नेपालमै सामसङ टेलिभिजनको उत्पादन सुरू भएको छ । घराना व्ययवसायी गोल्छा ग्रुपसँगको सहकार्यमा सामसङ टेलिभिजनको उत्पादन सुरू भएको हो । गोल्छा ग्रुपको अनुसार अब ३२ देखि ८५ इञ्चसम्मको टेलिभिज नेपालमै बन्ने छ । अहिले फ्याक्ट्रीमा एक सयभन्दा बढीले रोजगारी पाएका छन् ।
त्यस्तै, पूर्ण क्षमता टेलिभिजन उत्पादन सुरू हुन थालेपछि एक हजार बढीले रोजगारी पाउने कम्पनीले बताएको छ । नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसेको सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवंंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले बताए ।

‘हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो,’ उनले भने ।

सामसङले यहाँका जनताहरुलाई रोजगारीका अवसरहरु उपलब्ध गराउने उनको भनाइ छ । यो कार्यले देशको अर्थतन्त्रमा सकारात्मक सन्देश दिने गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखेर गोल्छाले बताए ।
बुधबार एक कार्यक्रम गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले संयुक्त रूपमा फ्याक्ट्रीको उद्घाटन गरेका हुन् ।
उक्त उद्घाटन समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्क लगायत अन्य स्थानीय अधिकारीहरूको उपस्थिति थियो ।
यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारहरू सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्ने कम्पनीले बताएको छ ।
सामसङले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरु जस्तैः रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री–वितरण गर्दै आएको छ ।

















