धनगढी – धनगढीबाट चार टन आलुसहित एक जना पक्राउ परेका छन । शनिबार विहान धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित दक्षिणकालीबाट भन्सार छलीको चार टन आलुसहितको ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

बाकेको रुपडिया नाकाबाट ल्याईएको अवैध आलु धनगढीबाट जफत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भारत घर भई हाल धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली नजिकै बस्दै आएका ४७ वर्षीय संतिश गुप्ताले चलाएको युपी ७६ के ८२१४ नम्बरको ट्रकमा ३० टन आलु धनगढी ल्याइएको थियो ।

२६ टन आलुको भन्सार काटेको पाइएपनि चार टन आलुको भन्सार नै नकाटेर भित्र्याएको पाईएको प्रहरीले जनाएको छ । ट्रकको करिब २० लाख र आलुको मुल्य एक लाख ८० हजार गरेर २१ लाख ८० हजार बराबरको समान नियन्त्रणमा लिएर कारबाहीका लागि त्रिनगर भन्सार कार्यालयमा बुझाइसकिएको प्रहरीले जनाएको छ ।



















