बझाङ – बझाङमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ । जयपृथ्बी नगरपालिका–७ खगेडाका पदमराज सार्कीको छोरा ८ वर्षीय बिजय सार्कीको रुखबाट खसेर मृत्यु भएको हो ।

शुक्रबार साँझ घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खसेर बिजयको टाउँकोमा गम्भिर चोट लागेको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै डोटीको सेती नदीमा डुबेर दुई बालबालिका बेपत्ता भएका छन् । दिपायलको सेती पुल नजिकै नुहाउने क्रममा दुई बालबालिका बेपत्ता भएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपक खड्काले बताए ।
दिपायल–सिलगढी नगरपालिका–७ पिपल्लाकी ७ वर्षीया खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका छन् । बेपत्ता बालबालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

















