प्रदिप मलासी/बझाङ – बझाङमा बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशिल युवा समाज बझाङ र वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र जयपृथ्वी नगरपालिका बझाङको आयोजनामा मंगलवार जिल्ला सदरमुकाम चैनपुरमा कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समयमा बालबालिकाहरुको शान्ति र सुरक्षा संगै बाल विकासका सवालमा राज्यका निकायको ध्यान केन्द्रित गर्ने उद्वेश्य आयोजना गरिएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल, वडा नम्बर १ देखि ११ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत लगाएत विभिन्न बिषयगत शाखा प्रमुख बाल क्लव बाल विद्यार्थी र बालमैत्री स्थानीय शासन प्रतिनिधि शिक्षक नागरिक समाज पत्रकारको उपस्थिति रहेको थियो ।

वल्ड भिजन ईन्टरनेशन नेपाल र प्रगतिशिल युवा समाज बझाङले ५१ वटा सुचक निर्धारण गरी आयोजना गरिएको कार्यक्रमले स्थानीय सरकारलाई बालबालिका मैत्री कानुन निर्माण गरि स्थानीय तहमा बन्ने हरेक संरचना र योजनामा बालबालिका अधिकार र पहुच बिस्तार गर्न स्थानीय सरकारलाई जवाफदेही बनाउने अपेक्षा लिएको छ ।
कार्यक्रममा बोल्दै बाल क्लवका अध्यक्ष अर्जुन जोशीले मदिरा र लागू औषधका कारण घर परिवारमा अशान्ती हुने र विद्यालय जाने र शिक्षा प्राप्त गर्ने उमेरका बालबालिकालाई असर पर्ने भएकाले स्थानीय सरकारले बालबालिकाको अधिकार संरक्षण र अभिभावकलाई जिम्मेवार बनाउने खालको कानुन निर्माण र नीति कार्यक्रम तयार पारे बालबालिकाको जीवन शैलीमा केही फेरबदल हुने बताए ।
उनले बालबमलिका भबिष्यका कर्णधार भएकाले बालबालिकाको विकास र हक सुरक्षाका क्षेत्रमा काम नगरे सम्म देश र समाजको विकासले सार्थकता नपाउने बताए ।
बाल्यावस्थाको उचित वातावरण, स्याहार सम्मान, सहभागिताले भविष्यमा सोही बालबालिका क्षमतावान मानव स्रोत बन्दछन । मानव अधिकारको अन्तराष्ट्रिय सन्धिले बालबालिकालाई समेट्न नसक्ने र बाल्यावस्थाका आवश्यकताहरू विशेष हुने भएकाले बाल अधिकार महासन्धिको आवश्यकता महसुस गरेको हो ।

तसर्थ आफ्ना भावी सन्ततिको उज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिऊन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको छ । यो सन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित गरिएको थियो । बालबालिकाको अधिकारका निम्ति पारित यो सन्धि राज्य राज्यहरू बीचको एक साझा कानुन हो । त्यसैले यो राज्य तथा अभिभावकले बुझ्नु महत्तपूर्ण भएको कार्यक्रममा सहभागिहरुले बताएका थिए ।
यस महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ । नेपालमा पनि यस महासन्धिलाई अनुमोदन गरेपछि बालबालिका ऐनठ २०४८ लागु गरियो भने, सो ऐनलाई संसोधन गरेर २०७५ मा बालबालिका सम्बन्धी ऐन लागु गरिएको छ । यो ऐन बाल अधिकार महासन्धिअन्तरगत रहेकोले बाल बिवाह र बाल श्रमको पुर्ण निगरानी गर्दै छिट्टै नगरपालिकालाई बालमैत्री र बाल हिंसा मुक्त गर्न पालिकाको सक्दो पहल निरन्तरता चलिरहने कार्यक्रमका अध्यक्ष तथा जयपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजालले बताए ।
मानव अधिकारका विषयले महत्त पाउन थालेपछि राज्यहरू बाल अधिकारबारे समेत सचेत हुन थालेका छन् । नेपालको संविधान २०७२ ले बाल अधिकारलाई महत्त दिंदै मौलिक हकका रूपमा बालबालिकाका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरेको छ ।
२०७५ सालमा निर्माण भएको बालबालिका सम्बन्धी ऐन र नियमावलीमा बालबालिकालाई उपलब्ध गराउनुपर्ने वातावरण, उनीहरूले प्राप्त गर्नुपर्ने आधारभूत सुविधा र जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्थाबारे स्पष्ट कानूनी प्रावधानहरू राखिएको छ । यी सबै कुराले बालबालिकालाई संवैधानिक र कानूनी रूपमा सबल बनाएको छ । तर‚ कमजोर आर्थिक अवस्थाका कारण राज्यबाट दिइएका सेवा सुविधाहरू प्राप्त गर्न नसकेका बालबालिकाको अवस्था व्यवहारतः दयनीय नै रहेको छ ।
परिणामको सही विश्लेषण गरी उपयुक्त निर्णय गर्न नसक्ने अपरिपक्क अवस्थालाई आधार मानेर हाम्रो संविधान तथा कानूनमा १८ वर्ष नपुगेका व्यक्तिलाई बालबालिकाका रूपमा परिभाषित गरिएको छ । यस उमेरका व्यक्तिले आफू र आफ्नो दायित्वसित सम्बन्धित कुनै पनि करार गर्न नसक्ने भएकाले संरक्षक वा अभिभावकको सहमति विना उनीहरूसँग गरेका करारहरू अवैध हुने व्यवस्था गरिएको छ ।
बालबालिकाको धेरैजसो समय विद्यालयमा बित्ने भएकाले उनीहरूले निर्धक्क भएर आफ्ना अधिकारको प्रयोग तथा आफ्नो सर्वाङ्गीण विकासका लागि क्रियाकलापहरू गर्न पाउनुपर्ने विषयमा बहस हुने गरेको छ । यसैले विद्यालयहरूले आफूलाई बालमैत्री घोषणा गरी बालबालिकालाई डर, त्रास र यातना विना रमाउँदै सिक्ने अवसर प्रदान गर्न थालेका छन् ।
यद्यपि‚ बालमैत्री विद्यालयका नाममा बालबालिकालाई दिने क्षणिक सुविधा र विद्यालयका भौतिक पूर्वाधारलाई बढी जोड दिएको पाइन्छ। भौतिक पूर्वाधार बालमैत्री विद्यालयको एउटा आधारभूत तत्त्व भए पनि यसभन्दा बढी त्यहाँको आत्मिक पक्ष अर्थात् बालबालिकासँग गरिने व्यवहार र उनीहरूको वृद्धि तथा विकासका लागि उपलव्ध गराइएको अवसर र वातावरण महत्तपूर्ण हुन्छ ।

















