टीकापुर – कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ । यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो ।

महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला संस्कृति, भाषा, ऐतिहासिक महत्व र पुरातात्वि महत्वबारे बहस हुने जनाइएको छ ।

शनिबार पत्रकार सम्मेलन गरी महोत्सव आयोजक संस्था टीकापुर साहित्य समाजले महोत्सवबारे जानकारी गराएको हो । ३ दिनसम्म चल्ने महोत्सवमा २१ वटा सेसनमा अन्तरक्रिया गरिने टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिएका छन् ।
महोत्सवमा देशभरका १ सय ५० भन्दा धेरै साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ ।

















