अत्तरिया – नेकपा एमालेको प्रथम सुदूरपश्चिम अधिवेशनका लागि कैलालीको गोदावरीबाट प्रतिनिधि छनौट प्रकृयामा आफुहरुविरुद्ध भ्रम फैलाईएको एमालेका जिल्ला सदस्य आनन्द भट्ट समुहले बताएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भट्टसमुहले पार्टिको हितलाई आधार बनाएर आफुहरुले निर्वाचनमा भाग नलिएको भएपनि इतरसमुहले आफुहरुविरुद्ध भ्रम सृजना गर्न मतपरिणाम सार्वजनिक गरेको बताएको हो ।
‘पहिलो कुरा त निर्वाचन प्रकृया नै अवैधानिक छ, त्यस्तो अवैधानिक निर्वाचन प्रकृयामा हाम्रो सहभागीता रहने कुरै रहदैन’ एमालेका जिल्ला कमिटि सदस्य भट्टले भने ‘दोस्रो कुरा पार्टीमा सहमती गरेर अगाडी बढ्ने कुरामा ऐक्यवद्धता जनाएर निर्वाचन प्रकृयामा सहभागी नभएका हामीहरुविरुद्ध हाईप्रोफाईल नेता पराजित भएको भन्दै भ्रम सृजना गरिएको छ ।’ उनले आफुहरुले पार्टीभित्रको कुरा बाहिर नल्याउने चाहना राखेपनि अर्काे पक्षले बहादुरीका साथ आफुहरुलाई कमजोर सावित गर्न खोजेकाले पत्रकार सम्मेलन गर्नुपरेको बताए । ‘हामी पार्टी हित र पार्टी निर्माणलाई केन्द्र बिन्दुमा राखेर हिडेका छौै’ उनले भने ‘तर हाम्रा साथीहरुले पार्टी कार्यालयमै पत्रकार बोलाएर पार्टी भित्रको विषयबस्तुलाई बाहिर ल्याउनुभयो त्यसमा हाम्रो ध्यानाकर्षण भएको हो ।’

उनले आफुहरुले चुनावमा भाग नलिनुका पछाडीका कारणहरु स्पष्ट पार्नका लागि पत्रकार सम्मेलन गरिएको बताए । उनले लोकतान्त्रीक प्रकृयाबाट आफुहरु पछाडी हटनुपर्ने केही कारणहरु रहेको समेत उल्लेख गरे । उनले चुनावी प्रकृयामार्फत नभई पार्टीका आवश्यकता र पार्टीका शिर्ष नेताहरुको ईच्छालाई महसुस गरेर पार्टी हित अनुसार सर्वसम्मतीमा गोदावरीबाट प्रतिनिधि छनौट गरेर लैजानुपर्ने अडान आफुहरुको रहेको बताए । उनले चुनावको अघिल्लो दिनसम्म पनि सहमतीको प्रयास असफल हुदाँ चुनावी प्रकृया सुरु गरिएको बताए ।
‘सहमतीको प्रयास असफल भएपछि स्वस्थ प्रतिष्पर्धामार्फत पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा भएकाले सौहार्दपुर्वक रुपमा चुनावी प्रकृयामा सहभागी हुने सबैको चाहना थियो’ उनले भने ‘तर चुनावमा त्यस्तो हुन दिईएन । एउटा पक्षको कुनै प्रतिनिधि नै नराखेर, आचारसंहितामा हाम्रो समुहको हस्ताक्षर सम्म नगरेर, १० बजे चुनाव भनेर ८ बजेदेखी नै सुरुवात गर्दा हामीहरुले चुनावमा भाग लिन उचित ठानेनौ ।’

उनले आफुहरुले जबरजस्ती ढंगबाट निर्वाचनको समय सार्नु र पार्टीहितलाई मध्यनजर गरेर चुनावबाट पछाडी हट्ने दुई वटा विकल्प मध्ये आफहरुले दोस्रो विकल्प छानेको बताए । उनले आफुहरुले पार्टीहितलाई मध्यनजर गर्दै चुनावबाट पछाडी हट्दा आफुहरुका विरुद्ध विभिन्न भ्रमहरु फैलाइएको बताए । उनले आवश्यक १४ जनाका लागि ३० जना उम्मेदवार मध्ये १६ जनाले लिखित रुपमा निर्वाचन प्रकृयाबाट पछाडी हट्दा समेत चुनावको नाटक गरेर एउटा पक्षको एजेन्ट समेत बस्न नदिएर चुनावको मञ्चन गरेको उनले बताए । उनले ५० जना सहभागी भएर एक जनाले १०÷१० वटा भोट हालेको समेत बताए ।
पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिमका पुर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आफुहरुले पत्रकार सामु उपस्थित हुन नचाहेपनि इतर पक्षको व्यवहारका कारण बाध्य भएर आउनुपरेको बताए । उनले सर्वसम्मत रुपमा पार्टीको प्रतिनिधि सर्वसम्मत रुपमा चयन गर्नुपर्ने भन्दै आफुहरु पछाडी सरेकोमा आफुहरु पछाडी सर्नुका पछाडी अनेक भ्रमहरु सृजना गरिएको बताए ।
‘हामीले सबैको चाहना बमोजिम सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्ने अपेक्षा राखेका थियौ, त्यसरी छनौट नभएर सर्वमान्य विधिलाई स्विकार गरेर जानुपर्छ भन्दै निर्वाचनका लागि ३२ जनाले उम्मेदवारी दियौ’ उनले भने ‘चुनावको अघिल्लो दिनसम्म सहमतीका लागि जिल्लाबाट आएको टोलीसँग छलफल चलिरहेको थियो, तर निर्वाचन कमिटिले साढे ४ बजे उम्मेदवारी फिर्ता लिने भनेपनि ६ बजेसम्म सबै सहमतीका लागि छलफल गरिरहेकाले त्यो सम्भव भएन ।’ उनले पार्टी भित्रैका केही व्यक्तिका उम्मेदवारी ७ बजेसम्म फिर्ता भएपनि आफुहरुको समुहबाट गएका व्यक्तिको उम्मेदवारी फिर्ता नगरिएको बताए ।
उनले निर्वाचनका लागि तोकेको समय अगावै देखी निर्वाचनको प्रकृया थालिएपछि १४ जनालाई सर्वसम्मत दिने गरी बाँकी १६ जना उम्मेदवार पछाडी हटेको बताए । उनले चुनाव हार्ने डरले चुनावी प्रकृयाबाट पहाडी हटेको भन्ने भ्रमपुर्ण कुरा इतर पक्षले फैलाएको बताए । ‘दलित कलस्टरको अलग गरेर करिब १ हजार ४ सय बढी जनाले निर्वाचनमा भोट हाल्न पाउथे’ उनले भने ‘चुनावमा ५७७ भोट मात्रै खसेका छन, बाँकी ८ सय बढी भोटहरु कहाँ गए ?’ ति सबै भोटहरु आफुहरुले चुनावी प्रकृयामा भाग नलिएकाले नआएको उनले दावी गरे । उनले अवैधानिक निर्वाचन भएकाले आफुहरुले निर्वाचनको मतपरिणाम नमान्ने बताए । उनले आफुहरुले जिल्ला र प्रदेश कमिटिमा पनि निवेदन दिईसकेकाले त्यताबाट आएको अन्तिम सत्यलाई मात्रै स्विकार्ने बताए ।
एमालेको सुदुरपश्चिम प्रदेश अधिवेशन यही असोज २१ र २२ गते हुन गैरहेको छ । जसका लागि प्रत्येक स्थानिय तहहरुबाट प्रतिनिधि छनौटको कार्य भैरहेको छ ।


















