खाेज्नुहाेस

बैंकको चर्को व्याजदरका विरुद्ध आज पनि अत्तरियामा विरोध प्रदर्शन

Image

अत्तरिया – बैङ्कहरूको चर्को ब्याजदरका विरोधमा आज पनि अत्तरियामा व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । चर्को बैंकको व्याजदर घटाउनु पर्ने माग गर्दै व्यवसायीहरुले बजार बन्द गरेर विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा व्यवसायीहरुले अत्तरिया बजारमा परिक्रमा गरेर महेन्द्रनगर रोडमा रहको एनआईसी एसिया र कुमारी बैंक अगाडी कोण सभाको आयोजना गरेका थिए ।

attariya hospital

कोणसभालाई सम्बोधन गर्दै अत्तरिया उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कल्याण सिह बोहराले बैंकको चर्को व्याजदरका बिरुद्ध देशभरका व्यवसायी सडकमा उत्रिएको बताए । उनले अत्तरियामा भएको आन्दोलनमा व्यवसायीहरुको सहभागिता न्यून भएकाले यसमा सबैले एक्यवद्धता जनाउन आवश्यक भएको बताए ।

उनले बिरोधको कार्यक्रम बुधबार पनि जारी रहने बताए । उनले व्यापार व्यवसाय बन्द गरेर बिहान ९ बजेदेखि ११ बजे सम्म अत्तरिया चोकमा बिरोध प्रदर्शन गरिने बताए ।

अत्तरिया उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्त रोकायाले अहिलेको बैंक विरुद्धको आन्दोलन सांकेतिक मात्रै भएको बताए । उनले ठूलो माछाले सानो माछालाई खाएजस्तै बैंकले व्यवसायीहरुलाई खान लागेको बताउँदै यसका विरुद्ध सबै एकजुट हुन आवश्यक रहेको बताए ।

navjiwan hospital

‘बैंकर्सहरु पनि उद्योग बाणिज्य संघमा छन । वहाहरुले एकातिर व्यवसायीलाई सडकमा उतार्ने अर्कोतर्फ आफूलाई घाटा हुँदै नहुने काम गरिरहनुभएको छ’ उनले भने ‘उद्योग वाणिज्य संघ सबै व्यवसायीहरुको हक हितका लागि लागेको छ । यसमा सबै एकजुट भएर आन्दोलन गर्न आवश्यक छ ।’

कैलाली च्याम्बर आफ कमर्सका उपाध्यक्ष प्रमोद अधिकारीले सबै व्यवसायी एकजुट भएर आन्दोलनलाई सार्थक बनाउनु पर्ने बताए । उनले बैंकको चर्को ब्याजदरका कारण अहिले व्यवसायीहरु निकै मारमा परेको बताउँदै यसको बिषयमा यस क्षेत्रका सांसदहरु संग पनि अन्तक्रिया गर्न आवश्यक रहेको बताए ।

गोदावरी होटल व्यवसायी संघका महासचिव लक्ष्मण धामीले व्यवसायीको आन्दोलनलाई सामान्य रुपमा नलिन आग्रह गरे ।

अत्तरिया उद्योग बाणिज्य संघका पुर्व कोषाध्यक्ष गणेश महराले व्यवसायी आफ्नो व्यापार बन्द गरेर बाध्य भएर सडकमा आउनुपर्ने अवस्था आउनु निकै दुःख भएको बताए । उनले साना व्यवसायी बैंकको चर्को व्याजदरका कारण झनै पीडित भएको बताए ।

हार्डवेयर व्यवसायी नैमुद्धिन भाटले यस्तै अवस्था रहेमा बैंक पनि धरासायी हुने बताए । उनले व्यवसायीहरुले बैंकमा रकम जम्मा गर्न बन्द गरे बैंकमा ताला लाग्ने बताए ।

व्यवसायीहरुले अत्तरियामा सोमबार देखि बैंकहरु विरुद्ध आन्दोलन गरिरहेका छन । पहिलो चरणको आन्दोलन फागुन २२ गते सम्म जारी रहने जनाइएको छ । अत्तरियामा उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको निर्णय अनुसार आन्दोलनका कार्यक्रम संचालन भइरहेका छन् ।

व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अन्तरगत फागुन १८ गते बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात् निक्षेप जम्मा नगर्ने निर्णयसमेत गरेका छन ।