अत्तरिया – मनसुन सुरु भए संगै किसान रोपाइँमा ब्यस्त छन । यो समय किसानहरुका लागि ‘मानो रोपेर मुरी फलाउने’ समय हो । बर्षभरीको मुख्य खेती कर्म गर्ने समय भएकाले किसानहरु उत्साहित भएर रोपाइँमा लाग्ने गर्छन । तर, अभावै अभावकै बीच रोपाइँमा जुटेका किसानहरुमा उत्साह भन्दा निरासा बढी छ ।
मनसुन सुरु भएपछि रोपाइँमा जुटेकी कैलालीको गोदावरीकी सारदा साउद प्रयाप्त पानी नपर्दा निराश मात्रै भएकी छैनन्, लगानी नउठ्ने चिन्ताले पनि उनलाई सताउन थालेको छ । ‘पानी पर्न थालेपछि बेर्ना निकालेकी थिए’ उनले भनिन् ‘रोपाई गर्दा पानी परेन् । बोरिङबाट सिचाइँ गर्नुपर्दा लागत बढेको छ ।’

उनले सिचाइ गर्न प्रतिघण्टा २०० मोटरको र २०० पाइपको तिर्नुपर्ने बताइन् । उनले आम्दानी भन्दा बढी लागत लाग्ने भएपनि खेत बाझो राख्नु भन्दा रोपाई गरे गाइबस्तुका लागि पराल हुने बताइन् । ‘धान बराबर त खर्च नै लागिहाल्छ’ उनले भनीन् ‘प्रतिघण्टा ९ सय ट्याक्टरको तिनुपर्छ । मल पनि अनुदानको नपाइएकाले महङ्गोमा किन्यौ । लगानी बराबर भैसक्यो ।’ आकाशे पानीको भरमा खेती गरेकी उनले नियमीत बर्षा नभए सिचाइमा झन लगानी बढ्ने बताइन् ।
स्थानीय चन्द्रा बिष्टले धान खेतीमा लगानी उठाउन पनि मुस्किल हुने भएकाले खेतीमा खासै उत्साह नभएको बताइन् । ८ कठ्ठा जग्गामा रोपाई गरेकी उनले खेतीबाट नाफा भन्दा पनि झन घाटा हुने बताइन् । ‘कि धेरै जग्गा भए हुन्थ्यो । थोरै जग्गा हुनेले अरुको बोरिङ भर पर्नुपर्छ ।
जोत्नका लागि पनि ट्याक्टर भाडा महङ्गो छ’ उनले भनीन् ‘सरकारबाट अनुदानमा पाइने मल पनि नपाइएपछि महङ्गोमा किन्नु प¥यो । लागत झन बढेको छ ।’ उनले साना किसानहरुलाई खेतीपातिमा साखै नाफा नहुने बताइन् । ‘घरमा गाइभैँसी पालेको हुनाले रोपाइँ गरिरहेकी छु’ उनले भनीन् ‘उत्पादन भएको धान बराबर लगानी लागेपनि पराल गाइभैँसीलाई खुवाउन हुन्छ ।’

उनले ज्यालामा मानिस लगाएर रोपाइ गरे झन घाटा हुने बताइन् । ‘अहिले मेरो रोपाइमा १५ जना आएका छन । अब मैले यी सबै १५ जनाको रोपाइँमा जानुपर्छ’ उनले भनीन् ‘रोपाइकै लागि १५ दिन खेर जान्छ । त्यसको त हामीले धानको लगानीमा हिसाब नै गरेका हुँदैनौ ।’ पछिल्लो समय लागतहरु बढे पनि सो अनुसारको मुल्य नपाउने र उत्पादन पनि नहुँदा किसान निरास हुने गरेका छन ।
सिचाईको सुविधा नहुनु, समयमा मल बीउ नपाउनु, रोपाइँ गर्ने कामदारको अभाव लगायतका समस्याका कारण पछिल्लो समय रोपाइँमा उत्साह घट्दै जान थालेको छ । आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने भएकाले किसानहरु एकैपटक बर्षा भएपछि रोपाइँ गर्न भ्याइनभ्याइ गर्नुपर्ने अवस्था रहेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले अहिलेसम्म जिल्लामा रोपाइँ हुने जग्गाको झण्डै १२ प्रतिशतमा रोपाइँ पूरा भएको बताए । ‘वर्षा भए पनि रोपाइँका लागि पर्याप्त छैन’, उनले भने, ‘वर्षाको पानीले खेतको माटो भिजाएर बोरिङको पानी कम मात्रामा लाग्नेसम्म बनाएको छ ।’
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा यस वर्ष मनसुन एक हप्ताअघिनै प्रवेश गरे पनि ठूलो वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले यस वर्ष सरदर कम वर्षा हुने अनुमान गरिएको बताए ।
मनसुन भित्रिएको एक हप्तायता अत्तरिया धनगढी क्षेत्रमा पटकपटक गरी झण्डै एकसय २५ मिमि मात्र वर्षाको मापन भएको छ । कैलालीमा कुल ७६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइँ सुविधा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जसमध्ये ४८ हजार ७०० हेक्टर जमिनमा वर्षभरी सिंचाइँ हुन्छ भने २७ हजार ३०० हेक्टर जमिनमा मौसमी सिंचाइँ सुविधा पुगेको छ ।
यो जिल्लामा कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको छ । जसमध्ये ७० हजार ४०५ हेक्टर जमिनमा धान खेती हुनेगरेको छ । अघिल्लो वर्ष यो जिल्लामा प्रतिहेक्टरमा ४.७ टनको दरले धान उत्पादन भएको थियो । समस्याका बीच पछिल्लो सयम केही आधुनीक उपकरण भित्रिन थालेपछि भने रोपाइँमा सहजता हुनुका साथै लागत पनि घट्दै जान थालेको छ ।



















