जोडिएको छ । अहिले संविधानलाई समाजवाद उन्मुख भनेका छौ । आत्मनिर्भर अर्थतन्त्रको व्याख्या गरेका छौ । समृद्ध नेपालको परिकल्पना गरेका छौ । ति सबै कुराका लागि नेपालको सन्दर्भमा कृषि सहकारीहरुको महत्वपुर्ण भुमिका रहेको छ’ उनले भने । उनले सहकारीहरुले छरिएर रहेको पुँजीलाई एकिकृत गरी कृषि क्षेत्रमा लगानी गरेर किसानलाई आत्मनिर्भर बनाउने तिर जोड दिन जरुरी रहेको बताए । उनले कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न प्रदेश सरकार हरदम तयार रहेको समेत बताए ।



















