खाेज्नुहाेस

‘बिक्न छाडे साहित्यिक पुस्तक’

Image

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा शङ्करदत्त भट्टले पुस्तकालय व्यवसाय सञ्चालन गरेको २६ वर्ष भयो । हाल महेन्द्रनगरस्थित गल्ली नम्बर ५ क्याम्पसरोडमा नेहा पुस्तक पसल सञ्चालन गरिरहेका भट्टले पछिल्ला वर्षमा अतिरिक्त पुस्तक खरिद गर्ने र अध्ययन गर्नेहरूको कमी भएको बताए ।

झण्डै एक दशकअघिसम्म उपन्यास, मुक्तक, गजल, कथा, कविता र साहित्यका पुस्तक खरिद गर्ने धेरै रहे पनि अहिले शून्यमा झरिसकेको उनको भनाइ छ । लामो समयदेखि यहाँ पुस्तक पसल सञ्चालन गरिरहेका स्थानीय व्यापारीको भनाइअनुसार अहिले साहित्यिक पुस्तक पढ्ने बानीमा निकै ह्रास आइसकेको छ ।

attariya hospital

‘युवा पुस्ता फाट्टाफुट्ट रूपमा विदेशी लेखकका अङ्ग्रेजी पुस्तक भने कहिलेकाहीँ खोज्छन’, नेहा पुस्तक पसलका सञ्चालक भट्टले भनीन् ‘नेपाली लेखकका अझ साहित्यिक पुस्तक कोरोना कहरपछि मान्छेले खोज्नै छोडिसके भन्दा फरक पर्र्दैन ।’

उनले इन्टरनेटको बढ्दो पहुँच र सरलताका हिसाबले पनि पुस्तक पढ्ने खोज्नेको कमी भएको बताइन् । ‘खोजेको प्रायः सबै कुरा इन्टरनेटमै पाउन थालिसकेको छ’ उनले भनीन् ‘पुस्तकालयमा जाने, पुस्तक पढ्ने कुरो त दुर्लभ हुन थालिसक्यो ।’ अध्ययन गर्ने बानीबाट विज्ञता प्राप्तिको आधार तथा अध्ययन नै ज्ञान र आनन्द प्राप्तिको माध्यम भए पनि युवा पुस्ता बढीजसो इन्टरनेटमै लिप्त रहेको पाइन्छ ।

navjiwan hospital

यहाँस्थित सरस्वती पुस्तक भण्डारका सञ्चालक गोकुल बोहराले अतिरिक्त पुस्तक अध्ययनकर्ताहरूमै कमी आएको बताए । ‘चार/पाँच वर्ष भयो कथा, कविता, मुक्तक, गजलका किताब बिक्नै छाडे’ उनले भने ‘इन्टरनेटमा सबैको पहुँच बढेकाले पनि पुस्तक अध्ययनमा कमी आएको हो ।’

महेन्द्रनगरका साहित्यकार हेमबाबु लेखकले पठन संस्कृतिमै ह्रास आउन थालेको बताए । ‘पुस्तक बिक्री नभएकै आधारमा अध्ययनशील नै छैन भन्ने कुरो गलत हो’ उनले भने ‘अग्रज स्रष्टा, सर्जकबाट पनि नयाँ पुस्तालाई अध्ययनशील बनाउने खालको वातावरणको खाँचो छ ।’

उनले पछिल्लो समय इन्टरनेटमै आफूले खोजेको विषय सहज र सहुलियतरूपमा पाइने भएकाले पनि आम मानिसकको आकर्षण त्यसतर्फ बढेको बताए । ‘अध्ययनशीलताको महत्त्व हुने किसिमको वातावरण पर्याप्त छैन’ उनले भने ‘यसका लागि सबैतिरबाट सकारात्मक माहोल तयार हुन जरुरी छ ।’

महेन्द्रनगरस्थित सुदूपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय पुस्तकालयका सहायक प्रशासक दुःखी चौधरीले विद्यार्थी अध्ययनका लागि आउने गरेको बताए ।

‘विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी विषयगत र साहित्यिक पुस्तक आएर अध्ययन गरिरहेकै हुन्छन’ उनले भने ‘पुस्तकालयमा आगन्तुकभन्दा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मात्रै पहुँच दिइएको छ ।’

रासस